घोरीघोरा कि घोडाघोडी ताल?

‘घोरीघोरा देउथान’, कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा रहेको थारू समुदायका कुल देवता राख्ने ‘मरुवा’ मा लेखिएको शब्द हो, यो। पुर्खौंदेखिको देसावर मरुवालाई सो समुदायका मानिसले घोरीघोरा देउथान नाम दिएका हुन्।

घोरीघोरा तालको नामबाट देउथानको नाम घोरीघोरा रहन गएको थारू समुदायका व्यक्ति बताउँछन्। यो समुदायले घोरीघोराका रूपमा चिनेको ताल विश्वव्यापी रूपमा घोडाघोडी तालका रूपमा परिचित छ। यद्यपि यसलाई घोडाघोडी भन्ने वा घोरीघोरा ताल, त्यो विवाद भने अझै कायमै छ।

कैलालीको मूलवासी थारू रहेको विभिन्न समाजशास्त्री, मानवशास्त्रीको अध्ययनले पुष्टि गरेको छ। यो जिल्लामा सबैभन्दा पहिले थारू बसेकाले घोडाघोडी तालको वास्तविक पहिचानको नाम थारूले भन्दै आएको ‘घोरीघोरा’ रहेको सो समुदायको जिकिर छ तर थारू शब्द घोरीघोरालाई नेपालीमा उल्था गरी घोडाघोडी बनाएर प्रचलनमा ल्याएको उनीहरू बताउँछन्।

घोडाघोडी तालको वास्तविक नाम घोरीघोरा रहेको भन्दै सो समुदायले आवाज पनि उठाए तर उनीहरूको आवाज र कोसिसले सार्थकता पाउन सकेन। शासन, प्रशासनमा थारू समुदायको प्रतिनिधित्व र पहुँच नभएकाले घोरीघोरा ताललाई गैरथारू समुदायले घोडाघोडी ताल बनाएको र त्यही नाममा कागजपत्र तयार गरेको घोडाघोडी नगरपालिकाका पूर्वनगरप्रमुख ममताप्रसाद चौधरीको ठम्याइ छ।

“घोडाघोडी हैन, घोरीघोरा ताल हो भनेर कार्यकारी भएको बेला मैले नै धेरै आवाज उठाएँ,” उनले भने, “तर, घोरीघोरा लेखाउन सकिएन। आफ्नै थातथलोमा हामी थारू अल्पमतमा पर्दै गएका छौँ। घोराघोरी नाम नगर सभाबाटै पास हुने अवस्था थिएन।”

हिन्दुको पशुपति नाथ, बौद्ध धर्मावलम्बीहरूको लुम्बिनी भने जस्तै थारू समुदायका लागि घोडाघोडी ताल पवित्र स्थान मानिन्छ। उनीहरूले घोरीघोरा देउथानमा हरेक वर्ष लवाङ्गी पूजा गर्ने र ढाक बजाउने गर्छन्। यो स्थानमा पूर्वदेखि पश्चिम कञ्चनपुरसम्मका थारू समुदायको आस्थाको ठूलो देउथान बनाउन नसक्दा थारू पहिचान गुम्दै गइरहेको बताइएको छ।

“संस्कृति तथा पर्यटन मन्त्रालयबाट बढी बजेटको ठुलो देउथान बन्नु पर्दथ्योे,” पूर्वनगरप्रमुख चौधरीले भने, “तर यहाँ विभिन्न मन्दिर, प्रतिष्ठान बनाइयो। फाइदा त्यही बनाउनेले नै लिइरहेका छन्।”

ताल रहेको क्षेत्रमा कुनै बेला सात गाउँ रहेको थारू समुदायका मानिस बताउँछन्। घनघोर वर्षापछि गाउँ सम्याएर (डुबेर) तालमा परिणत भएको उनीहरूको बुझाइ छ। सो तालमा सबैभन्दा पहिले घुम्न आउनुभएकी लक्ष्मी भगवान् घोरीको भेषमा बास बसेको बताइन्छ। त्यसपछि घुम्न आएका विष्णु भगवान्ले सुन्दर घोरी देखेपछि उनी पनि भेष बदलेर बसेको किंवदन्ती रहेको छ। सुरुको उत्पत्ति नै घोरीबाट भएकाले यो ताल घोरीघोराका रूपमा चिनिएको घोरीघोरा लवाङ्गी पूजाका संयोजक बुधराम चौधरीको भनाइ छ।

“तालको बारेमा घोरी र घोराको इतिहास नै छ,” उनले भने, “त्यसैले तालको खास पहिचानको नाम घोरीघोरा हो।” थारू समुदायले सुरुदेखि भन्दै आएको नामलाई बिगारेर अन्य समुदायले पहिचान ओझेलमा पार्न खोजिरहेको उहाँले उल्लेख गर्नुभयो। पहिचान स्थापित गर्न आफूहरूले हरेक वर्ष घोरीघोरा लवाङ्गी पूजा आयोजना गर्दै आएको चौधरीको भनाइ छ।

गोरखापत्रबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *