उर्मिला चौधरीलाई जब अमेरिकी विदेशमन्त्री एन्टोनीले भने- तिमीले सगरमाथा चढेकी छ्यौ
घनश्याम खड्का/कान्तिपुर साभार
‘तिमीले सगरमाथा चढेकी छ्यौ?’ भेट्नेबित्तिकै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उर्मिला चौधरीलाई प्रश्न गरे।
‘मैले चढेकी त छैन, तर पढेकी छु,’ उर्मिलाले खुलस्त भनिदिइन्, ‘धेरैले सोचेजस्तो नेपाल हिमालै हिमालको देश होइन, त्यहाँ प्रशस्तै मैदानी भाग पनि छ, म त्यही मैदानमा जन्मेकी हुनाले हिमाल चढ्नै बाँकी छ।’
छोटोमा यति मीठो उत्तर दिने उर्मिलाको वाक्पटुताको ब्लिङ्केनले प्रशंसा नगर्ने कुरै थिएन। ‘तिम्रो उमेरमा म यस्तो कुरा गर्न कहाँ जान्दथेँ भनेर उहाँले धाप मार्नुभयो,’ अमेरिकी विदेशमन्त्रीसँग भर्खरै भएको रोचक भेटघाटबारे उर्मिलाले मंगलबार कान्तिपुरसँग फोन वार्तामा भनिन्, ‘अनि, मलाई साहसी केटी रहिछौ भनेर प्रशंसा पनि गर्नुभयो।’
लगत्तै, वासिङ्टनस्थित विदेश मन्त्रालयमा आयोजित भव्य समारोहमा उनै ब्लिङ्केनले उर्मिलालाई ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन–२०२४’ को विजेता घोषित गर्दै सोमबार बधाई र प्रमाणपत्र पनि दिए। त्यसअघि ब्लिङ्केनले उर्मिला कसरी यो प्रतिष्ठित सम्मानको हकदार बन्न पुगिन् भन्दै उनका बारेमा दुई हरफ जति पढे। त्यसमा उर्मिला कसरी जन्मेदेखि नै कमलरी बस्न विवश भइन् र किशोरी उमेरमा त्यसबाट मुक्त भएपछि कति सानदार प्रगति गरेर अघि बढिन् भन्ने व्यहोरा थियो।
दुःख, हैरानी अनि सफलता र आश्चर्यचकित पार्ने उपलब्धिहरूको लामो फेहरिस्त छ उर्मिलाको जीवनमा, जसलाई एन्टोनीले दुई हरफको छोटो मन्तव्य र त्यसपछि दिएको प्रमाणपत्रले विश्वभरका मानिसलाई एकै पटक थाहा दिने काम गरेको छ। गत वर्ष अमेरिकी सरकारले स्थापना गरेको यो पुरस्कार पाउने विश्वका ६ प्रथम विजेतामध्येकी एक भएकामा उर्मिलालाई बधाईको ओइरो आइरहेको छ।
‘असाधारण साहस, शक्ति, नेतृत्व, र सीमान्तकृत जातीय, र आदिवासी समुदायका सदस्यहरूको मानव अधिकारलाई अगाडि बढाउन प्रतिबद्धता प्रदर्शन गर्नेका सम्मानमा’ दिइने यो पुरस्कारका लागि संसारभरबाट सयौं मानिस मनोनीत भएका थिए। त्यसमध्ये नेपाल मात्रै नभएर, एसियाभरिबाटै यो पुरस्कार पाउने पहिलो विजेता उर्मिला भएकी छन्। उनीसँगै घाना, उत्तरी म्यासेडोनिया, मेक्सिको, बोलिभिया र नेदरल्यान्डका पाँच अधिकारवादीहरूले पनि यो पाएका छन्।
‘आज जति खुसी म कहिल्यै भएकी थिइनँ,’ पुरस्कार पाएको भोलिपल्ट वासिङ्टन डीसीस्थित परराष्ट्र मन्त्रालयको अर्को एक कार्यक्रममा जानुअघि कान्तिपुरसँगको फोन संवादमा उनले भनिन्, ‘यहाँसम्म आइपुग्छु र मेरो जीवनले यत्रो कदर पाउँछ भन्ने त सपनामा पनि सोचेकी थिइनँ।’सोच्नु पनि कसरी जब उनी बालकै छँदा नै कमलरी बनाइन पुगिन् र जीवनका १४ वर्ष दासझैं बाँच्न विवश बनिन् भने ? सानोमा खेलेको रमाइला सम्झना जसको जीवनमा पनि हुन्छन्। तर, उर्मिलाको सम्झनामा त्यस्तो कुनै खेलेको क्षण नै छैन।
‘मेरो दुधेदाँत नै म कमलरी बस्न गएको घरमा झरेको थियो,’ भन्छिन्, ‘मलाई त त्यस घरका बच्चाहरूले खेलौना खेलेको र मैले त्यो छोइदिँदा उनीहरू रिसाएर त्यसलाई फालेको मात्रै सम्झना छ, मैले कहिल्यै खेल्न पाइनँ।’
दाङको गढुवा–६ मानपुर दाङमा फूलपत चौधरी पुस्तौंदेखि कमैया भएर बसेका थिए। जसरी उनका बाबु कमैया बसेको घरमा उनी बस्न पुगे। उनी वृद्ध भएपछि त्यही घरमा उनका छोरा, पत्नी र बुहारीहरू बसे। फूलपत र उनकी पत्नी खल्सीको कान्छी छोरी उर्मिलाको कथा अरुको भन्दा के मात्रै फरक भने, अरु गाउँमै कमैया कमलरी भए, उर्मिलालाई चाहिँ काठमाडौं लगियो। काठमाडौं लैजाँदा उनलाई उनका जेठा दाजु हमराजले बोकेर राप्ती नदी तारेका थिए, किनभने त्यहाँ पुल नै थिएन। त्यसका चार पाँच वर्षपछि उनी गाउँ केही दिनका लागि फर्किन पाइन्। त्यसबेलाचाहिँ त्यहाँ पुल बनिसकेको थियो।
काठमाडौंको सम्भ्रान्त राणा परिवारमा ८ वर्ष र त्यही परिवारकी फुपूको घरमा ६ वर्ष कमलरी बस्दा उर्मिलाको खुट्टामा कहिल्यै चप्पल परेन। ‘त्यो उनीहरूका लागि घर थियो, मेरा लागि नर्क,’ उर्मिला भन्छिन्, ‘मलाई घरबाट कतै बाहिर जान दिँदैनथे, उनीहरूका लागि मैले दाल, भात, अचार र अनेकथरी तरकारी बिहानै बेलुका पकाइदिनुपर्थ्यो तर मलाई परेवालाई खुवाउने चामल खुवाउँथे।’
एक पटक उनले काम गर्दा सिसाको ग्लास फुट्न पुग्यो। ‘अब तैंले यो गिलासको मूल्य जीवनभर काम गरेर पनि चुकाउन सक्दिनस्’ भनेर मालिक्निले हपारेको अहिले पनि उनको कानमा गुन्जिन्छ।
बोलाउनेबित्तिकै उनी हाजिर हुनपर्थ्यो। नत्र पिटाइ अनिवार्य रूपले भेट्थिन् उनी। उनले एक पटक बिहान आएको अखबारका पाना पल्टाउँदा ‘काम गर्नेले छोएको के पढ्नु’ भनेर मालिक्नीले डस्टबिनमा फालेर उनलाई हप्काएको दृश्य कत्ति गरे पनि आँखाबाट ओझेल पर्दैन। त्यस्तो नर्कजस्तो ठाउँमा पनि उनकी उमेरकी त्यस घरकी एक बालिका थिइन् जो उर्मिलालाई अरु कोही नभएको मौका छोपेर ‘क ख’ कसरी लेख्ने भनेर सिकाइदिन्थिन्।
कमलरी आन्दोलन चर्केपछि र एक दिन टेलिभिजनमा दाजुलाई देखेपछि अनेक यत्नपछि मालिक्नीको घरबाट उम्किन सफल भएकी उर्मिलाले त्यतिका वर्षपछि पहिलो पल्ट चप्पल लगाउन पाइन्।
‘मैले आएदेखि गाडी पनि चढ्न पाएकी थिइनँ,’ उनी भन्छिन्, ‘१४ वर्ष काम गरेबापतको ज्याला भनूँ कि दसैं इत्यादिमा टीका लगाउँदा जम्मा भएको पैसा भनूँ, ८ सय रुपैयाँ गाडी भाडा मालिक्नीले दिइन्, त्यसैको भरमा म दाजुसँग घर पुग्दा पहिलो पटक बाआमालाई भेटेँ।’
कति फोन गर्दा पनि ‘मालिक्नी’ ले घरमा काम गर्ने कोही छैन भनेर ढाँट्ने गरेकाले घरमा आफूलाई मरिसकी छ भन्ने ठानेर माया मारिएको रहेछ भन्ने उर्मिलाले बल्ल बुझिन्। अनि, मरिसकी भन्ने छोरी आएपछि हर्ष र विस्मात्को दोभानले निम्त्याएको रुवाबासीले उर्मिलालाई जीवनमा आफ्ना भन्नेहरू पनि छन् नि भन्ने सन्तुष्टिले पहिलो पटक खुसी दियो। २०६३ को माघीको दिन थियो त्यो। २०५७ सालमा सरकारले कमैयाहरूलाई मुक्त घोषणा गरे पनि कमलरीहरू राखिने क्रमको अन्त्य भएको थिएन। गाउँमा आफूजस्ता किशोरीहरू त्यसको विरोधमा लागेको देखेर उर्मिलाले पनि सक्रिय आन्दोलन गरिन्। छिट्टै नै उनले के थाहा पाइन् भने, १३ हजार कमलरीहरू उद्धार गरिएका रहेछन् त्यस वर्ष।
‘हामी सबलाई प्लान इन्टरनेसनलले ब्रिज कोर्स गराएर पढ्न लेख्नमा सहभागी गरायो,’ उनी भन्छिन्, ‘त्यसपछि म एकैपल्ट पाँच कक्षामा भर्ना भएँ।’ हरेक वर्ष उनले कक्षा टप गरिन्। उनको यो प्रखर बुद्धिमत्ताले छिट्टै नै चर्चा पायो। अंग्रेजी विषय लिएर प्लस टुमा पढ्दै गर्दा १२ वर्षअघि उनी राष्ट्रसंघले सुरु गर्न लागेको पाँच वर्षीय अभियान ‘बालिका भएकीले’ को उद्घाटनमा अमेरिका पुग्ने अवसर पनि उनलाई मिलेको थियो। त्यसपछि उनीमाथि जर्मन वृत्तचित्र निर्देशक सुजन ग्लुथले डकुमेन्ट्र बनाए, ‘माई मेमेरी इज माई पावर’ जो सन् २०१६ मा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु सिनेमाको प्रतिस्पर्धामा उत्कृष्ट पुरस्कृत भएको थियो।
‘त्यो हेर्न मलाई कखरा सिकाउने त्यस राणा परिवारकी नानी पनि आएकी थिइन्, पर्दामा मेरो जीवन कथा देखेपछि उनले पछुतो मानिन् र आफूले त्यो नजानेर गरेको व्यवहार थियो भनिन्,’ उर्मिला भन्छिन्, ‘नानी त पहिलेदेखि नै मलाई राम्रो व्यवहार गर्ने मानिस हुन्, तर त्यस घरका अरु कसैले मलाई कहिल्यै राम्रो गरेनन्, पछि मैले काम गरेको ज्याला देऊ भनेर दुई/तीन पटक फोन गर्दा पनि उल्टै नराम्रोसँग हप्काए।’
