चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : सभापति यादव
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा राजदूत सोङको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको यादवले बताए ।
हराएका बसु र यात्रुहरू खोज्न भारतबाट आएको गोताखोर टोलीका बारेमा राजदूत सोङले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको यादवको भनाइ छ । ‘भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘यसलाई उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागू गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो ।’
नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदूतलाई हुने भन्दै यादवले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए । यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने यादवको विश्लेषण छ । ‘नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ । त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ, यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन,’ यादवले भने, ‘एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ ।’
राजदूत सोङले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको यादवको टिप्पणी छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको बताए । समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने उनको भनाइ छ । ‘परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दैछ, आगामी बैठकमा हामीले त्यो सम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्व कर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरूले यसरी टिकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन,’ यादवले भने, ‘यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा बुझेका छौँ ।’
नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदूतहरूले हस्तक्षेप गर्ने कुरा सह्य नहुने यादवले बताए । मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने उनको भनाइ छ । ‘यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनै पनि देशको राजदूतलाई हाम्रो आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने, निर्देशन दिनेकुरा सह्य हुँदैन । यो भयो भने अरु देशका राजदुतले यसो गर् उसो गर् भनिरहन्छ,’ यादवले भने, ‘त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’
Facebook Comment