लकडाउनमा अशोक थारुले जन्माएको चल्ला काढ्ने मेसिनको रोचक कथा

२०७६ चैत ११ देखि लकडाउन भएपछि सबै घरभित्र थुनिए । हरेकले जीवन चलाउने वैकल्पिक उपाय खोज्न थाले । लकडाउनको सदुपयोग गरेर एक युवाले भने ‘चल्ला काढ्ने’ मेसिन बनाएका छन् । जसलाई अंग्रेजीमा ‘इन्क्युबेटर’ भनिन्छ । ती युवा हुन्, अशोकप्रसाद थारू । त्रियुगा नगरपालिका–६ उदयपुरमा जन्मिएका अशोक २०६६ को एसएलसीपछि प्लस टु पढ्न काठमाडौं छिरे । कुपन्डोलस्थित एड्भान्स एकेडेमीबाट विज्ञान विषयमा प्लस टु सकाए । त्यसलगत्तै त्रिचन्द्र कलेजबाट ‘भूगर्भशास्त्र’ विषयबाट स्नातक पास गरे । २८ वर्षीय अशोक अहिले त्रिभुवन विश्वविद्यायबाट इन्जिनियरिङ भू–गर्भशास्त्रबाट स्नातकोत्तर गरिरहेका छन् ।

युट्युबले सिकायो
कीर्तिपुरस्थित भत्केपाटी डेरामा बस्छन्, अशोक । उनी अहिले यति व्यस्त छन् कि उनका लागि दिन र रात बराबर भएको छ । रातभर मेसिनमा बल्ने बत्तीको उज्यालो र चल्लाको चिरबिरले रात पनि दिन जस्तै भएको छ, उनलाई । दिनभरी मेसिन बनाउन र रातभर मेसिनमा हालिएका अण्डाको हेरचाह गर्दै ठिक्क छ, उनलाई । सोही मेसिनबारे बुझ्न उनको डेरा पुग्दा, ग्राहकलाई चरा (बटै)को चल्ला बेच्दै गरेका भेटिए, उनी । ग्राहकलाई पठाइसकेपछि भित्र बोलाए । सानो कोठामा सुत्ने खाट राखिएको ठाउँबाहेक पूरै कोठा मेसिन नै मेसिनले भरिएको थियो भने मेसिन अण्डैअण्डाले ।
उनलाई ‘मेसिन बनाउने सोच कसरी आयो ?’ भन्ने प्रश्न गर्दा लामो सास ताने । अनि वृतान्त सुनाए ।

अशोक स्नातकोत्तरको थेसिस लेखिरहेका थिए । उनको थेसिसको विषय थियो, ‘कन्स्ट्रक्सन मटेरियल अर्थात् उदयपुरका खोलामा पाइने बालुवा, गिट्टी रोड बनाउनका लागि उपयुक्त छ कि छैन ?’ यसका लागि स्याम्पलहरू संकलन गरेर ल्याब परीक्षणका क्रम थिए । थेसिसको करिब ९० प्रतिशत काम सकाइसकेका थिए । अचानक लकडाउन सुरु भयो । कलेज, लाइबे्ररी सबै बन्द भएपछि उनको थेसिस पनि ठप्प प्राय बन्यो । अरू बेला केही न केही गरिरहने बानी भएकाले त्यतिकै बस्न छट्पटाइरहेका थिए ।
एकदिन ओछ्यानमा पल्टेर युट्युब हेर्दाहेर्दै उनको आँखा ‘इन्क्युबेटर’ बनाउन सिकाउने भिडियोमा पर्यो । भिडियो हेरे । उनलाई पनि त्यस्तै मेसिन बनाउन मन लाग्यो । तर, उनीसँग सामग्री किन्नका लागि पैसा थिएन । उनको कोठामा जे उपलब्ध थियो, त्यसैलाई प्रयोग गरी बनाउने सोचे । तेलको कार्टुनमा फिलामेन्ट बत्ती जडान गरेर पानी राखे । त्यसपछि एक क्यारेट बटैको अण्डा ल्याए । अण्डा हालेको १८ दिनपछि ३० मध्ये एउटा चल्ला जन्मियो । यसले उनलाई निकै उत्साहित बनायो । उनले मुस्कुराउँदै भने, ‘एउटा चल्ला निस्किएपछि म बेचैन भएँ । म सफल भएँ भन्ने लाग्यो ।’
उनले साइकल समाते । कुनबेला बजार पुगे पत्तै पाएनन् । अशोक हाँस्दै सुनाउँछन्, ‘म खुशी भएर सामान र अण्डा लिन साइकल चढेर कतिको स्पिडमा गएँ मलाई नै थाहा छैन । एकैपटक बजार पुगेको थाहा भयो ।’ अर्को पटक उनले ५ ओटा चल्ला निकाल्न सफल भए । सायद अर्कोपटकमा ५ चल्ला ननिस्किएको भए उनी ६ महिने लामो लकडाउनको समय सुतेरै बिताउँथे होला ।

अनि व्यवसायीक र आधुनिकस्तरको बनाए
चल्ला कोरल्न लगातार दुईपटक सफल भएपछि उनलाई आधुनिक र व्यवसायीक बन्न मन लाग्यो । साथीभाइबाट सहयोग लिएर आवश्यक सामानको खोजीमा लागे । ‘थर्मोस्ट्याट’ (योे तापक्रम नियन्त्रण गर्ने ‘मोड्युल’ हो), ‘फ्यान’ (हावा पास गर्छ), ‘लाइट’ (उज्यालो र न्यानो दिन) हुन् । ती सामग्री खोज्नै उनलाई कम्तीमा एक महिना लाग्यो । यी सामग्री जोडेर उनले अर्को मेसिन बनाए । जसमा १ सय ५ अण्डा राखे । त्यसबाट ८५ ओटा चल्ला जन्मिए ।

सुरुआती चरणमा सामानहरू नपाउने, एउटै सामानका लागि चार÷पाँच बजार धाउनुपर्ने, पूरै बजार धाए पनि मुस्किलले पाउनेजस्ता समस्याको समाना गरे अशोकले । त्यसैले सुरुसुरुमा तापक्रम नाप्न ज्वरो नाप्ने ‘थर्मोमिटर’ को प्रयोग गरे । तर, अहिले उनी ‘कन्ट्रोलरको प्रयोग गरिरहेका छन् ।’ सुरुमा उनले बनाएका इन्क्युबेटर सामान्य खालका थिए । अशोक भन्छन्, ‘सुरुमा यसको डिजाइन युट्युबमा जे हेरियो त्यस्तै सामान्य किसिमको थियो । तर, अहिले आवश्यकताअनुसार बनाउन सक्छु ।’

लगानीको समस्या भएपछि उनले आफू सुत्ने खाटको ‘प्लाइउड’ काटे । त्यतिले नपुगेपछि ‘स्टडी टेबल’ र ‘किचेन र्याक’ पनि बाँकी राखेनन् । त्यसलाई अलि आधुनिकस्तरको बनाउने कोसिस गरे । सफल पनि भए । उनले जति पनि सिके युट्युब र गुगलबाट नै सिके ।
अहिले उनीकहाँ चल्ला काढ्न अण्डा लिएर आउने ग्राहकको चाप बढेको छ । उनी चल्ला मात्रै काढ्दैनन्, मेसिन बनाएर बेच्न पनि थालेका छन् । मेसिन बनाउन चाहनेहरूलाई आवश्यक समाग्री पनि उपलब्ध गराउँछन् । ‘मैले बनाएको इन्क्युबेटर कुनै ब्रान्डेड कम्पनीभन्दा कम छैन’, उनी भन्छन्, ‘मसँग फर्निचरको राम्रो ज्ञान नभएकाले मेसिनको लुक्स खासै आकर्षक छैन । तर, परिणामको हिसाबले बजारमा पाइने इन्क्युभेटरभन्दा कम छैन ।’

अझै पढ्नुहाेस