संस्कृतका अक्षरसँग रमाउँदै थारु चेलीहरू

लखन चौधरी/लोकान्तर

बाहुनले मात्रै पढ्ने र कामै नलाग्ने भाषाको रूपमा लिइने संस्कृत भाषामा अब जनजातिका छोराछोरी पनि रमाउन थालेका छन् । कुनै बेला नेपाली पाठ्यक्रममा अनिवार्य विषयको रूपमा समावेश गरिएको संस्कृत भाषाको पढाइमा १० वर्षे सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीले अवरोध गरेको थियो । बुर्जुवा शिक्षाको संज्ञा दिँदै माओवादीले पठनपाठनमा रोक लगाएको थियो ।

आज त्यही विषय बाहुनका छोराछोरीले मात्रै होइन, आदिवासी जनजाति र थारु समुदायका बालबालिका पढिरहेका छन् । त्यसैमध्येका एक हुन् कैलालीको कैलारी गाउँपालिका–६ बनकट्टाकी १७ वर्षीया आरजु चौधरी । आरजु काठमाडौंस्थित दरबार हाई स्कूलमा १२ कक्षामा अध्ययनरत छिन् ।

प्राचीन भाषाको रूपमा रहेको संस्कृत भाषामै मास्टर्स गरेर भाषाको विस्तार गर्ने सपना आरजुले बुनेकी छन् ।

माघी मनाउन घर आएकी उनले भनिन्, ‘संस्कृत सबै भाषाको जननी हो । मेरो शिक्षाको आधार नै संस्कृत हो । १२ कक्षापछि शास्त्री (स्नातक) गर्ने लक्ष्य हो । त्यसपछि आचार्य (स्नाकोत्तर) सम्मको उपाधि हासिल गरी संस्कृत भाषालाई जोगाउने र विस्तार गर्ने मेरो उद्देश्य छ ।’

काठमाडौंकै गार्गी कन्या गुरुकूलबाट प्रारम्भिक शिक्षा लिएकी आरजुले ८ देखि १० कक्षासम्मको अध्ययन चितवनस्थित रामजानकी बालिका आश्रमबाट गरेकी हुन् । एसईईमा ‘ए’ प्लस ल्याएकी उनी हाल दरबार हाई स्कूलमा अध्ययनरत छिन् ।

प्राविधिकसहित हालका चलनचल्तीका विषय अध्ययन गर्नतर्फ ध्यान नजानुको कारणबारे उनले भनिन्, ‘शिक्षालाई सीमित जाति समुदायमा मात्रै सीमित गरिएको छ । कर्मकाण्डी, पूजापाठ, ज्योतिषीको कार्य सीमित जातिकाले मात्रै गर्नुपर्छ भन्ने मानसिकता छ तर अरुले गर्न सक्छन् भन्ने मेरो भनाइ हो । प्राविधिक विषय तथा अन्य विषय जत्तिकै यसमा पनि सम्भावना छ ।’

आरजु चौधरी

आरजुका बुवा विनोद चौधरी पनि संस्कृत भाषा शिक्षातर्फ छोरीलाई सानैदेखि हौंस्याउँदै आएका छन् । छोरीको कुरामा थप्दै विनोद भन्छन्, ‘संस्कृत आफैंमा ज्ञानको जननी हो तर यसलाई खुम्च्याउँदै लगियो । जुनकारण अहिलेको अवस्थामा पुगेको हो । छोरीले पढ्ने इच्छा गर्छ भने यही पढोस् ।’

संस्कृतमा उच्च शिक्षा आर्जन गर्ने थारु समुदायका व्यक्ति एकदमै न्यून संख्यामा अध्ययन गर्नेहरू रहेका विनोदको भनाइ छ ।

आफ्नै पहलमा थप १ बालिका पनि संस्कृत विषय अध्ययन गरिरहेकी विनोद चौधरीले बताए ।

उनका अनुसार चितवनको देवघाटमा धनगढी उपमहानगरपालिका घुइयाघाटकी वीणा र कैलारी गाउँपालिका–६ खरेट्टीकी प्रतिभा चौधरी ९ कक्षामा अध्ययनरत छन् ।

कैलारी गाउँपालिका–६ बनकट्टाकै दीक्षा चौधरी पनि देवघाटमा ८ कक्षामा अध्ययनरत छिन् ।

संस्कृत भाषा शिक्षाको क्रेज घटिसकेको अहिलेको अवस्थामा जनजाति, थारु, दलित समुदायबाट न्यून संख्यामा संस्कृत विषय लिएर उच्च शिक्षा हासिल गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीकी बेला चौधरी संस्कृत लिएर शास्त्री अध्ययनरत छिन् । उनी संस्कृत विषय निकै नै सभ्भावनाको विषय भएको सुनाउँछिन् ।

संस्कृत भाषामा स्नाकोत्तर गरी हाल प्रध्यापन गरिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–१३ शिवनगरका मोहन चौधरीले संस्कृत भाषाको क्षेत्र व्यापक रहेको बताए ।

अझै पढ्नुहाेस