यी हुन् अमेरिकी थारू संस्था टीएफएको छात्रवृत्ति पाउने २१ जना थारू विद्यार्थीहरू

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। टीएफएले स्नातक र प्लस टु पढ्ने मेधावी २१ जना विद्यार्थीलाई सन् २०२३-२०२४ का लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

कूल ५ लाख ४८ हजार रूपैयाँको उक्त छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गरिएको हो। स्नातक पढ्ने ८ जनालाई जनही ३० हजारको छात्रवृत्ति, प्लस टु पढ्ने विद्यार्थीलाई जनही २० हजार रुपैयाँ र ३ जनालाई ३६ हजार रुपैयाँको नेम्ड छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले थारूवानसँग बताए।

छात्रवृत्ति पाउने स्नातक तहका विद्यार्थीहरूमा कैलालीका निरज चौधरी, सप्तरीका राहुल चौधरी, रुपन्देहीका अपिल चौधरी, नवलपरासीका कृष्णप्रसाद चौधरी, महोत्तरीका आदित्यराज चौधरी, बाँकेका सन्ध्या चौधरी, रुपन्देहीकी श्रेया चौधरी र रुपन्देहीकै गोपाल थारु छन्। उनीहरू एग्रिकल्चर, इन्जिनियरिङ, मेडिकल र विज्ञान विद्याका विद्यार्थीहरू रहेको टीएफएले जनाएको छ।

त्यस्तै छात्रवृत्ति पाउने प्लस टुका विद्यार्थीहरूमा पर्साकी दिलकुमारी थारू, नवलपरासीका दीपेश महतो, रौतहटकी प्रिती चौधरी, सुनसरीका साहिल चौधरी, दाङकी हिमाली चौधरी, रुपन्देहीकी सुश्मा चौधरी, बाराकी नेहा चौधरी, रौतहटकी प्रतिभा चौधरी, सुनसरीकी जेनिशा चौधरी र बाँकेका प्रयान चौधरी छन्।

त्यस्तै नेम्ड छात्रवृत्ति पाउनेहरूमा स्नातक तहमा अध्ययनरत दाङका अशोक चौधरी र कैलालीकी हेमा चौधरी र प्लस टु लेभलमा मेडिकल पढिरहेकी बाँकेकी दिलकुमारी थारू रहेका छन्।

टीएफएले हरेक वर्ष थारू समुदायका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। त्यतिमात्र होइन, थारू समुदायको उत्थानका लागि पनि विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको छ। थारू समुदायमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि टीएफएले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

टीएफए अध्यक्ष सुरेन्द्र चौधरीले छात्रवृत्ति रकम छिट्टै वितरण गर्ने बताए। सम्भव भए सार्वजनिक कार्यक्रम गरेर नसके विद्यार्थीहरूको बैंक खातामा छात्रवृत्ति रकम प्रदान गरिने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *