विदेशी गीत बजेपछि मुख्यमन्त्री चौधरीले गरे कार्यक्रम बहिस्कार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा फिलिपिन्सी नागरिक एवं किवानीज एसप्याक चियर बेल गारसिया उपस्थित थिए । नेपालका आयोजकले फिलिपिन्सका नागरिकलाई सुनाउने गरी कार्यक्रमको सुरुआतमै विदेशी गीत बजाएर कार्यक्रमको सुरुआत गरेपछि मुख्यमन्त्री चौधरीले कार्यक्रम नै बहिस्कार गरेर हिँडेका हुन् ।

नेपाली भूमिमा हुने कार्यक्रममा विदेशी गीत बजाएर सुरु गर्ने कार्यक्रम कुनै पनि नेपालीले गर्न नसक्ने मुख्यमन्त्री चौधरीले बताए । ‘आफ्नै भूमिमा नेपालीले नै कार्यक्रम गरेका छन्,’ उनले भने, ‘तर, नेपाली राष्ट्रिय गान नबजाएर विदेशी गीत बजाउनु राष्ट्रियता र मातृभूमिको अपमान हो, त्यही सम्झेर मैले कार्यक्रम छोडेर हिँडेको हुँ ।’ कार्यक्रमको सुरुआतमै विदेशी गीत बजेपछि आफूलाई सैहृय नभएको उनले बताए ।

किवानीज इन्टरनेशलन अमेरिकामा मुख्य कार्यालय रहेको बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो । ९० वटा देशमा शाखा रहेको किवानीजले विश्वभरीका बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र खेलकुदका क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको छ । रुपन्देहीमा भएको कार्यक्रममा विदेशी गीत बजाएको विषयमा प्रतिक्रिया लिन खोज्दा किवानीज इन्टरनेशनल नेपालका चौंथो गर्भनर लक्ष्मण लम्साल सम्पर्कमा आउन खोजेनन् । कार्यक्रममा सहभागी किवानीज स्नेहलता राउतले मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिस्कार गरेर हिँडेको भए पनि त्यस विषयमा समाचार नबनाउन आग्रह गर्दै अन्य विषय बताइनन् ।

शुक्रबार साँझबाट सुरु भएको सम्मेलन शनिबार सकिने राउतले जानकारी दिइन् । सम्मेलनमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिसहित ३ सयभन्दा बढी किवानीजहरुको सहभागिता रहेको छ । कार्यक्रम किवानीज क्लब अफ रुपन्देहीको संयोजनमा भएको हो ।

– घनश्याम गौतम/कान्तिपुर दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *