कांग्रेस सांसद तेजुलाल चौधरीले मन्त्रीको स्वार्थमा प्रश्न उठाएपछि…

नेपाली कांग्रेसका सांसद तेजुलालले तीन वर्षदेखि २२८ वटा नर्सिङ कलेज बन्दा हुँदा अर्बौं नेपाली रुपैयाँ विदेशमा गएको र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा ऐन संशोधनका लागि पठाएको विधेयक कानुन मन्त्रालयले रोकेको भन्दै कानुनमन्त्रीलाई प्रश्न गरेका छन्।

उनले भने, ‘कानुनमन्त्रीलाई मेरो सानो प्रश्न, राष्ट्रिय चिकित्सा आयोग एमबीबीएसका लागि बनेको आयोग हो। त्यसले सीटीइभीटीलाई पनि हस्तक्षेप गरेको छ। शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा विधेयकमा केही संशोधन गरेर कानून मन्त्रालयमा पठाएको थियो। त्यो मन्त्रालयले किन फिर्ता गर्‍यो? अहिले ३ वर्षदेखि २२८ वटा नर्सिङ कलेज बन्द छन्। तपाईंहरु ऐन बनाउँदाखेरि जनताले सञ्चालकले साँच्चै यो देशलाई प्राइभेट संघसंस्थाहरु चाहिने हो कि होइन? एकातिर शिक्षाले कानुन मन्त्रालयलाई पठाउने, तपाईं फिर्ता गर्ने? सानो सानो विधेयकहरु बिचौलिया हावी भएकाहरु पास हुन्छन्। २०७९ मा संशोधन भएको विधेयक २०८० मा संशोधन भएका छन्। यसअघि पनि म संसदमा थिएँ, बारम्बार केही कानुनहरु किन संशोधन हुन्छन्? के स्वार्थ छ यसमा, पार्टीको स्वार्थ छ कि मन्त्रीको वा सचिवको स्वार्थ छ कि विचौलियाको स्वार्थ छ?’

सांसद चौधरीको प्रश्नमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ धम्कीपूर्ण रूपमा प्रस्तुत भए। उनले आफ्नै पार्टीका सांसद चौधरीप्रति आक्रामक बने। उनले आफूलाई निष्कलंक र कुनै काण्ड नलागेको भनी प्रस्तुत गर्ने क्रममा रातो पासपोर्ट तस्करीमा संलग्न भएबापत पक्राउ परेर मुद्दा खेपेको विगत भने संसदको रोष्टमबाट लुकाउन खोजे।

मन्त्री गुरुङले भने, ‘यहाँ एउटा गम्भीर आरोप पनि आएको छ । बिचौलिया हावी भएर आयो भन्ने कुराप्रति मेरो आपत्ति छ । बिचौलियाविरुद्ध, सामान्तवादविरुद्ध लडेर आएको हुँ । धनराज गुरुङ आजसम्म चुकेको छैन । निष्ठाको राजनीतिक गरेर आएको हो, नसकिएको दिन राजनीतिबाट बिदा लिएर बस्ने हो । एउटा विधेयक संशोधन गर्ने क्रममा बिचौलिया हावी भनेर मेरो गर्धनमा तरवार हान्न खोज्नु मिलेन । धनराज गुरुङ आजसम्म कहीं पनि चुकेको छैन, मेरो पृष्ठभूमि हेरे हुन्छ र पढे हुन्छ । मेरो जीवन खुला किताब हो, सबैले पढे हुन्छ । यस्तो कुरामा यो संसदको पनि गम्भीर ध्यानाकर्षण होस् ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *