रेशमलाल चौधरी : सधैं चर्चा र विवादमा

रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा पुर्‍याए, थरुहट एजेन्डा र आन्दोलनका कुरा गरे अनि जनताको सहानुभूति बटुल्न सफल भए ।

टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । २२ फागुनमा जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासले रेशमसहित ११ जनालाई उक्त घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेमध्ये एक जना भने नाबालक रहेकाले उनको सजाय भने १० वर्षमात्र हुनेछ ।

उक्त हत्याकाण्डमा रेशमलालसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाँका मुद्दा दायर भएको थियो जसमध्ये २७ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा थिए भने ३१ जना फरार छन् । थुनामा रहेका २७ मध्ये तीन जनाले सफाइ पाएका छन् भने १२ जनालाई तीन–तीन वर्ष कैद सजाय सुनाइएको छ । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी तथा एक बालकको हत्या भएको थियो । जन्मकैदको फैसलापछि रेशमलालका बुवाले आफूहरूमाथि अन्याय भएको बताउँदै पुनरावेदन जाने कुरा बताएका छन् ।

फरार रहेकै अवस्थामा कैलाली–१ मा राजपाबाट उम्मेदवारी दिएर निर्वाचन जितेका रेशमलालले १४ फागुन ०७४ मा आत्मसमर्पण गरेका थिए । कारगारबाटै उनले दुई महिनाअघि सांसदको सपथ लिएका थिए । जन्मकैदको फैसलासँगै रेशमलाल पुनः चर्चामा छन् ।

को हुन् रेशम चौधरी ?

कैलाली जिल्लाको जानकी गाउँपालिका–६ (साविक दुर्गौली गाविस–९) जगतपुरमा २०३४ साल असोज २१ गते जन्मिएका चौधरी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे । उनले आफ्नो प्रारम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पाताभार, बर्दियाबाट तथा माध्यमिक शिक्षा टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट पूरा गरेका हुन्  ।

०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्य पत्रिका परिवारको प्रधान सम्पादक चौधरीले ०५१ सालमा विरही नामक कविता संग्रह तथा टीकापुर घटनापछि टीकापुर घटनालाई आधार बनाएर चिरफार नामक पुस्तक प्रकाशन गरेका छन् । उनले थारु तथा नेपाली भाषाका थुप्रै गीती एल्बममा स्वर एवं संगीत दिएका छन् । साहित्य एवं पत्रकारितामा दख्खल राख्ने रेशमसँग रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथा आदि सञ्चारमाध्यममा पत्रकारिता गरेको अनुभव पनि छ । उनको स्वामित्वमा रहेको फूलबारी एफएम टीकापुरलगायत ३ ठाउँबाट प्रशारण हुन्छ । टीकापुर घटनामा टीकापुरको फूलबारी एफएम जलाइएको थियो जुन अहिले बन्द छ ।

रेशम रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक मानिन्छन् । उनले हालसम्म ९३ वटा सांगितिक एल्बम निकालेको बताइन्छ । खेलकुदका पनि शौखिन रेशम आफू कराँतेमा थ्री डन भएको बताउँछन् । उनले राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, शुक्ल दिक्षित पुरस्कार, जयराज जैरु प्रकोप उद्धार पदक, गद्दी आरोहण पदक जस्ता थुप्रै राष्ट्रिय पुरस्कार तथा पदक प्राप्त गरेका छन् ।

सधैं चर्चामा

बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र संघीय संसदको निर्वाचनमा कैलाली क्षेत्र नम्बर–१ बाट ३४ हजार मत ल्याएर चर्चामा रहे । टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गर्दा नेपालभरका कलाकारहरूको कुम्भ मेला गराएर पनि उनी चर्चामा आए । टीकापुरमा हात्तीको फुटबल खेलाएर तथा नेपाली रेसलरहरू ल्याएर टीकापुरबासीलाई प्रत्यक्ष रेसलिङ देखाएर पनि उनले चर्चा कमाए । त्यति मात्र होइन बर्तमान प्रधानमन्त्री केपी ओलीलाई टीकापुर ल्याएर हेलिकप्टरमार्फत उनीमाथि पुष्प वर्षा गराए  । रेशम टीकापुरमा यस्तै नौला गतिविधि गरेर आफ्नो सामाजिक छवि बढाउन माहिर मानिन्थे ।

थरुहट आन्दोलनको केन्द्रमा रामजनम चौधरीले नेतृत्व गरे । टीकापुरमा रेशमको छवि र प्रतिभा देखेर थरुहट आन्दोलनको नेतृत्व रेशमलाई गर्न लगाइयो । थरुहट प्रदेश माग्ने क्रममा टीकापुर घटना भयो जसले उनलाई विवादमा ल्यायो र कठघरामा उभ्यायो ।

रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा पुर्‍याए, थरुहट एजेन्डा र आन्दोलनका कुरा गरे अनि जनताको सहानुभूति बटुल्न सफल भए ।

प्रधानमन्त्रीका लागि राजालाई दरखास्त रेशम गीत गाउने, कविता लेख्ने तथा भाषण गर्ने काम गर्थे । एक दलीय पञ्चायती व्यवस्थाको अन्त्यपछि नेपाली जनताले वाक तथा प्रकाशन स्वतन्त्रताको हक प्राप्त गरे ।

त्यसकै लाभ उठाउँदै चौधरीले थारु भाषाको कविता संग्रह प्रकाशनमा ल्याए भने गीति एल्बम पनि निकाले । कलेजमा उनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जीते सदस्य पदमा । राजा ज्ञानेन्द्रले शासन हातमा लिएर प्रधानमन्त्री पदका लागि दरखास्त आह्वान गरेपछि रेशमले प्रधानमन्त्रीका लागि आफू योग्य रहेको दाबी गर्दै निवेदन समेत दर्ता गराएका थिए ।

सानो छँदा रेशमको रुचि खेलकुदमा पनि थियो । उनी कराँते तथा फुटबल खेल्न मन पराउँथे भने गाउँका केटाकेटी बोलाएर टुर्नामेन्ट गराउँथे । कलेज जीवन सकेर टीकापुर फर्किएपछि उनले आफ्नै नेतृत्वमा टीकापुरका संस्थापक खड्गबहादुर सिंहको शालिक निर्माण गराए भने शैक्षिक क्षेत्रमा अहम भूमिका खेल्ने थोमस भर्गीज दम्पतीलाई नागरिक सम्मान दिलाए । चौधरीले फूलबारी एफएम परिसरमा थुप्रै कलाकारको नाममा बिरुवा रोपेका थिए भने गोपाल भुटानीको शालिक समेत निर्माण गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *