सम्भोता/भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी

काठमाडौंमा सम्भोता/भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरिएको छ। भारतीय राजदूतावास, बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघको संयुक्त आयोजनामा नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी आयोजना गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले प्रदर्शनीको संयुक्तरूपमा उद्‍घाटन गरेका थिए।

भारतको सिक्किमबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपीको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपीमा आफ्नो नाम लेख्न सिकाएका थिए।

राज्यमन्त्री कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको बताइन्। उनले नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन्।
त्यस्तै दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपीको अझै प्रयोग भइरहेको बताए। उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपीको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *