भारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन
भारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत ४ करोड २६ लाख लागतमा निर्मित भवनको बुधबार भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन्।
कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो। अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको भारतीय दूतावासले जानकारी दिएको छ। भारत सरकारको सहयोगलाई सहभागी प्रतिनिधिहरूले प्रशंसा गरेका थिए।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। जसमा ४९० वटा परियोजना सम्पन्न भएका छन्। यीमध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन्।
Facebook Comment