नेपालमा बोलिने थारू भाषामा कति समानता छ? यस्तो छ थारू विज्ञको अनुसन्धान

डा. रामबहादुर चौधरी/उप-प्रा. महेश कुमार चौधरी

थारु शब्दले दुईवटा अर्थ दिने गर्दछ- एक थारु जाति र दोस्रो थारु भाषा । थारुहरु बसोबास गर्ने क्षेत्रलाई थरुवान वा थरुहट भनिन्छ । समाजशास्त्री विष्ट (१९६७) का अनुसार थारुहरु तराई क्षेत्रको सबैभन्दा पुरानो आदिवासी हुन् थारुहरु नेपालका मूलबासी तथा आदिवासी हुन् (पाण्डे, २०४५) खराल (२०६४) का अनुसार काठमाडौंको चापागाउँको शिलालेखमा ६०५ इस्वी ‘स्थारुद्रङ्ग’प्रष्टरुपमा लेखिएको छ जसको अर्थ हुन्छ थारु गाउँ । यो शब्द शिवदेव पहिलो अर्थात ५९० संवतमा लेखेको कुरा हो । क्रुस्कौफ़ (१९९५) ले के भनेका छन् भने आर्यनहरु आउनुभन्दा पहिले थारुहरु भारतीय दिपमा बस्ने गर्दथे रमानन्द प्रसाद सिंहले पनि थारुहरूको उत्पत्ति नेपालमै भएको हो भन्नेकुरा दाबी गर्दछन् (१९८८) । नालन्दा विश्वविद्यालयका प्रोफेसर पद्मसम्भव काठमाडौँ भएर तिब्बत जाने क्रममा थारु राज्य रहेको भनेर आफ्नो यात्रा संस्मरणमा लेखेका छन् (पौड्याल, २०१३ ) । समाजशास्त्री विष्टका अनुसार यदि थारुहरु थार मरुभूमिबाट नेपाल आएका भए उनीहरु बाटोमा पर्ने उब्जाउ तथा मलिलो गंगा र यमुना नदीको तटमा बस्ती बसाल्ने थिए (चौधरी, २०६५) ॥ इटालीका वैज्ञानिक मोडीयानो लगायत (१९९१) तथा साकाई लगायत (२०००) ले गरेको अनुसन्धानले थारुहरुमा पाइने अल्फा थालासेमिया जिनले के देखाउँछ भने थारुहरु हजारौं वर्षदेखि यो ठाउँमा बस्दै आएको हुनुपर्छ । किनकि जिन परिवर्तन हुनको लागि हजारौं वर्ष लाग्छ, कम्तिमा २५०० बर्ष ] ‘नेपालका राजाहरु तथा तराईका थारु’ भन्ने पुस्तकमा लालमोहर तथा स्याहा मोहरको बारेमा उल्लेख गरिएको छ जुन थारुहरुलाई विभिन्न समय कालखण्डमा राजाहरुद्वारा दिइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने इतिहासको कुनै कालखण्डमा थारुहरुको सम्बन्ध राज्यसँग निकै राम्रो थियो । थारुहरु अति नै इमान्दार आफ्नो काम राम्रोसँग गर्ने जाति हो । गुनरत्ने (२०२२) ले हन्टर (१८७७) लाई आधारमानी के लेख्दछन् भने चम्पारणमा खेती गर्ने पहिलो जाति थारुहरु थिए र उनीहरु मिलनसार थिए । उनले डोन (२०१६) को भनाईलाई उद्धृत गर्दै के लेख्दछन् भने १९९२ सम्ममा राजस्व तिरेको तिरो हेर्दा दाङ देउखुरी उपत्यकामा थारुहरुको आफ्नै जमिन थियो । तर १९६० तिर बहुसंख्यक पहाडीहरु जमिनका मालिक भए।

नेपालको राष्ट्रिय जनगणना २०७८को अनुसार नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ र राना थारु ८३,३०८ समेतलाई जोड्दा १८,९०,४३२ अर्थात् नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को ६.४८ प्रतिशत छ । यो जाति नेपालको चौथो ठूलो जातिय समूह हुन् ।

थारुहरु नेपाल तथा भारतमा छरिएर रहेका छन् । राना थारुहरु नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका छन् भने भारतको उधमसिंह नगर जिल्ला, उत्तराखण्ड र उत्तर प्रदेशमा बसोबास गर्दै आइरहेका छन् दङ्गौरा थारुहरू नेपालको दाङ देउखुरी, बाँके बर्दिया कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गरेको देखिन्छ । पस्चुहान (पश्विमा) थारुहरु रुपन्देही र नवलपरासी जिल्लामा, रौटार थारुहरु रुपन्देही र नवलपरासी जिल्लामा, पुर्वाहा थारुहरु रुपन्देही र कपिलवस्तु जिल्लामा, चित्वनिया थारुहरु सिन्धुली, चितवन र नवलपरासी जिल्लामा, कोचिला थारुहरु सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र उदयपुर जिल्लामा, मोरङ्ग्या थारुहरु मोरङ जिल्लामा, कठरिया कैलाली जिल्लामा तथा भारतको केही जिल्लाहरुमा, सोन्हाहरु सुर्खेत र कैलाली जिल्लामा बसोबास गर्दै आई रहेका छन् ११/२९/२०१९) ॥ थारुहरु बिबिधतामा एकताको प्रतीकको रुपमा रहेका छन् । उनीहरु नेपालको जुनसुकै भूभाग वा जुनसुकै देशमा बसोबास गरेता पनि गर्वका साथ थारु भन्न रुचाउंछन् त्यसैले त ‘मेनी टङ्स वान पिपल’ जस्ता पुस्तक प्रकाशित भए।

२. जीवन संस्कार र संस्कृतिमा प्रयोग हुने शब्दहरु

क. जन्म संस्कार

थारु समुदायको जन्म संस्कारमा प्रयोग हुने दश वटा अधार शब्द लिई ६८ वटा शब्दहरु संकलन गर्दा ‘सॉरी’ शब्द सबैले अर्थात १००% ले प्रयोग गर्दा रहेछन् । ‘पुरैन’ शब्द ८६% ले प्रयोग गर्दा रहेछन् 1 ‘ढिर्हार’ शब्द ८६% ले प्रयोग गर्दा रहेछन् । ‘ढोहीं’ ७९%, ‘छैठी’ लगभग ८६%,’ छुटिहा’ ५७%, ‘सुनपानी’ ७१% ‘सौर्हिया’ ५७%, ‘बोरैस’ ५७% ‘पस्गा’, शब्दहरु नमिलेको यी शब्दहरुमा समानता के छ भन्ने आगो २४औ घन्टा बलिरहन्छ । सुत्केरी कोठामा पसे छोइछिटो लाग्ने हुन्छ भने सुन पानी/पाईनले चोखिनु पर्ने हुन्छ, र सबैतिरका थारु समुदायमा सुत्केरीमा बसेको महिलाले चौखो नहुन्जेलसम्म दिसा पिसाव सौरी घरभित्रै खाल्डोमा गर्ने चलन अझै देखिन्छ । सौरी घरभित्र पस्नु पर्यो भन्ने आगोमा लुगा टकटकाइर मात्र छिर्ने चलन देखिन्छ।

ख. विवाह संस्कार

थारु समाजमा विवाह संस्कारमा प्रयोग हुने १३ वटा अधार शब्द लिई ९१ वटा शब्दहरु मध्ये ‘घर देख/ हेर’ १००%,लगन ८६%,’ पक्का’ ७१%, ‘बेना’ १००%, ‘सन्दुख’ १००%, ‘बरयाति’ १००%, ‘नेता’ १००%, ‘भन्सिया’ १००%, ‘गौनरि/गोनैर’ ५७% मौर, मुडेथा, पगिया र फेटा जस्ता शब्दहरु नमिलेको जस्तो देखिए तापनि अन्य अन्य प्रयोजनमा ती शब्दहरुको प्रयोग भएको देखिन्छ, र सजिलै बुझिन्छ जस्तै कुनै ठाउँको दुल्हाले ‘फेटा/पगरी’ नलगाए पनि अन्यबेला फेटा लगाउने गरिन्छ । थारु समुदायको विवाह संस्कारमा छोरी चेलीबेटीलाई सन्देशको रुपमा हाते पंखा ‘बेना’ र गुन्द्री ‘ गोनरी / पटिया’ दिएर पठाउने रीति रहेको देखिन्छ।

ग. मृत्यु संस्कार

थारु समुदायमा मृत्यु संस्कारमा प्रयोग हुने १० वटा अधार शब्दहरु लिई ६८ वटा शब्दहरु मध्ये ‘मटियाई’ ८६%, ‘साँठ ‘५७%, ‘कफन’ ८६%, ‘मरघट’ ७१%, ‘लौवा’ ५७% ‘सोन पानी’ ५७%, ‘घाट’ ८६% र ‘नोहकेस’ पुर्वदेखि पश्चिम बारा पार्सासम्म प्रयोग भएको देखियो भन्ने ‘खौरबार’ चितवन भन्दा पश्चिम प्रयोग गरेको देखिन्छ भन्ने चितवनमा ‘मुडोनी’ प्रयोग गर्दछन् । जसले जहाँ जे प्रयोग गरेता पनि उक्त कार्यमा सबै ठाउँमा कपाल खौरिने र नङ काट्ने कार्य गरिन्छ । पुर्वतिरका थारुहरुमा दाह संस्कार गरी फर्किदा दागबत्ती दिने व्यक्तिले बन्चरोले ‘घाटमार्ने गर्दछ भने पश्चिमतिर कोदालो वा अन्य फलामको औजारले घाटमार/नघाँन गर्ने गरेको पाइन्छ।

घ. पुजापाठ संस्कारमा थारु भाषाको प्रयोग

थारु समाजमा पुजापाठ र संस्कारमा प्रयोग हने १० वटा अधार शब्दहरु लिई ६७ वटा शब्दहरु मध्ये ‘डिहवार’ ५७%,’देउता घर/गोसाई घर’ ५७%’, थान’ ५७%, ‘सिनुर’ १००%, ‘आछत/अछत’ १००%, ‘मन्तर’ १००%, गुर्वा’ ७१% र पुर्वदेखि पश्चिम बारा पर्सासम्म ‘पन्थ’ र चितवन भन्दा पश्चिममा ‘सुसवाइ/कुडे/टोक्टा’ प्रयोग गर्दछन् भन्ने चितवनमा देउता उथलको प्रयोग गरिन्छ । शब्द नमिलेपनि पुर्वदेखि पश्चिमसम्मका सबै थारुहरुले आफ्नो देवि देवतालाई रक्सी/पानी/जल चढाएको देखिन्छ । चितवनमा ‘आ’ लाई ‘या’ भन्ने चलन हुनाले आछतलाई ‘याछत’ भनिएको हो भन्ने पश्चिमतिर ‘त’ को ठाऊँमा ‘ट’ भएकोले आछतलाई आछट भनिइको भेटिन्छ।

ङ. चाडपर्वहरुमा थारु भाषाको प्रयोग

थारु समुदायमा चाडपर्व संस्कारमा प्रयोग हुने १० वटा आधार शब्दहरु लिई ५४ वटा शब्दहरु मध्ये ‘दुरेहरी/होरी/फगुवा’ लगभग चारैतिर प्रयोग गरेको पाईन्छ, भन्ने ‘तिलासन्कराइत’ पुर्वदेखि बारा पर्सासम्म अनि चितवनमा ‘खिचरा’ र चितवन भन्दा पश्चिममा माघ प्रयोग गरेको देखिन्छ । ‘बगिया’ पुर्वदेखि बारा पर्सासम्म र ‘ढिक्रि’ चितवन भन्दा पश्चिम अनि चतवनमा ‘नक्गर रोटी’ प्रयोग गरिन्छ । अनि ‘बरत / बरट’ को प्रयोग करिब करिब ८६% भएको पाईन्छ । ‘अटबारी’ ५७%,जितिया/दियावती/सोर्हाई/देवारी पुर्वदेखि पश्चिम चितवन सम्म माएको देखिन्छ भन्ने गुर्हिर अनट्टा पश्चिमका थारुहरुमा देखिन्छ । बर्त/बरत मा कसैले ‘ट’ कसैले ‘त’, कसैले आधा ‘र’ कसैले पुरा ‘र’ प्रयोग गरेको भेटिन्छ होइन भन्ने ती शब्दहरु उही हुन्।

च. थारु नाचगानमा थारु भाषाको प्रयोग

थारु समाजमा नाचगानमा संस्कारमा प्रयोग हुने १२ वटा आधार शब्दहरु लिई ८३ वटा शब्दहरु संकलन गर्दा मिर्दङ् शब्द पुर्व देखी पश्चिम पर्सासम्म मानरी चितवनमा र मन्ड्रा चितवनभन्दा पश्चिम तिर प्रयोग गरेको देखिन्छ । रझठ्या र कठरियाले मनड्रा बजाउने मान्छेलाई मिर्दङिया भनेको हुनाले उनीहरुले मादललाई मिर्दङ भनेको हुनू पर्छ । यसरी हेर्दा मिर्दङ र मिर्दङिया शब्द ८६ % प्रयोग भएको देखिन्छ । ८६% ले मंजिराको प्रयोग गर्दो रहेछ, गाजाबाजाहरु प्रायः एउटै शब्दबाट इङ्गित गरिन्छ । सुदुर पश्चिमतिरका थारुहरुले ‘किर्तनिया’ नाच्ने व्यक्तिलाई सम्बोधन नगरे पनि केटिहरुको नाच राख्न सो शब्द प्रयोग गरेको भेटिन्छ । बर्मासा/बर्मस्या लगभग १००%, झुमरा लगभग १००%, डफ १००%, डफली १००%, मंजिरा ८६%।

छ. नाता गोतामा थारु भाषा को प्रयोग

थारु समाजमा नातागोता संस्कारमा २० वटा आधार शब्दहरु लिई १४० वटा शब्दहरु मध्ये ५७% ‘नना/नानी,बाप/बापु ‘५७%,’डाइ’ ५७%, ‘बेटा’ ५७%, ‘बेटी’ ५७%, ‘पोता’ ५७%,’नाति/नटिन्या’ 57%, ‘कका/काका’ १००%, ‘काकी’ १००%, ‘ससुर/ससुरवा’ ८६%, ‘सम्धी’ १००%, ‘सम्धिनिया’ १००%, ‘दमाद’ ७१%, पुतौह/पटुहियामा थौरे फरक देखिन्छ। दादामा १००%,भाइमा ५७%, दिदीमा ५७%, बहिनमा ७१% प्रयोग भएको देखिन्छ । थारु समाजमा सम्बोधन गर्दा एक खालको र परिचय गराउँदा अर्कै खालको शब्द प्रयोग गर्ने गरेको पाईन्छ, जस्तैः ससुरालाई सम्बोधन गर्दा बाबु/ठाकुरजीले गरिन्छ भन्ने,परिचय गराउँदा ‘ससुर/ससुर्वा शब्दको प्रयोग गरेको देखिन्छ ।

ज. खानपान र परिकारमा भाषाको प्रयोग

थारु समाजमा खानपान र परिकारमा प्रयोग हुने १६ वटा शब्दहरुलाई आधार लिई १०७ वटा शब्दहरु मध्ये’ चट्टनी’ १००%,’ साग/सागा’ ७१%, ‘तेल रोटी’ सबैले प्रयोग गरेको देखिन्छ। झोर १००%, ‘घोङही/घोङ्घी’ १००%, ‘सिधरा’ ५७%, ‘सुखटी’ र ‘सुकुटी’ ५७%, ‘कलुवा/कलु’ ५७% । कतै बिहानको खानालाई ‘कलवा/कल्लु’ भन्छन् भने कतै दिउँसोको खानालाई कलौवा भन्छन् । कतै रातिको खानालाई ‘बेरी’ भन्छन् भने कतै दिउँसोको नास्तालाई ‘बेरी-पहर’ भनिन्छ ।

निष्कर्ष/सुझाव

भाषा अथवा भाषिक समानता वा भिन्नता देखाउन प्रायः २ वटाको तुलना गरिन्छ तर यहाँ ७ वटा थारु भाषाका प्रकारहरुलाई लिइएको छ, जुन एकदमै कठिन कार्य हो । समयको पाबन्दीलाई मध्यनजर गर्दै ७ वटा प्रकारहरुलाई लिइएको हो । भाषा बिज्ञान अनुसार समानता वा भिन्नता देखाउँदा प्राय ७०% पारस्परिक बोध गम्यता (mutual intelligibility) भएमा एउटै प्रकार मानिन्छ र कम भएमा फरक फरक भाषा हुन जान्छ । तर समाज भाषा बिज्ञान अनुसार यहि नै अन्तिम सत्य होइन। थारु भाषाको प्रकारहरु हेर्दा भाषा बिज्ञान र समाज भाषा बिज्ञान दुवै तरिकाले हेर्नुपर्ने हुन्छ । जस्तै इटालियन र स्प्यानिश भाषा हेर्दा ७०% भन्दा बढि पारस्परिक बोध गम्यता देखिएता पनि उनीहरु बेग्लै भाषा भएको दाबी गर्दछन । अर्को तर्फ चाइनिजहरुमा ७०% भन्दा कम पारस्परिक बोध गम्यता देखिएता पनि उनीहरु एउटै भाषा हो भनि दाबी गर्छन् र मान्छन्।

यो अध्यनमा थारु संस्कार र संस्कृतिमा प्रयोग हुने थारु भाषाका ६७८ वटा शब्दहरु संकलन गरिएको छ र तिनीहरुबीच तुलनात्मक अध्ययन गरी निष्कर्ष निकालिएको छ ।

नातागोता सम्बोधनमा प्रयोग हुने शब्दहरु अत्यधिक रुपमा एकरुपता देखियो । नाचगानमा, खानपानमा, बिवाह संस्कारमा प्रयोग हुने शब्दहरु धेरै अर्थात् पारस्परिक बोध गम्यता राम्रो देखिन्छ। तर चाड पर्वमा भने भिन्नता बढि देखिन्छ । हुनसक्छ नयाँ नयाँ चाड पर्बहरु अन्य समुदायबाट नक्कल गरेको हुनाले समुदाय फरक परेकोले भाषा पनि फरक पर्न गएको होला ।

> पुरानो शब्दहरुलाई केलाउनु पर्ने ।

> थप अध्ययनको जरुरी ।

> विषयगत प्राज्ञिक व्यक्तिहरुको प्राज्ञिक समुहको खाँचो ।

> थारु भाषिक सर्वेक्षण हुनु नितान्त जरुरी ।

> सरकारबाट भाषिक नीति अविल्म्व आउनु पर्ने ।

> थारु भाषाको वर्ण निर्धारण तथा लेखनशैली पर्ने I

> थारु मानक शब्दकोशको निर्माण कार्यको लागि सरोकारवालाहरुले पहल गर्नु पर्ने ।

> थारु मानक व्याकरण निर्माणमा जोड दिनु पर्ने ।

> थारु भाषाको पाठ्यक्रम, पाठ्यपुस्तकहरु, निर्माण र हरेक थारु बाहुल्य विद्यालयहरुमा लागु गर्नु पर्ने । थारु भाषालाई संचारको क्षेत्रहरु जस्तैः रेडियो, टेलिभिजन, पत्र- पत्रिका, अनलाईन डिजिटल मेडियाहरुमा प्रयोगको लागि जोड दिनु पर्ने ।

> थारु कल्याणकारिणी सभाले थारु भाषामा अनुसन्धानमुलक पत्रिका अर्द्ध वा वार्षिक रुपमा निकाल्नु पर्ने ।

सन्दर्भ सामाग्रीसूची

  • क्रस्कोफ, & मेयर (२०५८). नेपालका राजाहरु तथा तराईका थारु नेपाल एन्ड असियाटिक रिसर्च सेन्टर, टियु, किर्तिपुर ।
  • क्राउस्कोफ,जी(२०११). थारुहरुको मानवविज्ञान, एक एनोटेट ग्रन्थसूची, CNRS, पेरिस।
  • खनाल, जी.पी. (२०६४). थारु भाषाका प्रमुख भाषिका र उप- भाषिका. हमार यागुवा- १
  • गुनेरत्ने, अर्जुन (२००२). धेरै भाषाहरु, एक व्यक्ति, नेपालमा थारु पहिचान निर्माण. कोर्नेल युनिभर्सिटी प्रेस, इथाका एन्ड लन्डन ।
  • चौघरी, भोलाराम,(२०५९), थारु व्याकरण, बुढीगंगा गाउँपालिका, मोरङ्ग ।
  • चौधरी, ह्दय (२०४६), “थारू व्याकरण”. थारु कल्याण कोष सूर्य टोबाको लि. सिमरा, बारा ।
  • चौधरी, महेश,र सर्वहारी, कृष्ण (२०६८). थारु भाषा सिकौन (थारु भाषा सिकी). साझा प्रकाशन,पुलचौक काठमाण्डु ।
  • चौधरी, एम.के. (२००५). ‘सप्तरिया थारु भाषाको एक संक्षिप्त व्याकरण’ एमए थीसिस, टी. यू ।
  • थारु, फनिश्याम,(२०६९), थारु लोक संस्कृति र चाडबाड, नेपाल प्रज्ञा प्रतिष्ठान ।
  • थारु भाषा साहित्य,नेपाल (२०८०). थारु नेपाली- अङ्ग्रेजी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिषठान सानेपा, ललितपुर, नेपाल ।
  • दहित,गोपाल.(२०५४). थारु – नेपाली – अङ्ग्रेजी शब्दकोश, सामुहिक युवा कल्वनयाँ गाउँ-८, बर्दिया, नेपाल ।
  • पाण्डे,आरके (२०४५/४६). नेपाल परिचय. आठराई ईन्टरप्राजेज, पुतलीसडक, काठमाडौं।
  • पौडयाल,केपी (२०१३). चितौनिया थारुको व्याकरण, (अप्रकाशित पीएहडी थेसिस), त्रि.वि.,नेपाल
  • योगी,एन.(२०२२). इतिहास प्राश सन्धि पत्र सङ्ग्रह भाग एक, काठमाडौं ।
  • मोडियानो, लगायत (१९९१). रोग विरुद्ध संरक्षण नेपाली जनसंख्यामा थालेसेमिया जीनको निकट निर्धारण.अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्स, ४८(२),३९०-७|
  • विष्ट,डोर(१९६७).नेपालका जनता प्रथम संस्करण. डिपार्टमेन्ट अफ पब्लिसिटी HMGI
  • हन्टर,वि. (१८७७). अ स्टाटिस्टिकल अकाउन्ट अफ बेन्गाल भो.१३.तिर्हुत र चम्पारण. लन्डन, टरुब्नेर ।
  • सकाइ, लगायत (२०००). नेपालमा अल्फा-थ्यालेसिमियाको आणविक विशलेषण मलेरिया एन्डेमिसिटीसँग कोरवेलेशन मानव जनेटिक्सको जर्नल.४५(३)१२७-१३२
  • सिंह, आरपी (१९८८). थारुको वास्तविक कथा. पत्रकारसम्मेलन पत्र, पटना, भारत ।
  • सिंह, आरपी र चौधरी, सर्वस्व (२०८०). थारु-नेपाली-अङग्रेजी शब्दकोश, प्रकाशक चौधरी रामलगन,बल्खु,काठमाडौं, नेपाल ।
  • सिंह, रमानन्द प्रसाद,२०५४, थारुगीता (श्री मदभगवत गीता के थारु भाषा मे छान्दिक अनुवाद), रमानन्द प्रसाद सिंह ।
  • सिल, इन्टरनेशनल र मातृभाषा केन्द्र नेपाल (२०७३). मध्य पूर्वीय थारू नेपाली शब्दकोश, मातृभाषा केन्द्र नेपाल ।
  • सि.बि.एस ( २०२१). राष्ट्रिय जनगणना र आवास जनगणना २०२१(जाति/जाति र भाषा). काठमाडौः नेपालसरकार ।

(यो कार्यपत्र २०८१ असार १ गते काठमाडौंको शंखमुलमा थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको हो।)




3 thoughts on “नेपालमा बोलिने थारू भाषामा कति समानता छ? यस्तो छ थारू विज्ञको अनुसन्धान

  1. खोज अनुसन्धान को लेख सहि लाग्यो तर कठरियाहरुको मादल बजाउने लाई मिर्दंगिया भने गलत हो,हामी मादल बजाउने लाई खासमा मन्दरिया भन्ने गर्छौ।

  2. अध्ययनको र मेहनतको लागि दुवै जनालाई हार्दिक वधाई तथा धन्यवाद । समय र परिस्थिति संगै भाषा र संस्कृतिमा सामान्य विविधता देखिए पनि जहाँको थारु भए पनि भाषा र संस्कृतिको मूल स्रोत एउटै हो यसमा समानता छ भन्ने कुरा स्पष्ट रुपमा किन भन्न नसकेको होला । थारु विद्वानले नै शंका गर्दछ भने अरुले के गर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *