फुटबलर आदित्य चौधरीको सफल प्रेम कहानी

रमेश सुवेदी।

सन् २०१६ को युरो कप चलिरहेको थियो ।

फ्रान्सले आयोजना गरेको प्रतियोगिताको रौनकता नेपालसम्मै छरिएको थियो ।

सेमिफाइनलमा भिड्दै थिए, क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल र वेल्स ।

ठमेलको एक होटलमा ठुलो पर्दामा खेल देखाउने कार्यक्रम थियो । अथितीको रुपमा राष्ट्रिय फुटबल टिमका सदस्यलाई बोलाईएको थियो ।

भरत खवास, नवयुग श्रेष्ठ, अमृत चौधरी र आदित्य चौधरी राष्ट्रिय फुटबल टिमका सदस्यको रुपमा कार्यक्रममा आएका थिए । मोडलिङ क्षेत्रका चिरपरिचित अनुहार समेत फुटबल हेर्न जम्मा भए ।

मोडलिङ गर्ने पनि फुटबलका प्रशंसक हुन्छन् भनेर कार्यक्रमको आयोजना गरिएको थियो । त्यही भिडमा थिईन्, गिता घिसिङ पनि ।

त्यही आदित्य र गिताको पहिलो भेट भएको थियो ।

सामान्य परिचय बाक्लिदै विवाहको आकार ग्रहण गर्यो । केही हप्ता अघिमात्र दुवैले आधिकारिक रुपमा विवाह बन्धनमा बाँधिए ।

आदित्यले गत वर्षनै गितासँग विवाह गरेका थिए । तर, गिताको परिवार सम्बन्धमा खुसी थिएन ।

तर आदित्यले सर्लाही लगेरै गितालाई गृह प्रवेश गराएका थिए । आदित्यको परिवार नयाँ सम्बन्धबाट खुसी थियो । तर, गिताको परिवारले झण्डै एक वर्षसम्म कुनै प्रतिकृया दिएको थिएन ।

केही हप्ता अघि मात्र गिताको परिवार समेत सम्बन्धलाई लिएर सहमत बन्यो । गिताको परिवारले आदित्य दम्पत्तीको टिकाटालो गरिदिए ।

आदित्य पहिलो पटक ससुराली समेत गए ।

‘यसअघि उहाँहरु आफ्नो रीतिरिवाज अनुसार स्विकार गर्नु भएको थिएन । अब भने उहाँहरु पनि राजी हुनुभयो ।’ मन्द मुस्कानसहित आदित्यले खेलपाटीसँग खुसी साटे ।

राष्ट्रिय टिमबाट तीन उपाधि हात पारिसकेका आदित्य पोर्चुगलका समर्थक हुन् । वेल्समात्र हैन, फाईनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरो कपनै उचाल्यो ।

पोर्चुगलले पहिलो पटक उपाधि हात पारेको समय आदित्यले आफ्नो जीवनसंगिनी फेला पारेका थिए । सम्बन्धको फाइनल खेल भने ४ वर्षपछि जिते ।

एन्फा एकेडेमी उत्पादन आदित्यले यसै सिजन मनाङ मर्स्याङ्दी क्लबबाट घरेलु लिग खेलेका थिए । त्यसअघि उनले एपीएफ र थ्रीस्टारबाट खेलेका छन् ।

घरेलु लिगको डेब्यु भने थ्री स्टार क्लबबाट गरेका हुन् ।

हाल राष्ट्रिय टिमबाट बाहिर रहेको आदित्यले उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै यू–१४, १५, १६, १९ र २३ का प्रतियोगिता खेलेका छन् ।

सन् २०१४ मा प्यालेस्टाईनविरुद्ध खेल्दै आदित्यले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । प्रशिक्षक ज्याक स्टेफानोस्कीले आदित्यलाई विश्वास गर्दै कतार भ्रमणमा लगेका हुन् । त्यसपछि उनले सन् २०१८ को साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका छन् ।

बंगलादेशमा सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएपछि आदित्य विभिन्न कारणले टिम बाहिर छन् ।

नेपालले एएफसी सोलिडारिटी कप, बंगबन्धु गोल्डकप र गुहावटीमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग जित्दा आदित्य नेपाली टिमका मुख्य सदस्य थिए ।

तीनै प्रतियोगिताका मुख्य सेन्टर डिफेन्डर हुन्, आदित्य ।

अझै पढ्नुहाेस