टोकियो, बिबिसी- जापानी मोटर उत्पादक कम्पनी टोयोटाले बिक्री संख्याका आधारमा फेरि पहिलो स्थान ओगट्न सफल भएको छ। टोयोटाले सन् २०१२ मा ९७ लाख ५० हजार गाडी बिक्री गरेको छ। यो अघिल्लो वर्षको दाँजोमा २२ प्रतिशत बढी हो। २०११ मा सबैभन्दा धेरै गाडी बिक्री गरेको अमेरिकी कम्पनी जनरल मोटर्सले २०१२ मा ९२ लाख ९० हजार बेचेको थियो। जापानमा गत वर्ष आएको सुनामी र थाइल्यान्डको बाढीका कारण २०११ मा टोयोटाको उत्पादन तथा बिक्री घटेको थियो। प्राकृतिक प्रकोपछि टोयोटालगायत जापानी कम्पनीको उत्पादन क्रमिक रूपमा बढेको छ। 

‘पछिल्लो दुई वर्ष टोयोटाका लागि निकै चुनौतीपूर्ण रह्यो,’ सवारी बजार विश्लेषक विवेक वैद्यले भने, ‘टोयोटा नम्बर एकमा पुनर्स्थापित हुनु कम्पनी र यसका सेयरधनीका लागि खुशीको समाचार हो।’
टोयोटाका जापानी प्रतिस्पर्धी कम्पनीले पनि २०१२ मा बिक्री बढाएका छन्। निसानले ४९ लाख ४० हजार गाडी बिक्री गरेको छ। यो ६ प्रतिशत वृद्धि हो। होन्डाको बिक्री १९ प्रतिशतले बढेर ३८ लाख २० हजार पुगेको छ।
प्राकृतिक प्रकोपबाहेक जापानी येन महँगो भएकाले टोयोटालगायत कम्पनीको नाफा घटेको थियो। येनको भाउ बढ्दा जापानी उत्पादन विदेशीका लागि महँगा भएका थिए।
यसका कारण विदेशबाट जापानी कम्पनीले गर्ने आम्दानी पनि घटेको थियो। येन महँगिदा सबैभन्दा बढी टोयोटा प्रभावित भएको थियो। पछिल्ला केही महिना येनको विनिमय दरमा आएको गिरावटले भने जापानी कम्पनीलाई राहत मिलेको छ।
गएको नोभम्बरयता अमेरिकी डलरसँग जापानी येनको विनिमय दर १९ प्रतिशतले घटेको छ। यसले जापानी कम्पनीहरूको बिक्री बढाउन मद्दत पुग्ने विश्लेषकको अनुमान छ।
‘जापानी येनको गिरावट टोयोटाका लागि सुखद कुरा हो,’ वैद्यले भने, ‘यसले नगद प्रवाह र नाफामा सकारात्मक प्रभाव पार्ने छ भने प्रविधिमा थप लगानीलाई पनि सहयोग पुर्यायउने छ।’
पछिल्लो समय बिक्री बढेकाले सबै जापानी कम्पनीले नाफा बढ्ने प्रक्षेपण गरेका छन्। टोयोटाले २०१३ मा नाफा ८ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ। गत वर्ष उसले ७ अर्ब ६० करोड नाफा गरेको थियो।
सन् १९३७ मा स्थापना भएको टोयोटाले संसारभर ३ लाखजनालाई रोजगारी दिएको छ। आम्दानीका आधारमा यो संसारकै आठौं ठूलो कम्पनी हो। टोयोटा इन्डस्ट्रिजको सहायक कम्पनीका रूपमा किचिहिरो टोयोडाले टोयोटा मोटर कर्पोरेसन स्थापना गरेका हुन्। हाल कर्पोरेसनअन्तर्गत टोयोटासहित लेक्सस, डाइहात्सु, हिनो मोटर्स सञ्चालित छन्।
जापान र चीनको बढ्दो विवादले भने टोयोटाको कारोबारमा नकारात्मक प्रभाव पर्ने विश्लेषक बताउँछन्। चीन संसारकै सबैभन्दा ठूलो मोटरकार बजार हो। चीनमा बजार हिस्सा बढाउन सकेमात्र कम्पनी सफल हुने ठम्याइ विश्लेषकको छ।
इस्ट चाइना सीस्थित द्वीपबारे दुई देशको विवाद चर्किंदा सर्वसाधारण चिनियाँले जापानी उत्पादन बहिस्कार गनुपर्ने माग गर्न थालेका छन्। द्वीप विवाद अझै साम्य भएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *