१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने

नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्।

भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भारतीय दूतावासका अनुसार भारतले ओखलढुङ्गाको सिद्घिचरण नगरपालिकाको राज्यलक्ष्मी माध्यमिक विद्यालय र मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालयको भवनको निर्माण, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन निर्माण, दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको निर्माण, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको भवन निर्माण, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माण, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवनको निर्माण, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु-हुलु खानेपानी आयोजनाको निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको निर्माण, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको लागि भवन निर्माण, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी-प्रसुति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप-महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माणमा उक्त रकम खर्च गर्ने छ।

परियोजनाहरूको नेपाल सरकारका स्थानीय निकायहरूमार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ। यी परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरू उपलब्ध गराउन मद्दत गर्ने भारतीय दूतावासले जनाएको छ।

सन् २००३ यता भारतले नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ। भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिंचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माणजस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरू सम्पन्न गरिसकेको भारतीय दूतावासको भनाइ छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *