एकताको माघे संक्रान्ति
डा. तीर्थबहादुर श्रेष्ठ– पृथ्वीले ३६५ दिनमा सूर्यलाई एकपल्ट परिक्रमा गरिसक्छ। वास्तवमा त्यो परिक्रमा ३६५ दिन ५ घन्टा ९ मिनेट र ९.५४ सेकेन्डमा पूरा हुन्छ। हामी त्यसलाई एक वर्ष मान्दछौं। ती ३६५ दिनमध्ये माघे संक्रान्तिमा पृथ्वीको दक्षिणी गोलार्द्ध विशेष गरेर मकररेखा सूर्यतिर सोझो फर्किएको अवस्था हुन्छ। माघे संक्रान्तिपछि सूर्य मकर राशिमा प्रवेश गर्छ र उत्तरायणतिर लाग्छ। हामी उत्तरायणमा बस्छौं र मकर संक्रान्तिपछि सूर्य हामीतिर फर्केर आउन थाल्यो भन्ने भावले प्रसन्न हुन्छौं। उत्सव मनाउँछौं। वर्तमानमा खगोलशास्त्रको हिसाबले र ज्योतिषीय गणितले सूर्य मकररेखामा पुग्ने दिन डिसेम्बर २३ तारिखलाई मानिन्छ। त्यसबेला उत्तरी गोलार्द्धमा दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ। हुनसक्छ, ऐतिहासिक कालखण्डमा मकररेखामा सूर्य पुग्ने दिन मकर संक्रान्ति थियो। त्यो ज्योतिषशास्त्रका लागि अनुसन्धानकै विषय होला। अहिले भने हाम्रो संस्कृति, संस्कार र सभ्यताले मानेको मकर संक्रान्तिकै प्रसंगमा बसौं।
काठमाडौंका नेवार समुदायले माघे संक्रान्तिलाई ‘घ्योचाकु सन्हु’ अर्थात घ्यु र चाकुको संक्रान्ति भन्छन्। शुद्ध घ्यु, टोखाको असल चाकु, खोकनाको तोरीको तेल, काँठकाँठको तरुल, पाटने पालुंगोको साग, तिलको लड्डु, तिलकै तिलौरी, शुद्ध बँदेलको मासु र त्यसमा टाँसिएको बोसो अनि थालभरि तातो खिचडी ‘घ्योचाकु सन्हु’को परिचायक बन्छ। संक्रान्तिको बिहानी नुहाइधुवाइपछि आमाको हातले तालुमा तेल लगाएर कानमा पनि तेलका थोपा चुहाएपछि त्यो दिनको दैनिकी सुरु हुन्छ। घ्युचाकुको परिकारपछि न्यानो घाममा तेलको मालिस अझ विलासपूर्ण हुन्छ, माघेसंक्रान्तिमा।
माघे संक्रान्ति मेलाको चाड पनि हो। तीर्थाटनको बेला पनि हो। बागमती र विष्णुमतीका विभिन्न घाटमा विशेष गरेर शंखमूलमा ठूलै मेला लाग्छ। संस्कृतिविद डा. साफल्य अमात्यका अनुसार बागमतीमा मात्र ८८ वटा तीर्थस्थल छन् जहाँ मानिसहरू पुण्य कमाउँथे रे। नेपालमा यस्ता छ हजारभन्दा बढी नदीनाला छन्। तिनले रचेका घाट, देवघाट, बेनी, त्रिवेणी, दोभान तथा रुरुक्षेत्र, मुक्तिक्षेत्र, वराहक्षेत्र आदि पूण्य तीर्थस्थलहरूमा माघेसंक्रान्तिका दिन विशेष मेला लाग्छ। सबै जात, सबै धर्मका मानिस आ-आफ्नै सांस्कृतिक अभिव्यक्तिमा व्यस्त हुन्छन्। पूजाआजा, संस्कारकर्महरू (चुडाकर्म आदि), दानधर्ममात्र होइन, त्यहाँ मेला लाग्छ। हाट बस्छ। बजार लाग्छ। नाचगान, भजनकिर्तन हुन्छ। विभिन्न गाउँठाउँबाट आउने विभिन्न संस्कृतिका नेपाली आ-आफ्ना मालसामान खरिदबिक्री र सट्टापट्टा गर्ने अवसर पनि बनाउँछन् माघे संक्रान्तिको मेलालाई। नेपाली सांस्कृतिक एकताको प्रमुख परिचायक हो माघे संक्रान्ति।
थारु समुदायमा माघी अर्थात माघे संक्रान्तिको विशेष महŒव हुन्छ। उनीहरूको लेनदेनको हिसाब फर्छ्यौट गर्ने दिन पनि यही हो। माघे संक्रान्तिलाई नै नयाँ वर्ष आरम्भको दिन मान्छन् थारुहरू। थारु संस्कृतिको नाचगान, रमझम, श्रृंगारपटार, भोजभतेर माघे संक्रान्तिको उल्लासमय वातावरणमा प्रकट हुन्छ। त्यो कार्य विशेष गरेर नदी वा जलाशयमा भेला भएर सम्पन्न गर्छन्। दाङको लरियाना (नारायण) सिमसार, कैलालीको घोडाघोडी ताललगायत विभिन्न नदीनालामा पनि मेला लाग्छ। माघीमा घर नफर्कने थारु वास्तवमा थारु होइन भन्ने भाव पनि व्यक्त हुन्छ थारु समुदायमा।
सबै संस्कृतिको जननी प्रकृति हो। प्रकृतिको जननी पानी हो भन्नु अत्युक्ति हुँदैन। मानवसभ्यताको जीवनरेखा नदी र पानी हुन। हाम्रो धार्मिक ग्रन्थहरूले स्वर्गबाट धरतीमा पानी (गंगाजी) अवतरण गराउने श्रेय राजा भगीरथलाई दिने गरेका छन्। पानीका स्रोतहरू विशेष गरेर ढुंगेधारा, इनार आदिको निर्माणमा भगीरथको मूर्ति भेटिन्छ। हातमा शंख हुन्छ। शंख फुकेर गंगालाई ल्याविश्वास छ। गंगाजीको बाहन मकर (गोही) हो। त्यसैले ढुंगेधाराको मुखबाट गोही (ग्राह) को मुखबाट पानी झार्छौं।
गंगास्नानको विशेष पर्वका रूपमा मकर संक्रान्तिले प्रसिद्धि पाएको छ। भारतको प्रयागमा प्रत्येक १२ वर्षमा हुने कुम्भमेला संसारभरमा सबैभन्दा बढी मानिस भेला हुने मेलामध्ये पर्छ। यो वर्ष त्यहाँ करोडौं मानिस भेला हुने अनुमान छ। गंगा नदीको भूगोल नियाल्यौं भने हिमालबाट बगीआउने नदिनालाहरू एकअर्कासँग मिल्दैमिल्दै तल झरेर कपालका केशहरू कोरीबाटी सुरिलो चुल्ठोजस्तो बनेर गंगाजी समुद्रतिर लाग्छिन्।
नेपालको भूगोलमा नदिनालालाई नक्सांकन गर्यौं भने कोशी, गण्डकी र कर्णालीका तीन चुल्ठो तयार हुन्छन्। तिनकै आधारमा नेपालमा विकास क्षेत्र पहिचान भएको थियो। प्रारम्भमा चार विकास क्षेत्रको अवधारणा आयो। चार विकास क्षेत्रभित्र ७५ जिल्लाको परिचयात्मक विवरणका चार खण्डमा ‘मेचीदेखि महाकाली’ नामक पुस्तक राजा वीरेन्द्रको शुभराज्याभिषेक वर्ष २०३१ सालमा प्रकाशित भयो। ती पुस्तक लेखनीका दिन सम्झेर त्यहाँ माघे संक्रान्तिको प्रसंग उप्काउँदा यस्तो लाग्छ कि चार जात र ३६ वर्णका फूल फुल्ने थलोहरू नेपालका बेनी, त्रिवेणी, नदी, दोभान र पवित्र घाटहरूमा अवस्थित छन्। नदीनालाको मिलनमात्र नभई सांस्कृतिक संगमस्थलका रुपमा ती तीर्थस्थलहरू जीवन्त छन्।
उदयपुरमा कमला नदी, तावाखोला र काकारुखोलाले त्रिवेणी निर्माण गरेको स्थानमा ठूलै मेला लाग्छ। त्यस्तै दूधकोशी, थोत्नेखोला र रावाखोलाले खोटाङ र ओखलढुंगा तिरमा रमुवामेला लाग्छ, त्यो कोशी प्रदेशमा विशेष उल्लेखनीय छ। अरु तीर्थस्थलहरूमा मूलघाट, लेगुवाघाट, त्रिवेणी तथा बराहक्षेत्र मकर संक्रान्ति स्नानका लागि प्रख्यात छन्।
मध्यमाञ्चलतिर आएपछि सिन्धुली जिल्लाको कमलामाईमा लाग्ने माघेमेलाले ‘मिथिला महात्म्य’को महत्तालाई समेत उजागर गर्छ। त्यसैगरी काभ्रे पनौतीको पुण्यमती, सिन्धुपाल्चोकको तातोपानी, नुवाकोटको देवीघाट, धादिङको बेनीघाट र कल्लेरीघाट, सर्लाहीको हरपुर मेला, चितवनको देवघाट माघेसंक्रान्तिका ठूला मेला लाग्ने विशेष स्थान हुन्।
गण्डकी प्रदेशतिर आएपछि कागबेनी, म्याग्दीबेनी, मोदीबेनी, सेतीबेनी, रुद्रबेनी र त्रिवेणीका माघेमेला र तीर्थस्नान कसैले बिर्सन सक्दैन। ढोरपाटनको ज्यामिरेघाट र अर्घाखाँचीको चुत्राबेंसी पनि ज्यादै लोकप्रिय तीर्थस्थल हुन्। गण्डकी प्रदेशमा माघेसंक्रान्ति विशेष उल्लासपूर्ण हुन्छ।
कर्णाली प्रदेशमा जुम्लाको तातोपानी र हुम्लामा कर्णाली र दोभान खोलाको संगममा रहेको खडपुनाथमात्र उल्लेखनीय छन्। अरु माघेमेलाका प्रसंग उत्ति भेटिँदैन कर्णाली क्षेत्रमा। त्यसो भए पनि माघे संक्रान्ति सबै जातजातिले प्रायः सबै भूगोलमा मनाउने विशेष पर्व हो, नेपालीका लागि। माघ महिनाको पुण्यकर्ममध्ये स्वस्थानी व्रत र साँखुको सालीनदी स्नान हिन्दू धर्मावलम्बीका लागि विशेष महत्वपूर्ण छन्। तर, माघे संक्रान्ति मनाउने क्रममा किराँती, गुरुङ-मगर-तामाङ लगायत सबै जातजाति भेला भएर माघीको हातेमालोमा सरिक हुन्छन्। न जाति विशेषले माघ अँगालेको हुन्छ, न माघले जाति विशेष। त्यहाँ नदी हुन्छ, दोभान हुन्छ, बेनी हुन्छ, त्रिवेणी हुन्छ र वस्तुतः नेपाली एकता हुन्छ।
आजभोलि नेपालका मौलिक चाडपर्व र मेलाहरू बिस्तारै ओझेलमा पर्न थालेको अवस्था छ। नेपालीको नयाँ पुस्ता राष्ट्रिय कम, अन्तर्राष्ट्रिय बेसी बन्ने क्रमको थालनी भएको छ। क्रिसमस र इशाको नववर्षले माघे संक्रान्तिलाई खुइल्याउन थालेको अवस्था छ, विशेष गरेर नगर, महानगर र उपमहानगरहरूमा। मौलिक मेलापर्वहरूले बाँधेको एकताको गाँठो अतिवादी पहिचानको सवालले पनि खुकुलो बन्दै गएको अनुभव हुन्छ। नेपाली र नेपालीहरूलाई एक सुत्रमा बाँध्ने सुत्रधार पनि हो माघेसंक्रान्ति। त्यो सुत्रलाई बलियो राखौं।
नागरिक दैनिक साभार
Facebook Comment