प्लस टु सकेपछि उनी हाल काठमाडौं स्कुल अफ लमा बीएएलएलबीको पाँचौं तथा अन्तिम वर्षको अध्ययनलाई अघि बढाइरहेकी छन्। आफूलाई नारकीय जीवनमा घचेट्ने सम्भ्रान्त परिवारका सदस्यको नाम लिएर सार्वजनिक बेइज्जती गर्न मन नभएको उनले बताउँदै आएकी छन्।
‘मेरो लडाइँ व्यक्तिसँग होइन, एउटा जातिलाई नै दास बनाउने राज्यको नीतिसँग हो,’ उनी भन्छिन्, ‘त्यसबेला हामी र हाम्रा पुर्खाहरूलाई सबै पेसा र ओहदाका ठालुहरूले कमाराकमारी बनाएर पुस्तौंपुस्तासम्म राखे, यसको हिसाब व्यक्तिले होइन, राज्यले दिनुपर्छ, एकमुष्ट।’ त्यो ज्याला नदिने घरभेटीसँग त्यसैले उनलाई रिस छैन। उनले छोएको पत्रिका डस्टबिनमा फाल्ने ती प्रसिद्ध परिचय भएकी मालिक्नीको आयु लामो होस् भन्ने उनको कामना छ। ‘यो ऐतिहासिक अन्यायको क्षतिपूर्ति व्यक्तिले गर्न सक्दैन, राज्यले नै गर्नुपर्छ,’ एक अधिवक्ताको जीवन सुरु गर्ने संघारमा रहेकी उर्मिला भन्छिन्, ‘त्यसैले म उनीहरूसँग प्रतिशोध लिन चाहन्नँ, यद्यपि मलाई उनीहरूसँग अझै पनि डर लागिरहेको छ।’
यति परिपक्व दृष्टिकोण र मेधावी पढाइ भएकी उर्मिलालाई नेपालस्थित अमेरिकी राजदूतले उक्त पुरस्कारका लागि छनोट गरेको थियो। त्यसका लागि अन्तिम मनोनीतहरूको सूचीमा आफू परेको खबर उर्मिलाले भदौको अन्त्यतिर थाहा पाएकी थिइन्।
‘ल बधाई छ, तपाईं छनोटमा पर्नॅभएको छ’ भनेर काठमाडौंस्थित दूतावासबाट फोन आउँदा उर्मिला कोहलपुर मेडिकल कलेजको आईसीयू वार्डमा थिइन्। उनका ८१ वर्षीय पितालाई गोरुले हानेर गम्भीर घाइते बनाइदिएको थियो र उनी उपचारका लागि खटिएकी थिइन्। आईसीयूमै उनले आफू अमेरिकी सरकारले दिने पुरस्कारका लागि मनोनीत भएको खबर बाबुलाई सुनाइन्। ‘त्यस्तो घाइते अवस्थामा पनि उहाँ खुसीले मुस्कुराउनुभएको थियो,’ उर्मिला भन्छिन्, ‘तिमी अमेरिका गएपछि मलाई प्लेनको फोटो खिचेर देखाउनु है भन्नुभएको थियो, तर मैले फोटो देखाउनै पाइनँ, उहाँलाई हामीले बचाउन सकेनौं।’
छोरीले विश्वभरका मानिसहरूबाट छानिएर पाएको सम्मान देख्ने ३६ दिनअघि नै फूलपतले प्राण त्यागिसकेका थिए। आफ्नो बारे देखाइएको वृत्तचित्र हेर्न पहिलो र अन्तिम पटक जीवनमा सबभन्दा टाढा काठमाडौंको यात्रा गरेका बाबु फूलपतलाई जहाजको फोटो होइन, जहाज नै चढाउँला भन्ने उर्मिलाको मनमा थियो। ‘तर, त्यो धोको मनमै रह्यो’ अमेरिकादेखि उनले बाबुलाई सम्झिइन्, ‘मेरा बाले पूरा जीवन कमैया भएर बिताउनुपर्यो, र यो अन्याय भोग्न बाध्य हुने उहाँ एक्लो हुनुहुन्नथ्यो, यसको हिसाब राज्यले आज नभए भोलि दिनै पर्नेछ।’
Facebook Comment