रेशम-रञ्जिताका विश्वास पात्र एवं नाउपाको आइटी प्रमुख यादव जेल चलान
नागरिक उन्मुक्ति पार्टीका आइटी प्रमुख जिवछ कुमार यादव जेल चलान भएका छन्। एमबीबीएसको प्रश्नपत्र लिक गरेको अभियोगमा दोषी ठहर भएपछि यादवलाई डिल्लीबजारस्थित कारागारमा चलान गरिएको हो
यादवले नागरिक उन्मुक्ति पार्टीको आइटी प्रमुख भएर काम गर्दै आएका थिए। नागरिक उन्मुक्ति पार्टीको वेवसाइट र फेसबुक, युट्युब पनि उनैले हेर्दै आएका थिए। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि सुधार मन्त्री हुँदा उनको सचिवालयमा कामसमेत गरेका थिए। पार्टीका संरक्षक रेशम चौधरीको विश्वास पात्र मानिएका यादव टीकापुरमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत चुनिएका थिए।
यादवले आफू खत्रा ‘ह्याकर’ भएको परिचय पनि पार्टीमा दिँदै आएको स्रोतले बताएको छ। यादवले जोसुकैको फेसबुक ह्याक गर्नसक्ने क्षमता आफूमा रहेको बताउँदै आएको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए। यादवको सोही दाबीका कारण पार्टी संरक्षक रेशम चौधरीले आफ्नो विरोधमा नउत्रिन उर्दी जारी गर्दै आएको बताइन्छ। ‘यादवजी ह्याकर भएकै कारण रेशमजीले पनि फेसबुक मेसेन्जरमा आफ्नो विरोध नगर्न र कुरा नकाट्न पार्टीमा उर्दी जारी गर्नुहुन्थ्यो। आफूले चाहे सबैको म्यासेज पढ्नसक्ने भन्दै उहाँले डराउनुहुन्थ्यो,’ पार्टीका एक नेताले भने।
पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीको अफिसियल भनिएको युट्युबमा पनि जथाभावी भिडियोहरू अपलोड हुँदै आएको थियो। यादवले नै युट्युबबाट पैसा कमाउने उद्देश्यले उक्त भिडियोहरू हाल्दै आएको ती नेताको भनाइ छ। ‘त्यति गर्दासमते पार्टीले त्यसबारे जानकारीसमेत लिन जरुरी ठानेन,’ थारुवानसँग ती नेताले भने।
स्रोतका अनुसार गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा यादवसहितको टिमले कम्युटर ह्याक गरी प्रश्नपत्र लिक गरेको थियो। उक्त प्रकरणमा विशेष अदालतले यादवसहित अन्य ६ जनालाई दोषी ठहर गरेको थियो। शिक्षा मन्त्रालयबाट सञ्चालन हुने एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको थियो।
Facebook Comment