बाघको आक्रमणबाट बर्दियामा दुई थारुको ज्यान गयो

बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए।

ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन्। बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताए।

मृतक दुई जना साला भेना हुन्। मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ। बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ।

बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ। मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *