तराईका गाउँमा झिझिया रौनक
वीरगन्ज- दसैँको उल्लास सुरु भएसँगै मध्य तराईका बारा, पर्सा रौतहटका ग्रामीण क्षेत्रमा झिझिया नृत्यको रौनक छाउन थालेको छ। यस क्षेत्रको ग्रामीण भेगमा प्वाल पारिएका माटाका रङ्गीन घैला शिरमा सजाएका महिलाका नृत्यरत झुण्ड देखिन थालेको छ।
दसैँमा बोक्साबोक्सीको उपद्रोबाट परिवार र आफ्नो गाउँलाई जोगाउने मान्यताअनुरुप महिलाहरु यो नृत्यमा रम्ने गर्छन्। नृत्य आयोजना बोक्साबोक्सीबाट जोगिने उद्देश्यले गरिए पनि झिझियामा लोकनृत्यमा पाइने सम्पूर्ण पक्षहरु विद्यमान छन्।
शिरमा राखिएका प्वालयुक्त घैलामाथि ढकनीमा गुइठा सल्काएर नाच्ने गरिन्छ। गीत, सङ्गीत र तन्त्रमन्त्रको सम्मिश्रण भनिने यो नाच यस क्षेत्रमा खुबै लोकप्रिय छन्। गवैयाहरुको मधुर स्वर, बजनियाहरुको ताल र नर्तकीहरुको चाल देखेर जो कोही एकोहोरिन बाध्य हुन्छ, झिझियामा।
शिक्षाको विस्तारसँगै बोक्साबोक्सीको रुढिवादी भावनामा कमी आएकाले झिझियाको आयोजना खुम्चिँदै गएका छन्। ग्रामीण इलाकामा समेत अचेल उत्ति नगरिने परम्परागत यो नाचलाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई यहाँ युवाले औँल्याएका छन्।
ग्रामीण मौलिक संस्कृतिका रुपमा पहिचान बनाएको यो नृत्यको विकासका प्रशस्त सम्भावना हुँदाहुँदै पनि त्यस्ता सम्भावनाहरुको उचित पहिचान, त्यसको समयानुकूल संरक्षण र व्यवस्थापन तथा प्रचारप्रसार गर्न नसक्दा यो नृत्य ओझेलमा पर्दै गएको बताउँदै बिरञ्चीवर्वा गाविसका रामाकान्त पटेलले भने, ‘यो नृत्यको प्रवर्द्धनका लागि समाजमा जागरुकता बढाउनुपर्दछ। परम्परागत रुढिवादी परम्परामा आधारित नृत्य भए पनि अचेल पढेलेखेकाले समेत यसलाई हेर्न झुम्मिने गरेका छन्।’
घटस्थापनादेखि विजयादशमीसम्म महिलाद्वारा गरिने देवीस्तुतिको लोक परम्परा झिझिया पूर्णरुपमा तान्त्रिक विधिअनुसार गरिन्छ। गाउँकी बोक्साबोक्सी जादुमन्त्र सिकेर त्यसको सिद्धिका लागि बालबालिकालाई टुनामुना गरी मारेर मसानमा त्यही मरेको बच्चालाई जिउँदै पारी नाङ्गै नृत्य गर्ने गरेको जनविश्वास छ। झिझिया नृत्यसँगै गाइने गीतमा बोक्साबोक्सीलाई गाली गरिन्छ। बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र परिवार एवम् आफ्नो गाउँको सुरक्षा हुन्छ भन्ने विश्वाससमेत छ।
झिझियामा भगवती दुर्गाको स्तुति वर्णन, चरित्र र गाथाको गीत पनि गाइने चलन छ। झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी, व्यवसायी र पसलहरुमा गएर पूर्णाहुतिका लागि चन्दा पनि माग्ने चलन छ। कतैकतै यसको व्यावसायिकरुपमा पनि संरक्षण भइरहेको छ। रासस
Facebook Comment