एमाओवादी सङ्घीयताविरोधी हो : लेखी
कैलाली- नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले एमाओवादी सङ्घीयताविरोधी भएको आरोप लगाएका छन्। बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लेखीले एमाओवादीले बाहिर सङ्घीयता भनेर आमजनतालाई ढाँटिरहेको र उसले आन्तरिकरुपमा सङ्घीयता नचाहेको बताए। एमाओवादी नेताहरूले दिनमा दशथरी कुरा गरेर जनताका आँखामा छारो हाल्ने काम मात्रै गरेको बताउँदै उनले एमाओवादीका नेताहरूले नै देशमा सबैभन्दा बढी गद्दारी गरिरहेको बताए।
“जनजाति महासङ्घ एक मधेस, एक प्रदेश र एक थरूहट प्रदेशको विरोधी रहेको छ,” उनले भने, “पछाडि परेका जातजातिलाई समेटेर बहुप्रदेश बनाउनु उपयुक्त हुन्छ।”
राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख चार दलले संविधानसभाको निर्वाचन नचाहेको आरोप लगाउँदै अध्यक्ष लेखीले संविधान सभा विघटनसँगै राष्ट्रपति र प्रधानमन्त्री दुवै कामचलाउ भइसकेको जिकिर गरे।
‘साँघु’ साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई ज्यान मार्ने भनी दिइएको धम्की पे्रस स्वतन्त्राविरोधी कार्य हो भन्दै त्यस्तो धम्की दिने व्यक्तिलाई कारबाही गर्नुपर्छ भने। रासस
Facebook Comment