युनेस्कोको सम्पदा सूचीमा रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर चिनियाँको कब्जामा

लुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको छ। बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेको छ। यस्तै परिसरमा सयौंको संख्यामा रहेका चिनियाँहरूको चहलपहल भइरहेको छ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले दीप प्रज्वलन कार्यक्रमका लागि अनुमति लिएर गुम्बाले स्टेज बनाएको बताए। लुम्बिनी परिसरमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भ रहेको क्षेत्र युनेस्कोको सम्पदा सूचीमा रहेको संरक्षित क्षेत्र हो। यहाँको सुरक्षा र संरक्षणका लागि कोषले प्रवेशमा समेत जुत्ता चप्पलसमेत निषेध गरेको छ। तर यही क्षेत्रमा यसप्रकारको कार्यक्रम भइरहेको हो।

कोषका एक जना पूर्वकार्यकारी सदस्यले कोषमा हालः चीन निकट रहेकाहरूको दबदबा रहेको बताए। उनले शान्ति क्षेत्र र सम्पदा क्षेत्रमा ठूलो ध्वनि प्रदूषणसहित हुन लागेको कार्यक्रमले कसरी अनुमति पायो भनेर आफूसमेत अचम्ममा परेको बताए।

शुक्रबार बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ सहभागी हुँदैछन्। स्रोतका अनुसार चिनियाँ दूतावासले आफ्नो प्रभाव देखाउन समेत युनेस्को सूचीकृत सम्पदाको बेवास्ता गर्दै यस्तो कार्यक्रम आयोजना गरेको बतायो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *