थारु इतिहाससँग जोडिएको बिक्रमबाबाको वास्तविकता
कारी महतो
चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दशैंको समयमा पन्ध्र दिनसम्म बिक्रमबाबा मेला लाग्ने गर्दछ । मेलामा लाखौं दर्शनार्थीहरु आएर पूजा एवम् भाकल समेत गर्दछन् । दिनानुदिन विक्रमबाबाको धार्मिक महत्व बढ्दै गएको देखिन्छ । वास्तवमा विक्रमबाबा को हुन् ? उनको सम्झनामा लाखौं मानिसहरु किन आउनुका कारण के छ ? यी र यस्ता विषयमा विभिन्न खालका मिथक र किंवदन्तीहरु सुनिन्छ तर वास्तविकता भने निकै फरक छ ।
धेरै वर्ष अगाडि चितवनको बेलोध प्रगन्नाअन्तर्गत पट्लहरा गाउँको एक घरमा गरिब वृद्धवृद्धा बस्दथे । उनीहरुको बालबच्चा थिएन । उनीहरुले आफ्नो घरआँगनमा लालाबालाहरु हाँस्दै खेल्दै गरेको देख्न चाहन्थे । दुवैजनाको उमेर ढल्की सक्यो तर चाहना पुरा भएको थिएन ।
वृद्ध मान्छे हरेक दिन राप्ती नदीमा माछा मार्न जान्थे । जालमा जेजति माछा पथ्र्यो, घरमा ल्याई कहिले पकाएर, कहिले कुच्चा बनाएर र कुनैदिन सेकेर आदि इत्यादि विभिन परिकार बनाएर खाने गर्थे ।
यसरी नै उनीहरुको दिनचर्या चलिरहेको थियो । सधैं झैं एकदिन माछा मार्ने क्रममा बुढोको जालमा माछा परेन । जाल हान्दै गए तर जाल रित्तो तान्नु पथ्र्यो । माछा पर्ने आशामा पुनः जाल फाल्थ्यो । माछा पर्थेन । तर जालमा एउटा ढुंगा अल्झेर आउँथ्यो । लगातार ढुंगा मात्र तानिन्थ्यो । जालमा अल्झिएर आएको ढुंगा वृद्धले जालबाट निकालेर फालिदिन्थ्यो । चारपाँच पटक त्यो ढुंगा जालमा अल्झिएपछि वृद्धले ढुंगालाई गहिरिएर हेर्न थाल्यो । हरेक पटक जालमा अल्झिएर आउने ढुंगा एउटै हो भन्ने उनले निचोड निकाले । यहि ढुंगाले गर्दा माछा परेन भनेर वृद्धले त्यो ढुंगालाई अलि टाढै फालिदियो । ढुंगा फालेर पुनः जाल हाने । फेरि पनि जालमा माछाको सट्टा त्यहि ढुंगा देखेर रिसले चुर भई त्यो ढुंगा राप्ती नदीदेखि दुईतीन कोष टाढा जंगल भित्र लगेर राखिदियो । त्यो दिन माछा परेन । रित्तो हात घर फर्कनु पर्यो । हरेक छाक माछाको परिकार खाने गरेका बुढाबुढीले त्यो दिन बेलुका नुनखुर्सानीसँग भात खाएर सुते ।
राति वृद्धले त्यो ढुंगा देवता भएको सपना देखे । देवताले वृद्धलाई चैत्र प्रतिपदादेखि औंसीसम्म पन्ध्रदिनभित्र पूजापाठ र भाकल गरे बालबच्चा हुने आशिर्वाद दिने कुरा पनि बताए । भाकल गर्ने तरिका पनि वृद्धलाई सपनामै सिकाई दिएछन् । भाकलपछि छोरा जन्मियो भए बिकना र छोरी भए बिकनी नाम राख्नुपर्ने कुरा पनि बताए । सपनाको कुरा वृद्धले मनमा राखी रहे । सोहीअनुसार चैत्र प्रतिपदादेखि औंसीसम्म पन्ध्रदिनभित्र वृद्धले गुरो लिएर जंगलभित्र गई आफूले राखेको ढुंगा नजिक गए । वृद्धले सपनामा सिके अनुसार गुरोलाई पूजापाठ गर्न लगाए । वृद्धले भने अनुसार गुरोले पूजापाठ गरिदिए । वृद्धले बालबच्चाको लागि भाकल गरे । भाकल गरेको एकवर्ष भित्रमै वृद्धवृद्धाको छोरा जन्मियो । उनीहरुले छोराको नाम बिकना राखे । यो सबै कुरा वृद्धवृद्धाले गाउँलेहरुलाई सुनाए । एक्कान दोकान गर्दै बेलोध प्रगन्ना हुँदै जिल्लाका अरु प्रगन्नातिर पनि फैलिदै गयो । विस्तारै यो शक्तिपीठको रुपमा परिचित भयो । बालबच्चा नभएका दम्पत्तीहरु गुरो लिएर यस ठाउँमा भाकल गर्न आउन थाले । अहिले त्यो स्थान नै बिक्रमबाबाको नाममा प्रख्यात भएको छ ।
अहिले यो थानमा लाखौं तीर्थालुहरु आउन थालेका छन् । पहिले थारु समुदायका मानिसहरु मात्र आउने गरेका थिए भने अचेल सबै समुदायका भक्तजनहरु दर्शन र भाकल गर्न आउने गर्दछन् । यो थान चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको छ । पञ्चायतकालमा यो ठाउँको नजिक दुई गाउँपञ्चायत रहेको थियो- जगतपुर गाउँपञ्चायत र पटिहानी गाउँपञ्चायत । दर्शकहरुको घुइँचो लाग्न थालेपछि दुवै गाउँपञ्चायतका प्रधानपञ्चहरुले यो थानको संरक्षण र सम्बद्धन गर्ने सल्लाह गरे । दुवै प्रधानपञ्चको सल्लाह अनुसार यो थानमा मन्दिर निर्माण गर्ने र वरिपरि तारबार लगाउने योजना बनाए । त्यहि राति दुवैजनाले बिक्रमबाबा बारे एकैखालको सपना देखेछन् । बिक्रमबाबाले सपनामा भनेछन्- ‘म बन्द कोठाभित्र बस्न चाहन्नँ । म अहिले जस्तो छु, त्यस्तै खुला ठाउँमा बस्न रुचाउँछु । त्यसैले मन्दिर नबनाउनू र तारबार पनि नगर्नू।’
सपना देखेको भोलिपल्ट बिहानै दुवै प्रधानपञ्चले आफूले सपनामा देखेको कुरा एकअर्कालाई सुनाए । फरक दुई व्यक्तिले एकै खालको सपना देखेकोले बिक्रमबाबाले भन्न खोजेको कुरा सपनामा आएर बताएको आँकल गरे । त्यसपछि दुवै प्रधानपञ्चले आफ्नो सल्लाहअनुसारको योजना रद्ध गरे । बिक्रमबाबा थानमा अहिले पनि मन्दिर मन्दिर छैन । खुला ठाउँमै छ । पूजापाठ गर्ने भक्तजनहरुले बिक्रमबाबा थानको वरपरको सालको बोटमुनि गाईको गोबर र पानीले पोतेर थारु गुरोले पुजापाठ गरेअनुसार सात ठाउँमा चामल, सुपारी राखी पूजा गर्छन् ।
श्रोतः लक्ष्मण प्रसाद चौधरी
लेखकः थारु पत्रकार संघ नेपाल, चितवन शाखाका संस्थापक अध्यक्ष हुन्।
(चितवनबाट प्रकाशन हुने सञ्चार पत्र दैनिकबाट साभार)
Facebook Comment