ढल्केवरमा बृहत् खुला झिझिया प्रतियोगिता हुने

धनुषाको ढल्केवरमा बृहत् खुला झिझिया प्रतियोगिता हुने भएको छ। दसैंका अवसरमा ढल्केवर दुर्गा पूजा मेला समितिले असोज १७ गतेदेखि २७ गतेसम्म झिझिया प्रतियोगिता आयोजना गर्न लागिएको हो।

मधेसको मौलिक परम्पराको प्रवर्द्धनका लागि झिझिया प्रतियोगिताको आयोजना गरिएको ढल्केवर दुर्गा पूजा मेला समितिका अध्यक्ष सन्तोष कुमार महतोले बताए। उनका अनुसार मधेसको एक सांस्कृतिक लोक नृत्य रहेको झिझिया प्रतियोगिताका लागि अहिले झिझिया टिमहरूको नाम दर्ता गर्ने कार्य भइरहेको छ।

१० दिनसम्म चल्ने प्रतियोगिताका विजेतालाई ३१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष महतोले बताए। उनले द्वितीय पुरस्कार २१ हजार र तृतीय पुरस्कार १५ हजार नगदको व्यवस्था रहेको जनाए।

प्रतियोगितामा सहभागी अन्य टिमहरूलाई सान्त्वना पुरस्कारको व्यवस्था समेत गरिएको समितिका महासचिव तीर्थप्रसाद सिंहले जानकारी दिए। उनले प्रतियोगितामा भाग लिन चाहने टिमहरूले असोज १७ गतेसम्म नाम दर्ता गराउन सकिने उल्लेख गरे।

ढल्केवरमा दसैं अवधिभर भव्य मेला महोत्सव लाग्दै आएको छ। यसवर्ष विगतको भन्दा अझ भव्य मेला लगाउने गरी आफूहरू तयारीमा जुटेको मेला समितिका सचिव राकेश सिंहले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *