नयाँ वर्षको पहिलो पर्व जुडशितल
विराटनगर- नयाँवर्षको पहिलो पर्वका रुपमा पूर्वी नेपालमा थारु तथा खवास समुदायले भोलि जुडशितल पर्व मनाउँदैछन्। ठूलाले सानालाई गङ्गाजल शिरमा छर्केर र सानाले ठूलालाई खुट्टामा छर्केर आशिर्वाद लिनेदिने चलनलाई जुडशितल भनिन्छ। जुडशितलसँगसँगै आदिवासी थारु तथा खवास समुदायले प्रकृतिलाई संरक्षण गर्न बोट विरुवामा पनि पानी हाल्ने गर्दछन्। जुडशितलका दिन अर्थात् वैशाख १ गते सबैभन्दा पहिलो कूल देवताको पूजाआजा गर्ने चलनसँगसँगै यी समुदायका मानिसले विशेष रुपमा बरी, सजिवनको तरकारी र गाजी पनि खाने चलन छ।
नयाँवर्षको सुरुवातको अघिल्लो राति भात बढी पकाउने र भोलिपल्ट बिहानै बासी खात खाने पुरानो परम्परा यो समुदायमा विद्यमान रहेको खवास समाजका तिकचन्द चौधरी खवासले बताए।
उनले जुडशितल पछि अर्को दिन सुनसरी र मोरङमा सिरुवा मेला लाग्ने गर्छ। यो मेला सुनसरीको चाँदवेला गाविस वडा नं १ स्थित डोराबाट सुरु भई दुवै जिल्लामा विभिन्न स्थानमा मेला लाग्ने र यसमा गाउँदेखि पर रहेको ग्राम देवताको विशेष पूजा हुने गरेको बताइएको छ।
यस पर्वमा यी समुदयका मानिसले नयाँ/नयाँ पहिरनमा मेला गई रमाइलो गर्ने चलन छ। यसैगरी यही पर्वको अवसरमा खवास महिला समाजले मोरङको वनिगामा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ।
यस कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी भरत खवास, गायक कृष्ण खवास, सिए मनिष खवास, चिकित्सक जिन्नत खवास, अधिवक्ता सुनिता विश्वास खनाल र खवास समुदायबाट पहिलो एसएलसी उत्तीर्ण गर्ने युवती पदमकुमार सिंह खवासलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष भोटनीदेवी खवासले बताए। रासस
Facebook Comment