रेशम चौधरीलाई प्रश्न- तपाइँहरू गठबन्धन सरकारमा जाँदै हो?

नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग डिल्लीबजार कारागारमा गरिएको आठ प्रश्न।

भर्खरै आम निर्वाचन सम्पन्न भएको छ, निर्वाचनलाई कसरी लिनुभएको छ ?

निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रुपमा लिएको छ । यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।

निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामबारे यहाँले कसरी समीक्षा गर्नुभएको छ ?

निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा सङ्घ र प्रदेशमा गरी १६ सांसद पाउँदैछौ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरु निर्वाचित भइसक्नुभएको छ ।

तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरु जेलमा छन् । कैयौँले मुद्दा खेपिरहनुभएको छ । यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरु र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ ।

अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरुले हामीहरुलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?

उहाँहरुप्रति खास केही भन्नु छैन । मैले उहाँहरुलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिए । तर उहाँहरुले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरुप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त ९सिके० राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रुपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।

निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ, यसबीचमा तपाइँसँग कसैको कुराकानी भएको छ ?

म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरु पनि कुनै न कुनै रुपमा सरकारमै हुनुहुन्छ । उहाँहरुबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।

सरकार गठनमा तपाइँहरुको भूमिका के हुन्छ ?

हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरु थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्‍यो ।

त्यसो भए तपाईंहरुको मुख्य माग के हो त ?

हाम्रा माग पुरानै छन् । पटक-पटक उहाँहरुलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपथ्र्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।

-राससबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *