लियोनार्दो डी क्याप्रियोसँग राजन चाैधरीका तीन दिन

लिलाराज खतिवडा

उनलाई लियोनार्दो डी क्याप्रियोबारे त्यतिबेलासम्म खासै थाहा थिएन । हलिउडका यी महाहिरोका कुनै पनि फिल्म उनले हेर्न भ्याएका थिएनन् । तर अचानक सन् २०१० मा उनले बर्दिया राष्ट्रिय निकुञ्जमा लियोनार्दोसँग एक गाइडका हैसियतले तीन दिन बिताउने मौका पाए । उनी हुन्- रामजान चौधरी । ठाकुरद्वारा बर्दियाका एक जिनियस पथप्रदर्शक । चरा विशेषज्ञ र नेचुरलिस्ट । कैँयन हाई प्रोफाइल विदेशी पर्यटकहरू उनलाई राजन नामले चिन्ने गर्छन् ।

‘म हलिउडका फिल्म खासै नहेर्ने मान्छे । तर लियोनार्दोसँग तीन दिन बिताएपछि साथीहरूको दबाबमा एकदिन टाइटानिक हेरेँ,’ झरीले निथ्रुक्कै भिजाएको बर्दिया राष्ट्रिय निकुञ्जको जंगल किनारमा एक दिन राजनले यस लेखकलाई सुनाए, ‘तर फिल्म हेर्ने धैर्य मसँग नभएका कारण टाइटानिक हेरिसक्न मलाई कैँयन् घण्टा लाग्यो । ल्यापटपमा फिल्म पज गरेर म बीचबीचमा पानी पिउँथेँ । यताउता घुम्थेँ । अनि फेरि टाइटानिकमा घोत्लिन्थेँ । बल्लबल्ल मैले त्यो फिल्म हेरिसकेँ ।’

४२ वर्षीय राजनलाई सानैदेखि वन्यजन्तु र प्रकृतिसँग अगाध प्रेम थियो । उनले निकुञ्जमा आयोजित पथप्रदर्शक तालिममा भाग लिने मौका पाए । त्यसपछि अविछिन्न रूपमा उनी यस क्षेत्रमा अहोरात्र काम गरिरहेका छन् । कहाँसम्म भने, उनका जेठा दाजुलाई त्यसैताका निकुञ्जको एउटा आदमखोर बाघले खाइदियो । अनि उनी भने लगातार बाघलगायत अन्य जीवजन्तु तथा प्रकृति संरक्षण अभियानमा लगातार लागिपरेका छन् ।

उनी भन्छन्, ‘मेरा दाजुलाई बाघले खानुमा बाघको कुनै गल्ती छैन । सिकार गरिरहेका बेला, सम्भोग गरिरहेका बेला र बच्चालाई दूध खुवाइरहेका बेला कोही उसको छेउमा पुग्दा बाघ रिसाउँछ । नत्र औसत रूपमा बाघ खतरनाक जनावर होइन । बाघका सबै चेतना अति नै उत्तम भएका कारण उसले मान्छेलाई प्रायः आक्रमण गर्दैन । डिफेन्स मात्रै गर्ने गर्छ । पूर्णिमाको रातमा ऊ निकै लजालु हुन्छ । एकदमै गुप्त रहन मन पराउने बाघलाई हत्तपत्ती देख्न पनि सकिँदैन । तर कारणवश एकपटक मान्छेको रगत चाखिसकेको बाघले भने मान्छेलाई ठाडै आक्रमण गर्छ । यस्तो बाघलाई आदमखोर भन्‍ने गरिन्छ ।’
तर जंगलको त्यस इलाकामा आदमखोर बाघ छ भन्‍ने थाहा हुँदाहुँदै पनि राजनका दाजु अन्य चार जना गाउँलेसँग डाँडाभाँटा लिन जंगल घुसेका थिए । यो उनीहरूको आफ्नै लापर्बाही पनि थियो । त्यो बाघले राजनका दाजुभन्दा पहिले अन्य दुईजना स्थानीयलाई मारिसकेको पनि थियो । पछि आदेशअनुसार आर्मीले घेरा हालेर उक्त बाघलाई गोली ठोकेर मारेको थियो ।

विश्व वन्यजन्तु कोष अर्थात् डब्लूडब्लूएफले ओस्कार विजेता लियोनार्दोलाई सन् २०१० मा बाघ संरक्षण अभियानको दूत बनाएको हो । त्यसै सिलसिलामा उनी मासिँदै गइरहेको पाटे बाघको अध्ययन गर्न बर्दिया आएका थिए । बर्दिया घुमेर फर्किएपछि उनले लियोनार्दो टाइगर फाउन्डेसन पनि खोले ।

राजन स्मरण गर्छन्, ‘हलिउडको त्यत्रो भयंकर हस्ती भएर पनि लियोनार्दोलाई मैले एकदमै साधारण, मिलनसार र डाउन टु अर्थ पाएँ । हुन त एक गाइडका लागि सबै पर्यटक समान हुन् । मैले उनलाई अरू पाहुना सरह नै व्यवहार गरेँ । त्यसो त दुईवटा हेलिकप्टर लिएर बडो तामझामसाथ उनले बर्दियामा पाइला राखेका थिए । उनी जता गए पनि सुरक्षा र क्यामेराले पछ्याउँथ्यो । तर २४ घण्टापछि लियोनार्दोले आफ्नो वरिपरिको उच्च सुरक्षालाई नकारे ।’
लियोनार्दोले जब राजनका ठूल्दाइलाई बाघले मारेको कुरा थाहा पाए, उनी निकै भावुक हुन पुगे । उनले राजनलाई भने, ‘तिम्रो दाजुलाई बाघले खाए पनि तिमी बाघलगायत अन्य जीवजन्तुको संरक्षणमा लागेका रहेछौ । अचम्म लाग्यो । तिमीसँग म प्रभावित भएँ ।’

राजनले प्रफुल्ल मुद्रामा सुनाए, ‘लियोनार्दो फर्किएको केही समयपछि उनका अमेरिकी फ्यानहरूलाई निकुञ्जमा गाइड गरिरहँदा उनीहरूले बडो उत्साहित भएर मलाई भने, हामीले प्रत्यक्ष देख्नसमेत नपाएका हाम्रा महान् नायकलाई तिमीले गाइड गर्ने मौका पायौ । तिमीलाई भेटेर हामी दंग परेका छौं ।’ अझै पनि उनको लियोनार्दोसँग इमेलवार्ता हुने गर्छ । लियोले केहीअघि उनलाई इमेल लेखेका थिए, ‘म फेरि नेपाल आउँछु । तिमीलाई अवश्य भेट्नेछु ।’

अझै पढ्नुहाेस