आइसीयुमा संक्रमितको छटपटी देख्दा आफू बाँच्ने आशा एकरत्ति थिएन : शान्ता चौधरी

शान्ता चौधरी, नेपालखबरबाट

रोगी मान्छेलाई कोरोनाले झन् बढी च्याप्छ भन्ने सुनेकी थिएँ। त्यसैले म सचेत थिएँ। पहिलेदेखि नै मलाई दम थियो। पोहोर साल निमोनिया पनि देखियो। मलाई पहिलो चरणको क्यान्सर पनि देखिएको हो। तर जति सचेत हुनुपर्ने हो, सायद त्यति हुन सकिएन। त्यसैले कोरोना लाग्यो। कहाँबाट लाग्यो, थाहा छैन।

असोज तेस्रो साता मेरो आँखा एकदम दुख्न थाल्यो। गतवर्ष डेंगु हुँदा पनि त्यस्तै भएको थियो। जिउ पनि दुख्यो। अघिल्लो दिन ट्रेकिङ गएकाले होला भन्ठाने। छोरीलाई जिउ थिच्देउ भनेँ। उनले थिचिदिइन्। त्यहीबेला छोरीलाई पनि कोरोना सरेको जस्तो लाग्छ।

त्यो रातभरि ज्वरो आयो। नाप्दा त्यति देखिएन तर भित्रभित्रै पोलिरहेको थियो। एकदमै कमजोर अनुभव भइरहेको थियो। शंका लाग्यो र भोलिपल्ट टेकुमा जँचाउन गएँ।

असोज १९ गते आएको रिपोर्टमा कोभिड पोजिटिभ देखायो। झसंग भए।

घरमै बस्ने कि अस्पताल जाने, छलफल चल्दै थियो। सुवास नेम्वाङलाई फोन गरेँ। उहाँले ज्वरोसहित लक्षण देखिएकाले अस्पताल जान सुझाउनुभयो। संसद् सचिवालयको चिकित्सकलाई फोन गरेँ। चिकित्सकले पनि अस्पताल नै जाँदा ठिक होला भन्नुभयो र वीरमा भर्ना प्रक्रिया मिलाइदिनुभयो।

अस्पताल गएको एकदुई दिनसम्म त ठिकै थियो। श्वास फेर्न हल्का गाह्रो थियो। जिउ दुखिरहेको थियो। आँखाको दुखाइ कम भएको थियो।

तर, चौथो दिनमा भने मलाई बेस्सरी च्याप्यो। निमोनिया भएछ। श्वास फेर्न एकदमै गाह्रो भयो। लगत्तै मलाई आईसीयूमा सारियो। जहाँ आठ दिनको बसाइका क्रममा मैले जे देखेँ र भोगेँ, त्यसले मलाई निकै ठूलो आघात पुर्‍याएको छ।

प्रत्येक दिन मेरै आँखाअगाडि मान्छेहरु मर्थे। उनीहरुले पाएको दुःख, छटपटी देख्दा म भगवान पुकार्थेँ। म आफैँ गम्भीर अवस्थामा थिएँ। तर, तिनको दुःख असह्य थियो।

उनीहरुलाई यति गाह्रो हुन्थ्यो कि अझै पनि त्यो दृश्य मेरो दिमागमा घुमिरहेको छ। अझै राति म राम्रोसँग निदाउन सक्दिनँ। मान्छे मरेपछि उनीहरुलाई प्लास्टिकमा बेरेर झोलामा प्याक गरिएको दृश्य साह्रै पीडादायी थिए।

कोरोनाले यतिसम्म गर्ला भनेर मैले सोचेकै थिइनँ। तर, आईसीयूमा गएपछि आँखा अगाडि बिरामीहरुले असाध्यै दुःख पाएको देख्दा अब मेरोपनि अवस्था त्यस्तै हुने पो हो कि भनेर एकदमै तनाव हुन्थ्यो। त्यसपछि त मैले बाँच्छु भनेर एकरत्ति पनि सोचिनँ। म दीर्घरोग भएको मान्छे। मेरो सिटी भ्यालुपनि कमै थियो। तर, चिकित्सकको अथक प्रयास, सबैको माया आशीर्वादले आज मृत्युको मुखबाट फर्किएको महसुस गरेकी छु।

आफूलाई नलाग्दासम्म त म पनि कोरोनालाई सामान्य ठान्थेँ। कतिले सजिलै जितेको देखेर म पनि सजिलै जितौँला ठान्थेँ। जित्न त जितियो तर कसरी जितियो, कति दुःख पाइयो, मलाई मात्र थाहा छ। शब्दमा म भन्न सक्दिनँ।

म अस्पतालमा भर्ना भएको बेला छोरी पनि घरमा संक्रमित थिइन्। उनलाई के भयो होला? केही खाइन् कि नाइँ भनेर अर्को तनाव। घरमा खाना पकाएर ल्याइदिने पनि कोही थिएन। हाम्रै पार्टीकी सदस्य मीना श्रेष्ठले धेरै सहयोग गर्नुभयो। उहाँले खाना पकाएर ल्याइ दिनुहुन्थ्यो। उहाँले यस्तो बेला गरेको सहयोग म कहिलै बिर्सन सक्दिनँ। अप्ठेरो परेका बेला मान्छेलाई साथ चाहिँदो रहेछ। एक्लो महसुस नगर्ने खालको वातावरण चाँहिदो रहेछ।

छोरीलाई खासै लक्षण देखिएको थिएन। उनी घरमै बसेर निको भइन्।

अस्पतालमा डाक्टरले दिएका औषधिहरु मैले नियमित सेवन गरें। झोलिलो खानेकुरा बढी खान सल्लाह दिएका थिए। खसीको खुट्टाको सुप पिएँ। दिनमा तीनचार वटा अण्डा खान्थेँ। बोजो, तुलसीको पात, गुर्जो, अदुवा पकाएर त्यसको पानी खाने गर्थें।

दिनमा चार पाँच चोटी वाफ लिन्थेँ। अस्पतालमै तताएको पानीे झरेर मेरो खुट्टा पोलियो। खुट्टा यसरी पोलियो कि कोरोनाको भन्दा खुट्टाको दुखाइले बढी छटपटाहट भयो।

अझै पढ्नुहाेस