नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर र रामेश्वर मन्त्री बन्ने, त्यागे दलको नेता र प्रमुख सचेतक

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर जोगेठ्वा र रामेश्वर चौधरी मन्ने बन्ने भएका छन्। सत्ता गठबन्धनसँग दुई मन्त्री टुंगो लगाएको नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले सरकारमा जाने निर्णयसमेत गरेको छ।

संसदीय दलका नेता र प्रमुख सचेतक नै मन्त्री बन्ने भएपछि जिम्मेवारीसमेत हेरफेर गरिएको छ। बुधबारको बैठकले संसदीय दलको नेता घनश्याम चौधरी बनेका छन् भने प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ। यसअघि रामेश्वर दलका नेता थिए भने प्रमुख सचेतक लक्ष्मणकिशोर रहेका थिए।

हेडक्वाटरको निर्णयअनुसार नै जिम्मेवारी हेरफेर भएको लक्ष्मणकिशोर जोगेठ्वाले बताए। ‘केही दिन पहिले काठमाडौंमा मन्त्री बन्नेहरूले दलको जिम्मेवारी त्याग्नुपर्ने सहमति भएको थियो। सोहीअनुसार संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर भएको हो। यो हेडक्वाटरमा भएको सहमति हो,’ उनले भने।

केही दिनअघि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले दुई मन्त्री र एक राज्यमन्त्री माग गर्दै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्रालय दिन तयार रहेको एक नेताले बताए। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका सात सांसद छन्। प्रदेश सरकारमा अहिले चार मन्त्रालय मन्त्रीविहीन छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *