स्थानीय तहमा पनि सिकलसेलको उपचारको माग
थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनेमीयाको उपचार स्थानीयतहका अस्पतालहरुमा पनि हुनुपर्ने माग गरिएको छ। १३ औं सिकलसेल दिवशका अवसरमा आइतबार धनगढीमा आयोजना भएको कार्यक्रममा यस्तो माग गरिएको हो।
‘कैलाली र कञ्चनपुरका ७ सय जनामा सिकलसेल एनेमीया देखिएको छ, त्यसैले सिकलसेलको उपचार र परिक्षण अब स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा पनि हुनुपर्छ’ सिकलसेल नेपालका अध्यक्ष तथा सिकलसेलका बिरामी सुरेश कठरियाले बताए।
कैलाली र कञ्चनपुर जिल्लामा मात्रै ७ सय जना थारु समुदायका ब्यक्तिमा सिकलसेल एनेमीया पुस्टी भएको छ। अहिले सेती प्रादेशीक अस्पताल, महाकाली प्रादेशीक अस्पताल र घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी अस्पताल (नीजि अस्पताल) मा सिकलसेलको परिक्षण र उपचार भईरहेको छ। ‘गाउँमा रहेका थारु समुदायको परिक्षण र उपचार भएको छैन, उनीहरु प्रादेशीक अस्पताल आउदैनन, त्यसैले गाउँमा नै उपचारको ब्यवस्था गर्नुपर्छ’ चौधरीले भने।
नेपालमा १५ वर्षअघि सिकलसेल एनेमीया पत्ता लागेको थियो। सिकलसेल एनेमीयाको अनुसन्धानमा लागेका डाक्टर शुभेषराज कायस्थले, थारु समुदायमा बंसानुगत रुपमा देखिने यस रोगका लागि गाउँका अस्पतालहरुमा पनि उपचार पुग्नुपर्ने बताउछन।‘एउटा अनुसन्धान अनुसार सिकलसेल एनेमिया भएका १२ प्रतिसत ब्यक्तिका आँखामा समस्या छ, त्यस्तै धेरैमा रक्त अल्पता छ, यसले रक्तकोषिकाहरुलाई ब्लक गरिदिने हुनाले, त्यहाँ अक्सिजनको मात्रा कम भएर विरामीको मृत्यु समेत हुने गरेको छ’ डाक्टर कायस्थले भने। उनले, सिकलसेल एनेमिया भएको मानिस पहिला त बच्चामै मृत्युहुने र बाँचीहाले पनि ३५/४० वर्षभन्दा बढी नबाच्ने गरेको अनुसन्धानले देखाएको बताए।
‘अपबाद बाहेक सिकलसेल लागेका मानिसहरु ३५/४० वर्षको अल्पायुमै मृत्यको मुखमा पुग्छन, पहिला पहिला रोग पत्ता नलागेर नै धेरैको ज्यान गयो, अहिले भने लक्षण देखा परिका ब्यक्तिको परिक्षण गरेपछि रोग पत्ता लाग्ने गरेको छ’ डाक्टर कायस्थले भने।
सिकलसेल एनेमिया भएपछि बच्चा अवस्थामा रक्त अल्पता हुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न संक्रमणहरु देखिएर बच्चाको मृत्यु हुने गर्छ। बच्चा अवस्थाबाट बाँचेका ब्यक्तिको मुटु, कलेजो र फोक्सो खराब हुने, पित्तको थैलीमा पत्थरी हुने, रगत कम भएर पिलिया हुने, कमजोर हुदै जाने, शरिका ठुला जोनीहरु सडने र भाच्चीने जस्ता लक्षणहरु देखिने गरेको डाक्टर कायस्थले बताए।
थारु समुदायका, नयाँ जन्मेका बच्चाहरुमा ५ देखि १० प्रतिसतमा सिकलसेल एनेमीया देखिने गरेको सेती प्रादेशीक अस्पतालका बालरोग विषेशज्ञ डाक्टर प्रदीक कुमार मिश्रले बताए। ‘अहिले सेती प्रादेशीक अस्पतालमा थारु समुदायका बच्चाहरुलाई जन्मीने वित्तिकै सिकलसेल परिक्षण गरिन्छ, त्यो तथ्यांकका आधारमा ५ देखि १० प्रतिसत बच्चाहरुमा सिकलसेल देखिएको छ’ उनले भने।
सिकलसेल एनेमीया बंसानुगत रोग हो। बुवा आमा दुबैजना सिकलसेल रोग भएका ब्यक्ति भएमा उनका सन्तानहरुमा पनि सो रोग सर्ने गरेकोछ। बुवा वा आमामध्ये एकजना पनि सिकलसेल एनेमिया नभएको ब्यक्ति भएमा जन्मेका बच्चामा रोग देखिएपनि, सार्ने काम नहुने डाक्टर मीश्रले बताए।
विज्ञहरुले दुई/तीन पुस्तासम्म, थारु समुदायभीत्र विवाह अघि नै सिकलसेल एनेमिया जाँच गरेर विवाह गर्नुपर्ने गरिएमा मात्रै यस रोगलाई निर्मुल पार्न सकिने बताएका छन। ‘विवाह हुनुपुर्व नै सिकलसेल जाँच गर्नुपर्यो, केटा वा केटी मध्ये एकजनालाई पनि सिकलसेलन छैन भने विवाह गर्दा हुन्छ’ सेती प्रादशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर मरले भने।
राना थारु र चौधरी थारु समुदायमा देखिएको यस रोगले, ह्दयघात हुने, आँखा एकदमै कमजोर हुने, रक्तअल्पताका कारण शरिरमा भीत्री अंगहरुमा असर गर्ने, पित्त थैलीमा पत्थरी हुने र शरिका ठुला जोर्नीहरु सडने जस्ता लक्षणहरु देखिन्छन। त्यसैले, यो गम्भीर प्रकृतीको रोगका लागि सरकारले विषेश ब्यवस्था गर्ने सामाजिक विकास मन्त्री गोविन्द राज बोहराले बताए।
शिवराज भट्ट/अन्नपूर्णबाट
Facebook Comment