उदयपुरका थारुहरुले मागे थारू भाषालाई स्थानीय भाषाको मान्यता
उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् ।
थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय गरेको हो । थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिने भाषा आयोगको निर्णयविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।
थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लाका स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दबाब दिने कार्यक्रम रहेको जानकारी दिए । आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन् ।
यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई/मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुख, शान्ति र चिरायूका लागि महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।
Facebook Comment