थारूको दसैं, सखियाको ‘पैंयाँ’ले गुन्जियो गाउँबस्ती

अविनाश चौधरी/गोरखापत्र
धनगढी उपमहानगरपालिका-५. जाईगाउँकी दीपिका चौधरी कक्षा ८ मा पढ्नुहुन्छ। दोस्रो त्रैमासिक परीक्षा सकिएलगत्तै स्कुलको पोसाक छोडेर उहाँ आफ्नो थारू समुदायको मौलिक पोसाक गोन्या, चोल्यामा सजिएर सखिया नाचको ‘पैंयाँ मा सामेल हुनुभएको छ। “सखिया नाच नाच्दा मलाई धेरै राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “किनभने यो हाम्रो समुदायको संस्कृति हो । यसलाई हामी युवापुस्ताले जोगाउनु पर्छ ।”

सोही गाउँकी गरिमा पनि कक्षा ७ को परीक्षा सकेर सखिया नाच्ने कार्यमा सहभागी हुनुभएको छ । सानैबाट सखिया नृत्य सिकेको जनाउँदै उहाँले २०/२५ खोट नाच्ने गरेको उल्लेख गर्नुभयो । जाईगाउँका दीपिका र गरिमाको जस्तै थारू समुदायका धेरै महिला अहिले सखियाको पैंयाँमा सामेल भएका छन्। दसैंको रमझमसँगै थारू बस्तीमा मौलिक सखिया नाचको रौनक बढेको हो । थारू समुदायको बसोबास रहेको कतिपय गाउँ अहिले सखिया नाचले गुल्जार बनेको छ । सखियाको पैंयाँ लाग्ने मादल र मजिराको आवाजले बस्ती गुञ्जिएका छन् । हरेक वर्ष दसैँमा सखिया नाच नाच्ने गरेको देउमती चौधरीले बताउनुभयो । उहाँले थारू समुदायमा खास गरेर अवारी पर्वपछि सखिया नाच्ने चलन रहे पनि कार्यव्यस्ततालगायत विभिन्न कारणले अचेल दसैंको बेला मात्रै नाचिने गरेको उल्लेख गर्नुभयो ।

महिलाले गीत गाउँदै मादलको तालमा सखिया नाच नाच्ने गर्दछन् । सखी सखी (साथी साथी) मिलेर सामूहिक रूपमा नाच्ने गरेका कारण यो नाचलाई सखिया भनिएको देउमतीको भनाइ छ । सखिया नाच्दा गाउँ चम्पन हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

कृष्णलीलामा आधारित गीत गाएर सखिया नाच नाच्ने गरेको महिलाले बताएका छन् । आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउनका लागि आफूहरूले सखिया नाच्ने गरेको जाईकी दिलमाया चौधरीले बताउनुभयो । “यसो गर्दा रमाइलो पनि हुन्छ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि,” उहाँले थप्नुभयो, “हामी जानेकाले नै नयाँ पुस्तालाई सिकाउने हो । त्यो काम हामीले गरिरहेका छौं।”

नयाँ पुस्तालाई सखिया नाच सिकाउनका लागि वयस्क किशोरी बालिका सबै मिलेर एकसाथ नाच्ने गरेका छन् । यो नाचमा सुरुमा गीत गाउने र त्यसपछि पैंयाँ लाग्ने गरेको २०४८ सालदेखि सखिया नाचमा मादल बजाउँदै आएका रामप्रसाद दहितले बताउनुभयो । उहाँले सखिया नाचको धेरै ‘खोत’ रहने गरे पनि जाने जतिमा मात्रै आफूहरूले नचाउने गरेको उल्लेख गर्नुभयो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *