सुदूरमा खटिएका डा. अशोक चौधरी

भानुभक्त आचार्य/कैलाली

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा देखिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद सन्देश थिएन ।

‘के भयो डाक्टर सा’ब ?

उनले भने, ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन । प्लाज्माथेरापी गर्नलाई प्लाज्मा दिने मान्छे कोही भेटिएन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेतीसहित देशभरका १५ अस्पतालमा प्लाज्माथेरापी स्वीकृत गरेको छ, तर प्लाज्माका लागि रक्तदान गर्ने कोही नमानेको स्थिति छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको भएका थुप्रै छन्, प्लाज्माका लागि रक्तदान गर्दा स्वस्थ कमजोर हुन्छ भन्ने भ्रमले गर्दा कोही मान्दैनन् । अस्पतालले सुदूरपश्चिम प्रदेशमा जटिल अवस्थाका कोरोना सङ्क्रमितको प्लाज्माथेरापीबाट उपचार गर्ने सूचना १५ भदौमा सार्वजनिक गरेपछि केही व्यक्ति सम्पर्कमा आए । २ दिनमा ६ जनाले रक्तसञ्चार केन्द्र धनगढीमा रक्तदान पनि गरे, जसमध्ये तीनजना स्वास्थ्यकर्मी, दुई स्थानीय र एकजना प्रहरी थिए ।

भेन्टिलेटरमा राखिएकी धनगढी–५ कि ५७ वर्षीया कोरोना संक्रमितलाई रेमडिसिभिरका साथै प्लाज्मा दिइएको थियो । तर उनलाई बचाउन नसकेकोमा डा. चौधरी निराश थिए । ‘मलाई ठूलो आशा थियो, तर निष्फल भयो’, उनले भने, ‘त्यो क्षण हाम्रो टीमका लागि समेत बडा पीडादायी रह्यो ।’

बिरामी बचाउन नसक्दाको पीडा

२०७५ फागुनदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरेका डा. चौधरी आईसीयू र मेडिसिन डिपार्टमा कोभिड–१९ को संक्रमण भएकाहरुको उपचारमा खटिएका छन् । ‘कोरोना संक्रमित देखिन थालेपछि कोही न कोही त त्यहाँ जानुपर्‍यो’ उनले भने, ‘म आफ्नै खुशीले संक्रमितको उपचारमा खटिएको हुँ ।’

११ चैतमा सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि अस्पतालले सम्भावित संक्रमितलाई ध्यानमा राख्दै तयारी थाल्यो । अस्थायी उपचार कक्ष तयार हुनुभन्दा अघि नै चैत १४ गते धनगढीमा कोरोना संक्रमित फेला परे । उपचाररत व्यक्तिमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पनि त्रास फैलियो ।

कोरोना सङ्क्रमितलाई राख्ने गतिलो स्थान तयार नभएको अवस्थामा उनी डा. चौधरीकै निगरानीमा थिए । कोरोनाको लक्षण नभएपनि उनमा स्वास्थ्य समस्या देखिएको थियो । सम्भावित संक्रमितका रुपमा उपचार सुरु गरेका उनमा कोरोना संक्रमण पुष्टि हुँदा आफू समेत डराएको डा. चौधरी बताउँछन् ।

‘त्यसबेला कोरोना भाइरसबारे धेरै जानकारी थिएन । त्यसमाथि लक्षण नै नभएका व्यक्तिमा संक्रमण पुष्टि भएको थियो’, उनी भन्छन्, ‘हामीलाई डर लाग्नु स्वाभाविक थियो । तर डराएर हुँदैन, निको बनाउनुपर्छ भनेर खट्न थाल्यौँ ।’

त्यसबेला कोरोना सङ्क्रमितलाई राख्ने ठाउँ समेत नपाएर लासघर अगाडि कोठा तयार पारेर राखिएको थियो । अव्यवस्थाका कारण पहिलो संक्रमितले मनग्य हेरचाह पाएनन् ।

उनलाई ३० दिनमा निको पारेर घर पठाउँदा डा. चौधरीको टिमलाई संसार जितेजस्तो लाग्यो । तर त्यसअघि नै कैलालीमा नै नेपालमा पहिलो पटक स्थानीय संक्रमण पुष्टि भएको थियो । ‘स्थानीय संक्रमण देखिनु भनेको जटिल अवस्थाको पूर्वसंकेत हो । लापरबाही बढ्यो भने जुनसुकै बेला त्यो अकल्पनीय अवस्था आउनसक्छ’ भन्ने बुझेर स्वास्थ्यकर्मीहरुले निकै सतर्कता अपनाए ।

उनको परिवारमा आमाबुवा र भाइ छन् । छ महिनायता लगातार कोरोना अस्पतालमा काम गर्दा परिवारबाट सहयोग जारी छ । बुबाले त ‘जिम्मेवारीबाट भाग्नुहुँदैन’ भनेर बेलाबेला ऊर्जा भरिदिने गरेको डा. चौधरी बताउँछन् ।

जोखिममा काम गर्ने मेडिकल स्टाफ र कर्मचारीको लागि अस्पतालले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गरेपनि उनी अहिलेसम्म घरबाटै काममा आउने जाने गरिरहेका छन् ।

तपाईंको कारणले परिवारलाई जोखिम हुँदैन ? भन्ने प्रश्नमा डा. चौधरी भन्छन्, ‘हामीले स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौं । घरमा जमघट नगरिएको ६ महिना भयो ।’

धनगढीमा आफ्नै घर नभएका स्वास्थ्यकर्मीहरुले महामारीकालमा बढी समस्या झेल्नु परेको छ । दुईजना नर्सलाई घरबेटीले कोठाबाटै निकालिदिए । दुव्र्यवहार धेरैले झेलेका छन् । तैपनि स्वास्थ्यकर्मीहरु दिनरात लगातार खटिरहेका छन् ।

सेती अस्पतालमा उपचारका क्रममा हालसम्म चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । धेरै कोशिस गर्दा पनि उनीहरुलाई बचाउन नसकेकोमा डा. चौधरीको टिम दुःखी छ । धनगढीकै अर्काे अस्पतालमा कोरोना पुष्टि भएपछि रिफर भएर सेती अस्पताल ल्याइएका ४७ बर्षीय पुरुषलाई यो टिमले बचाउन सकेन । उनी सेती अस्पतालमा मृत्यु हुने पहिलो संक्रमित थिए ।

‘एक त बचाउन सकिएन, त्यसमाथि परिवारजनलाई उहाँको मुख देखाउन सकिएन’, डा. चौधरी भन्छन्, ‘त्यस्तो बेला बहुत पीडा भयो ।’

पूरा पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।

अझै पढ्नुहाेस