धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

रेशम चौधरी
इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध हिनता ? इतिहास सजिलै परिवर्तन हुँदैन । दुइचार दशकीय परिवर्तनले समाजलाई खासै फरक पनि पार्दैन । इतिहास परिवर्तन गर्न खोज्नु खाटा बसेको घाउलाई सर्जरी गरेर सम्याउनु जस्तै हो । शासकको मन परिवर्तन नभईकन इतिहास परिवर्तनको कल्पना समेत गर्न सकिन्न । युगौंयुग शासकीय स्वरुप परिवर्तन हुन नसक्नुमा स्वयं पीडित पक्षबाट दुइचार गद्धारहरु टुसाइरहनु पनि हो ।

हिजो दासहरु मान्छे थिएनन्, सामन्तका मेशिन थिए । कमैयाहरु मनैया (मान्छे) थिएनन्, अहिले गाउँघरमा लफङ्गाहरुले चढ्ने भटभटे जस्तै थिए । जतिबेला, जुनसुकै बेला, बेला न कुबेला चढेको छ चढेको छ । आज पनि केही वर्ग समुदायसँग राज्य परिचित परिचय पत्र नागरिकता त छ तर त्यो परिचयपत्रमा एउटा चिनारी छोडिएको छ, ठ्याक्कै जात खुट्टिने । लेखिएको अक्षरित संकेतले न त्यो अड्डा अदालतमा सहयोग पुग्छ न त कुनै सरकारी संयन्त्रमा । रङ देखिन्छ तर छाप नबसेको । सुन्दर ढकमक्क फूलेको देखिने । बासना नआउने । मान्छे त मान्छे । जात फरक लेखेकै आधारमा विभेद हुने । सिप चलाउने, शिक्षा नचलाउने । परिश्रम चलाउने, पदनदिने । रेमिट्यान्स लिने, रोजगारी नदिने । गरिकता दिने, नागरिक नगन्ने ।

हिजो राजाहरू कानुनभन्दा माथि थिए, आज राजाबाट श्रीपेच खोस्नेहरु । तिनैले कानुन कुल्ची रहेछन्, जसले जुलुसमा हाम्रा टाउका उभ्याए । हाम्रो शीर ढलाए । हाम्रो अधिकारका लागि लडेका हौं भनेर चर्का नारा लगाए । अश्रुग्याँस र गोली चल्दा आफू भीड पछाडि लुके । सोझाहरुलाई उकासेर अग ्रपंक्तिमा उभ्याए । अरुलाई मर्न उकास्नेहरु, जनताको हक अधिकारको लडाईं लडछौं भन्नेहरु, ढलेका लाशमाथि कुल्चिदै शासन हत्याउनेहरु, आज राजाभन्दा बढी निरंकुश छन् । राजा भन्दा बढी सौखिन छन् । राजढुकुटीमा ब्रह्मलुट मच्चाएका छन् । राजाले रैति त मानेका थिए, यी त हामीलाई नवीकरण गरे झैं थमौती मात्रै गरिरहेका छन् ।

आज सत्ताका मालिक उनै छन् । हिजो पार्टी चलाउन जहाज लुट्नेहरु । सरकारी सेनाका विरुद्ध मुक्तिसेना गठन गर्नेहरु । शोषक सफायाका नाममा जमिन्दार पदधारीका टाउका काट्नेहरु । जातीय मुक्तिको सपना देखाएर बम बारुद पड्काउनेहरु । मान्छे मान्छे वीचको अन्तर देखाएर समाज भडकाउनेहरु । एक दुइ तीन होइन, हजारौं हजार असरल्ल मान्छे मार्नेहरू । गरिबलाई सपना देखाएर दिउँसै स्वर्ग पु¥याउनेहरु । मुलुक समृद्धिको सपना देखाएर सहिदलाई बेवारिसे बनाउनेहरु ।

खै त ? उनले बोलेका बोली वास्तविकता रहेनछन् त ! उनले देखाएका सपना यथार्थ रहेनछन् त ! हिजो कांग्रेस पाल्ने हाम्रा बाजेहरु कमैया बने । जमिन्दार सफायाका नाममा राजबंसी, मेचे कोचे र थारुका टाउको काटिए । जनयुद्धमा अग्रमोर्चाका लडाकुहरु कि त मरिसके, कि त परिवार पाल्न परदेशमा पसिना बेच्दैछन् ।

आज मनैया पनि उनै छन् । मालिक पनि उनै छन् । उनैको आदेशमा शासन चल्छ । सल्लाहमा देश चल्छ । खोलानाला, डाँडाकाँडा सबैमा उनैको रजगज छ । कमैयालाई मनैया बनाउने सपना देखाएर झ्यालखानामा कोच्ने उनै हुन् । हिजो जस्को जोत उसको पोत भन्ने नारा लगाए । आज उनैको नाममा बिघौं जमिन छ । सर्वभक्षी बनिसके, सर्वहाराका नारा लगाउनेहरु । सपना लङ्काको भन्दा कम छैन, जनताका टाउको छिनालेर आफ्नोमा जोडी रावण बन्न खोज्नेहरु । आज सत्तामा उनै । सिंहदरबारमा उनै । शितल निवासमा उनै । छोडिएका छन् त केवल हिजो उनीसँग कांग्रेस बन्ने हाम्रा बाजेहरु । कम्युनिस्ट बन्ने हाम्रा बाहरु । जनयुद्धमा बन्दुक बोक्ने हाम्रा दाजुहरु अनि परिवर्तनको नारा फलाक्दै सडक धुलाम्यैबनाउने हामीहरु ।

परिवर्तनको सोच र सपना नेताहरूको भावमा थिएन, त्यो त हामीलाई देखाइयो मात्रै । हिरा दिन्छौं भनेर अँध्यारोमा ढुङ्गो देखाइयो । जमिन दिने कसम खाएर कमैयालाई कम्यूनिष्ट बनाइयो । परम्परा धान्ने बहनामा राजावादी बनाइयो । महलको मालिक बनाउने सपना देखाएर माओवादी बनाइयो । केवल आशा देखाए । क्रान्तिमा होमाएर भविष्यको भरोसा देखाए । हामीलाई देखाउने आशा र भरोसा त नागराजको पासो भन्दा खतरनाक रहेछ । अहिले पासोमा कसिएर ऐंठनको हालतमा पुर्यातउने पनि यिनै हुन् !

हामीले देश मागेनौं । प्रदेश मागेनौं । इतिहासको अक्षरमा लेखिने हाम्रा पहिचान मात्रै त माग्यौं । मञ्चमा संस्कृतिका नारा आफै लगाउँछन्, अनि सखिया जोगाई देऊ भन्नेहरु अपराधी हुने ? अखण्डको नारा आफैँ लगाउने, थरुहट जोगाइदेउ भन्नेहरु बिखण्डनवादी हुने ?

नदीको नाम कर्णाली, अञ्चलको नाम कर्णाली अनि प्रदेशको नाम पनि कर्णाली ? खस आर्य उदगमस्थलको नामो निमिट्यान्न किन ? नदीको नाम बागमती, अञ्चलको नाम बागमती अनि प्रदेशको नाम पनि बागमती ? जनजाति आदिवासी, थारु, मगर, मधेसी, नेवाः, तामाङसालिङको नामाकरणमा आफ्नै भूमिपुत्रको सम्मान नदेख्ने कस्तो अनौठो सोचको शासकलाई शासन चलाउन दिइरहेका छौं हामी ?

सातसाले जहानिया राणा मुक्तिको आन्दोलन हामी बिना सम्भव थियो ? बनारसमा रसद पुर्याीउने कांग्रेसी थारु परशुनारायण, क्षमानन्द महतोका चाँदी ढ्याक आर्थिकी सहयोगको कुनै मूल्य छैन ?
त्यसोभए, जनयुद्धमा सहादत हजारौं थारूको बलिदानी के ?
जात, गोत्र मिलेकै आधारमा सात खुन माफ !
नाक र वंश नमिलेकै आधारमा मासिने जातको दर्जा दिने बाटा बन्द गरौं ।
जहाज अपहरण गरेर बैंकको ढुकुटी लुट्नेहरु क्रान्तिवीर !
हजारौ मार्नेहरु जनयोद्धा !
टाउका काट्नेहरु असल कम्युनिस्ट !
अनि अधिकारको आन्दोलनमा मुट्ठी उचाल्नेहरु अपराधी ?
देश माग्नेहरुसँग मिलाप हुने,
बन्दुक बोक्नेहरूसँग वार्ता हुने,
बम पड्काउने र राजद्रोह गर्नेहरु मित्र हुने,
भूमिपुत्र थारुलाई अपराधी करार गरिने ?

खुंखार पञ्चहरुले प्रजातान्त्रिक कालमा हिस्सा र निस्सा दुबै पाए । सत्र हजार मान्छे मार्यौंक भन्नेहरु देशको प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री हुन सक्ने । आन्दोलनमा समर्थन छ भन्दैमा घटनास्थलमा अनुपस्थित थारु जन्मकैद सजायको भागीदार हुनुपर्ने ?

देश चिरा बनाएर मधेशवाद स्वायत्त देशको नारा लगाउनेसँग सरकार हात मिलाउँछ ।
बम पड्काउँदै बिद्रोह गर्नेसँग सरकार सम्झौता गर्छ ।
हाम्रा अधिकारहरु संविधानका धारा, उपधारामा लेखिदेऊ भन्ने थारुहरुलाई देशद्रोही देख्छ ।
के आफ्ना नागरिकमाथि गरिने न्याय यही हो ?

राज्यको नक्साङ्कन पूर्व पनि हामी यही थियौं । थारु राजा दंगिशरण र रञ्जित चौधरीको राज्य हाम्रो वर्तमान नेपालकै नक्सामा मिसिएको छ । राज्यलाई आवश्यक पर्दा हामी जहिल्यै साथ दिएकै छौं हरेक विजय पश्चात हामीलाई हामीलाई दास किन बनाइन्छ ? हाम्रो साथले जहिल्यै जित्ने, अनि आफ्नो स्वार्थपूर्तिका लागि जहिल्यै हराउने ?

धेरै हारीसक्यौं हामी । अत्ति भो, ज्यादती नगरौं । थरुहट आन्दोलनमा सहिद हुनेहरुलाई न्याय देऊ । बच्चा, वीर प्रहरीको आत्माले शान्ति पाओस् । दोषीलाई दण्ड देउ । जबर्जस्ती अन्यायको भुङ्गमा हाम्रो टाउको पोल्ने चेष्टा नगर । दोषीलाई काखमा राखेर निर्दोषीलाई झुण्याउने प्रवृत्तिले आफैलाई भड्खालोमा पुर्‍याउँछ । न्यायिक दृष्टि पुर्‍याउ । मजदुरी गरिरहेका कपाल काटिरहेका, तरकारी बेचिरहेका थारुलाई थुनेर कुन न्यायको आसनमा आसीत छौतिमी ? भन्न यति सकिन्छ-

सत्य डग्दैन श्रीमान ! चन्द्र र सूर्यजस्तै
असत्य लुक्दैन श्रीमान ! पाप र पुन्यजस्तै
सरोबरी जरुर होला, न्यायको तराजु एकदिन
अधर्म भागेर जाला, धर्मले जित्ला एकदिन

हामी हिजो यहीँ थियौं । आज पनि यहीँ छौं । कहिलेकाहीँ सदरखोरमा भेट्न आउने दशवर्षे मेरो छोरोले सोध्छ- बाबा, हामी घर कहिले जाने ? उ गएपछि म एकान्तमा घोत्लिन्छुँ, यस्तो दुःखमा पनि छोराको सपना देश छोड्ने छैन । धर्तीपुत्रकोरक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र?

– डिल्लीबजार कारागार




One thought on “धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *