कम्लरी कथा
राजेन्द्र नाथ- उनी ६ वर्षकी थिइन् । बाआमाको न्यायो काखमा खेल्नुपर्ने त्यो उमेरमा अर्काको घरमा कमलरी बस्न बाध्य भइन् । आर्थिक अवस्था कमजोर थियो, परिवारको । त्यसैले होश सम्हाल्न नपाउँदै बाआमाले कोसौ टाढाको सहर काठमाडौंको एकजना शाह परिवारमा कमलरी (घरेलु कामदार) बस्न पठाए । त्यही सहरमा अहिले उनले नेतृत्व गरिरहेको कमलरी मुक्ति आन्दोलनको रापले सरकार त्रस्त छ ।
नाबालिक उमेरमै कमलरी बस्न बाध्य गढवा-६ मानपुर, दाङकी उर्मिला चौधरी -२१) कमलरी मुक्ति आन्दोलनको पर्याय बनेकी छन् । उनको अगुवाइमा दासताको जीवनबाट मुक्ति खोज्दै शान्तिपूर्ण धर्ना दिइरहेका धेरै कमलरीमाथि सरकारले बर्बर आक्रमण गर्यो । त्यसको प्रमुख निसाना बनेकी उर्मिला घाइते अवस्थामा राजधानीस्थित नर्भिक अस्पतालको बेडमा छट्पटाइरहेकी छन् । ‘छिनमा होश आउँछ, छिनमै बेहोश हुन्छिन्,’ उनकी कुरुवा बसेकी अर्की कमलरी बालिका सुमित्रा चौधरी भन्छिन् ।
प्रहरी आक्रमणमा घाइते उर्मिला अस्पतालको ३०६ नम्बर बेडमा उपचार गराइरहेकी छन् । जहाँ लहरै अरु दुई कमलरी बालिकाको समेत उपचार भइरहेको छ । ३०६ देखि ३०८ नम्बरको सेमी क्याबिनमा उनीहरूको उपचार भइरहेको छ । प्रहरीको लाठीले धेरैको शरीर, ढाड र पेटमा गम्भीर चोटपटक लागेको छ ।
कमलरी जीवनदेखि आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दासम्मको उनको संघर्ष निक्कै रोचक, मर्मस्पर्शी र अरुलाई उत्प्रेरणा जगाउने खालको छ । विद्यालय पढ्ने कलिलो उमेरमा अर्काका घरमा जुठाभाँडा माझ्दैमा उनको बालवय बित्यो । तर अहिले तिनै हातले कलम, कापीमात्र समातेको छैन । कमलरी मुक्ति आन्दोलनसमेत हाँकिरहेको छ । त्यसैले ‘कमलरी प्रथा उन्मूलन संघर्ष समिति’की यी उपसंयोजक देखेर सरकारसमेत त्रसित छ । तर अन्तर्राष्ट्रिय समुदाय भने उर्मिलालाई देश-विदेश डाकेर कमलरीका कारुणिक कथा सुनिरहेको छ ।
६ वर्षको उमेरमा बाआमाको न्यानो काख खोसिएपछि उनका १२ वर्ष दासतामा बिते । अर्काको घरमा कमलरी बस्नुपर्ने । ‘छोरीलाई पढाइ र तिमीहरूलाई पैसा पठाइदिन्छु’ भनेर मालिकले लगे पनि उनले विद्यालयको मुख र घरकाले पैसा पाएनन् । जुठाभाँडा माझेर १२ वर्ष बिताउनुपरेपछि उनले १८ वर्षको उमेरसम्म अक्षरसमेत चिन्ने मौका नपाएको बताइन् । २०६३ सालमा उनी मुक्त भइन् । सरकारले कमैया प्रथा उन्मूलन गरिसकेको थियो । तर कमैयाजस्तै कमलरीबारे कुनै सम्बोधन भएन । त्यसैले कमलरी मुक्तिका लागि उनको जिल्ला दाङका बालिकाहरू संगठित भएर जनचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेका थिए । उनले यता राजधानीमा मालिकको घरमै छँदा त्यो समाचार सुनिन् । र घर र्फकने तीव्र लालसा जाग्यो । तर सजिलै जान दिइएन ।
घरबाट दाजुलाई बोलाइन् र मालिक्नीसंँग झगडा गरेर दाजुसंँगै घर फर्किइन् । त्यो दिन २०६३ को माघ १ गते -माघी पर्व, जसलाई थारु समुदायमा मुक्ति पर्व पनि भनिन्छ । त्यो दिन कमैया/कमलरी राख्ने/नराख्ने निर्णय गरिन्छ) थियो । ‘फर्केपछि पैसा पाउँछौ, अहिले दिन सकिँदैन भनेर मालिक्नीले भनेपछि खुरुखुरु दाजुको पछि लागेर गाउँ आएँ,’ उर्मिलाले सुनाइन् ।
घर फर्केपछि तीन महिने अनौपचारिक कक्षा लिइन् र भर्ना भइन्, एकैपटक पाँच कक्षामा । बाल्यकालमा कमलरी बस्नुपरेको र एक पैसो पनि नपाएर घर र्फकनुपरेको पीडा संँगालेर उनले अक्षर यात्रा थालिन् । पढ्न थाल्दा उनका हातमा कापी-किताबमात्रै थिएनन्, गाउँ जगाउने माइक पनि थियो । ‘पढाइ र कमलरी मुक्ति अभियान एकैपटक थालँें,’ उर्मिला भन्छिन्, ‘म जस्ता पढ्ने उमेरका बालबालिका कमलरी बस्न नपरोस् भनेर साँझबिहान गाउँ-गाउँमा चेतना फैलाउने काम गरेंँ ।’
उर्मिलाले आफूजस्तै कमलरी बसेका बालिकाहरूलाई छुटाउन घरपरिवारलाई दबाब दिने काम थालिन् । फलस्वरूप आफूजस्तै ६/७ जना बालिका भेटेपछि कमलरी मुक्तिका लागि साझा मञ्च गठन गरिन्, अनि त्यसको नेतृत्व पनि आफैंले सम्हालिन् ।
‘सुरु-सुरुमा गाउँमा मलाई अर्काका जुठाभाँडा माझेर आकी केटी पनि नेता कहलाउने भनेर साह्रै निरुत्साहित पार्थे । घरमा पनि थारुकी छोरी भएर जमिनदारहरूसँग जोरी खोज्न हुन्न भन्थे,’ उर्मिलाले आफ्नो मुक्ति यात्राको थालनीका दिन सम्झँदै भनिन्, ‘कमलरी फिर्ता गरिदेउ भनेर जमिनदारका घरमा जाँदा त झन् मलाई पिट्लान्झैं गर्थे । पछि कमलरीलाई घर फर्काइसकेपछि त यो बोक्सी रै’छे, हाम्रो कमलरीलाई फकाएर लगिदिई भनेर मेरो घर घेरा हाल्न आउँथे ।’
कत्ति पनि पछि नहटेर उर्मिला अन्ततः घर र गाउँ-समाजलाई चकित पार्दै जिल्लाकै कमलरी मुक्ति अभियानकी नेतृ भएरै छाडिन् । अहिले उनले गाउँ-गाउँमा पनि कमलरी मुक्तिका लागि साझा मञ्चका इकाइहरू गठन गरेकी छन् । उर्मिलाले आफ्नो पढाइलाई पनि त्यसैगरी मिहेनतसाथ निरन्तरता दिएकी छन् । एकैपटक ५ कक्षामा भर्ना भएकी उनले राम्रो नम्बर ल्याएर कक्षा उत्तीर्ण पनि गरिन् । त्यसपछि एकैपटक ७ कक्षामा फड्को मारिन् । यस वर्ष एसएलसी दिइन् ।
केही समय उनले पढ्दा-पढ्दै गढवा बजारमा फोटो स्टुडियो पनि खोलिन् । ६ कक्षा पढ्ने पूर्वकमलरी साथी चन्द्र चौधरी र निमा चौधरीसँग मिली ऋण काढेर उनले पञ्चरत्न फोटो हाउस खोलेकी थिइन् । अर्काको घरमा काम गरी बिताउने गरिब थारुको झुप्रोमा क्यामेरा पुगेपछि बुबा फूलपत र आमा खल्सीदेवी आश्चर्यचकित भए ।
उनी कमलरीको नेतृत्व गर्दै बिभिन्न देश पुगेर सल्लाह-सुझाव माग्छिन् । केही समयअघि अमेरिका पुगेर कमलरीका कारुणिक कथा सुनाइन् । जर्मनी र अंग्रेजी भाषामा उनको बायोग्राफी लेखिएको छ । जर्मनमा भएको विमोचन समारोहमा उनी आफै पुगिन् । त्यसपछि नर्वे गइन् । केही महिनाअघि ‘बिकज आई एम ए गर्ल’ -किनकि म केटी हुँ) अभियानमा अमेरिका पुगेकी उर्मिलाले पुस्तकको कमाइ कमलरीकै भलाइका लागि लगानी गरेको बताइन् ।
२०६९ चैत १४ गते दिउँसो दाङको लालमटिया— ८ पैंसट्ठी नम्बर निवासी १२ वषर्ीया सिर्जना चौधरीको ललितपुरको चाकुपाटस्थित इञ्जिनियर युवराज पौडेलको डेरामा रहस्यमय ढंगले मृत्यु भएपछि त्यो लगायत अन्य त्यस्तै मिल्दाजुल्दा घटनाहरू र समग्र कमलरी मुक्तिको माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका छन् । स्वाभाविक रूपमा त्यसको नेतृत्व उर्मिलाको हातमा पुगेको छ ।
कमलरी मुक्ति मञ्चका अनुसार, हालसम्म २६ कमलरी बेपत्ता छन् भने २८ जना यौनशोषणमा परी बिचल्ली परेका छन् । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अझै पनि ६ सय ४२ कमलरी रहेको र उनीहरू कुनै न कुनै खालको शोषणमा परिरहेको अगुवाहरूको भनाइ छ ।
Facebook Comment