डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जो भत्ता वितरण गर्न गाउँगाउँ पुग्दैछन्

बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण सुरु गरेको छ। नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कात्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो।

चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी स्वयं आफैँ नागरिकको घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्।

गाउँपालिका अध्यक्ष नै घर घरमा पुगेर भत्ता प्रदान गरेपछि जेष्ठ नागरिक दङ्ग परेका छन्। कोरोना भाइरस महामारीका बेला जेष्ठ नागरिकलगायतका ब्यक्ति भत्ता लिनकै लागि नेपालगन्ज धाउनुपर्ने हुदाँ घरमै नगद रकम पाउँदा उनीहरु दङ्ग परेका छन्।

गाउँपालिका अध्यक्ष चौधरीले वडा नम्बर–२ का जेष्ठ नागरिक बदलु शर्मालाई शुक्रबार उनकै घरमा पुगी भत्ता बापतको रकम हस्तान्तरण गर्दै भत्ता वितरण कार्य शुभारम्भ गरे। सो अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर रकम वितरण गर्दै आएको र चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्न गाउँपालिकाद्वारा प्रदान गरिएको भत्ताले केही राहत दिने विश्वास व्यक्त गरे।

अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पूर्णरुपमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराए।

प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधुवा गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ।

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार, पूर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार छ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले जानकारी दिए।

यसैगरी अपांगता भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ। कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरी घरदैलो अभियान अन्र्तगत रकम वितरण गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *