वादी समुदायबारे रेशम चौधरीले लेखेको किताब ‘देवीसरा’को एक अंश- दुर्व्यवहार
जब सिद्धिनेछ माटोबाट उब्जनी
अनि रित्तिनेछन् भकारी भण्डारहरु
सिद्धिनेछन् भावना र प्रेम
आउनेछ मान्छेले मान्छेको मासु खाने दिन
बच्नेछ केवल अहंकारको पटाङ्गिनी !
राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार अनगिन्ती थिए । बालबच्चाहरु स्कुल पढ्नका लागि भर्ना भएका थिए तर वरिपरिका मान्छेको दृष्टिकोण बेग्लै थियो । हरेक चौतारीमा गफ चल्थ्यो–
यी वादीका बच्चा पढी क्या गन्र्या हुन् ?
वादीले मादल बजाउनै पन्र्या हो ।
वदिनीले नाच्नै पन्र्या हो
छोरीले फरिया उघार्ने पन्र्या त हो ।
यस्ता गफ कयौं पटक सयौं चोक र चिया पसलमा सुन्थे लाले वादीहरु । तरपनि ती सब बकम्फुसे कुरा मात्रै हुन् भनेर एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । सबैको अठोट लालुजस्तै कहाँ हुन्थ्यो र ? किड्या, होलु, चौंठ्या, जहरी जस्ता वादीको त कानै पाक्थ्यो तर पनि सहनुको विकल्प थिएन । छोइछिटो चलाएको समाजमा यति सहजै विजय कहाँ सम्भव हुन्छ र ? पैसा तिरेर चिया पिउने पसलमा धरी अलग्गै बसेर चिया पिउनु पथ्र्यो । भट्टी पसलमा दारु पिएर गिलास माझ्नु पथ्र्यो । कसैको जीउमा छोइए मात्रै थप्पड खानु पथ्र्यो । यस्तो जञ्जालका बीचमा पनि हेडसर रामबहादुरले सबै बच्चालाई स्कुल भर्ना गरिदिएका थिए । प्रजातन्त्रमा उनको उदारता यति नै पर्याप्त थियो । दुइ चार काहासुनीले बच्चा पढाउने अठोटलाई उनी कुनै परिवर्तन गर्नेवाला थिएनन् ।
बयर टिप्न खोज्दा पनि काँडा
गुलाब टिप्न खोज्दा पनि काँडा
फलफूल प्राप्तिका लागि घोच्छस् भने
जति सक्छस् उति घोच ए काँडा !
साँवा अक्षर चिनाउने सपना साँचेका अभिभावक समेत कदम कदममा होच्चिने बखत थियो त्यो । पढाउने लालसा राख्ने भन्दा पढ्नेहरु झन पलपलमा परेशानी भोगिरहेका थिए । एक्लो हेडसर रामबहादुर बिसीको दृष्टी सबैतिर पुग्न सम्भव थिएन । उनले सक्दो गरेकै थिए । उनको दृष्टी पछाडि देवीसरा वादी जस्ता बच्चाको समूहले कठोर दुर्व्यवहार भोग्नुपथ्र्यो । पैसासँग शरीर साट्नेका सन्तानहरुलाई द्रव्यको कमी हुने कुरै भएन । कमी थियो त भएर पनि भोग्न नपाइने सुखको, शान्तिको र अमन चयनको ।
देवीसराहरुलाई भोक लाग्थ्यो । पैसा लिएर खानेकुरा किन्न पसल पुग्थे । पसलेले पहिला ठूला जातकालाई चकलेट, बिस्कुट दिन्थ्यो । अन्यको सिद्धिएपछि मात्रै उनीहरुको पालो आउँथ्यो । पैसा लिएर पनि पसलेले खानेकुरा फालेर दिन्थ्यो । पैसा तिरेर पनि फालेको खानेकुरा भुईंबाट टिपेर लिनुपर्दा बच्चा बच्चीको मन कटक्कै काटिन्थ्यो तर चलिआएको चलन जस्तै तिनको दुर्व्यवहारलाई स्वीकार्नुको विकल्प पनि थिएन । कम्तीमा पैसा लिएर सामान बेच्ने साहुले त कुरा बुझ्नुपथ्र्यो तर पैसा लिएर पनि पवित्रता नबुझ्नेसँग कसको के लाग्छ र ?
पैसा लिएर पवित्रता चिनेन उसले
वादी बच्चाको स्वतन्त्रता चिनेन उसले
लिएर पनि दिन नजान्ने
आफ्नै समाजको विविधता चिनेन उसले
यस्ता कुराले एकान्तमा उ एक्लै रुन्थी, बलिद्र आँशु चुहाउँदै दाह्रा किट्थी । तर, उ त अबोध न थी । उसलाई पनि पैसा दिएपछि अरु ठूला जातकाले जस्तै समान पाउने अभिलाषा थियो । फालेर दिएको खानेकुरा खानै मन लाग्दैनथ्यो तर पनि बाल भोकका अघि ती अपमान पनि स्वीकार थिए । पसलेको यस्तो हर्कतले अपमानको बोझ थाम्नै नसकि बिस्तारै उनीहरु पसलमा खानेकुरा किन्नै छोडिदिए ।
उपल्लो जातको पसलेसँग निकै बाझे ती बच्चाहरु । फालेर खानेकुरा दिंदा कहिले भुईंमा खस्न पुग्थ्यो । त्यो समान उठाउ र यहाँबाट जाउ । मेरो दोकान नछोउ, छुई लाग्छ भनेर पसलेको चेतावनीलाई तिनका बालसुलभ मनले निकै पचायो । टुलुटुलु हेर्दै समान उठाएर हि“ड्नुको विकल्प हुन्थेन । पसलेको दुर्व्यवहारले सीमा नाघेपछि एकदिन बच्चाहरु आफैले सल्लाह गरे र आइन्दा त्यो पसलमा कुनै पनि समान नकिन्ने निधो गरे । मुठीभरि पैसा भएर पनि पसलेको अपमानको बदला लिन बरु ती बच्चाहरु भोकै बसे तर पसलमा पुगेर खानेकुरा किनेनन् । त्यही पसलेसँग लिइएको बदलाभाव नै देवीसराहरुको बाल जीवनको पहिलो क्रान्ति थियो । आफूसँग पैसा हुँदाहुँदै भोकै बसेर भए पनि साहुजीको समान अस्वीकार गर्नु त्यो वास्तविक बालक्रान्ति नै थियो ।
टेक्दैनौं तिम्रो दैलो त्यो दैलो तिम्रो हो
मान्छे भएर मानवता भुल्ने त्यो मैलो तिम्रो हो
झुल्किन्नौं आइन्दा तिम्रा समिपमा
याद गर, यो चेतावनी पैलो हो ।
त्यसपछि उनीहरु घरबाटै खानेकुरा बोकेर ल्याउन थाले । बा आमाले पोलिथिनको झोलामा दालभात हालिदिन्थे । गर्मीको महिनामा हाफ छुट्टिसम्म त्यो खानेकुरा गन्हाइ सक्थ्यो तर पनि बच्चा बच्ची लस्करै मिलेर बासी दालभात पनि बडो मीठो मानी मानी खान्थे । त्यो खानेकुरामा पसलेको भेदभाव थिएन । उसले फालेर दिएको भुईंबाट टिप्दै गाँस हालेका थिएनन् उनीहरु । त्यो उनका बाबाआमाले बनाएको खान्की थियो । घरबाटै ल्याएको । बा आमाको ममत्व मिसिएको । बासी नै सही, कम्तीमा त्यहाँ उच्च जातको हुँ भन्ने पसलेले गरेको दुर्व्यवहार त थिएन । बालापनमै निकै परेलीका आँशु पुछेका छन् देवीसराहरुले । आशामा आँशु, भरोसामा आँशु, विश्वासमा आँशु, पीडामा आँशु, वेदनामा आँशु । सबै पटकका आँशु एकत्रित हुने हो भने पोखरी नै बन्छ होला ।
छोएकै नचल्ने, कस्तो थियो रीति
मान्छे मान्छेमै विभेद, कस्तो थियो थिति
पैसा तिरेर हात थाप्नु पर्ने
कठै, हाम्रो समाजको विसंगति !
बच्चाबच्ची न हुन्, घरबाट ल्याएको अलि अलि गन्हाएको दालभात त जसरी पनि खान्थे उनीहरु । कुनै कुनै दिनमा त गन्हाएर निल्नै सकिन्दैनथ्यो । त्यस्तो दिनमा उनीहरु कक्षाकै अरु साथीहरुसँग कापीको तावा दिएर प्याज, नुन, खुर्सानी साँट्थे । नुन, खुर्सानी चाटयो, घटघट पानी पियो । पानी र नून र खुर्सानी घुलेर पेटमा पुगेपछि त भोकै खतम ।
स्कुलमा प्याज काट्ने वा चटनी बनाउने सिलौटा हुने सम्भवै हुन्थेन । तिनीहरु स्कुल नजिकै बनाइएको सिमेन्टको कल्भर्टमा नुन, खुर्सानी, प्याज पिस्थे । त्यसरी पिस्दा सिमेन्ट र बालुवाको धुलो पनि चटनीमै मिसिन्थ्यो । चटनी जति जिब्रोले च्याप च्याप पारेर स्वद निल्यो, सिमेन्ट र बालुवाको छोक्रा थुकिदियो । यसरी प्याजको रस र चटनीले पनि निकै भोक मेटाए उनीहरुले ।
नुनमा मिसिएको बालुवा छुट्याउने वाह, तिम्रो जिब्रो
अन्नलाई अमृत ठानी निल्ने, वाह, तिम्रो जिब्रो
मिठ्याएनौ लालचमा कसैका अघि मुख
स्वाभिमानको स्वाद निल्ने वाह ! तिम्रो जिब्रो ।
स्कुले जीवनमा के भोगेनन् र उनीहरुले ? हर्ष, आँशु, ईष्र्या, पीडाले सक्रिय हुने इन्द्रियका सबै वांशिता अनुभूत गरे । प्यास लागेको बेला पानी पिउन पाएनन् । बाटोमा अन्य जातको कुवामा पानी पिउन जाने दुस्साहस त के ? आँगन टेक्न समेत डराउँथे उनीहरु । संजोगले सँगै पढ्ने ठूला जात भनाउँदाका साथीहरुले परैबाट पानी हालिदिए मात्रै प्यास बुझाउन पाउँथे । उनीहरुले मान्छेहरुकै समाजमा अनौठो मान्छे बनाइएको पीडासमेत भोगे ।सुरु सुरुमा स्कुलमा मास्टर र ठूला जातका विद्यार्थीले गर्ने व्यवहारले स्कुलै नजाउँ झै हुन्थ्यो । जहाँ बस्यो त्यही“ लिप्न लगाउँथे । सबैजना स्कुल छुट्टी भएर घर जान्थे । वादी जातको बच्चा भएकै कारणले छुट्टी भैसके पनि उनीहरुले कक्षा कोठामा झाडु लगाउनु पर्दथ्यो । परीक्षाको बेला शिक्षकहरुले उनीहरुलाई अलग्गै सल्लाको बोटमुनी राखिदिन्थे । जाँचको बेला ठूला जातका बच्चालाई छोइदियो भने उनीहरुको बुद्धि हराउँछ रे ! एउटा मान्छेले अर्को मान्छेलाई छोयो भने बुद्धि हराउँछ भन्ने शब्दका खप्कीसमेत खानु पर्यो उनीहरुले । उनीहरुले छोइदिए मात्रै विद्यानास हुने भए वादीका बच्चाहरु कसरी कक्षा उक्लिए त ? जातकै कारण एक बच्चाहरुको झुण्डलाई गरिएको विभेदले उनीहरुको मानसिकतामा परेको वितृष्णाको बदला जस्तोसुकै भावमा बदलिन सक्छ भन्ने बुझ्नुपथ्र्यो तर त्यो जमानामा बुझ्ने कसले ?
के बखान गर्नु र जून नभएको रातको
बच्चाले बच्चालाई छुँदा बुद्धि हराउँछ रे
के चर्चा गर्नु र त्यो बकम्फुसे बातको ।
स्कुल पढ्दा उनीहरुले धेरै यौनहिंसा सहे । समूहमा भएका ठूला दिदीहरुका कारण स्कुलको छुट्टी पश्चात घर फर्किदा उनीहरुलाई बाटोमा पर्ने वनमा स्थानीय ठूला केटाहरुले निकै लखेट्थे । लखेट्नेमा कहिलेकाहीँ त निकै ठूला ट्रयाक्टर ड्राइभरहरुसमेत मिसिएका हुन्थे । मलामी आएका उरन्ठ्याउला केटाहरुले लखेटेर दिदीहरुसँगै भेरीको भेलमा हाम फालेर उनीहरुले निकैपटक बल्लतल्ल आफ्नो अस्मिता जोगाए । वादी जातको केटी हुनुप¥यो, सानो होस कि ठूलो ! सबैले यौनको खेलौना नै सम्झिन्थे । अरुको के कुरा गर्ने, आफ्नै दाइ, काका, मामाबाट समेत तिनले हिंसा सहनुपथ्र्यो ।
आफ्नो जातको दाइभाइ, मामा, भिनाजुहरुले गरेको विगत सम्झिदा अहिले पनि उ सबै वादीलाई भेरी खोलाले बगाएर लैदिए हुन्थ्यो जस्तो भन्छे । एकपटक छिमेकको उसको साथीलाई उसैको आफ्नै बाजेले साख्खै भिनाजुलाई अह्राएको समेत सुनेकी छे – ‘‘ए नाति, तेरो बैनीको चु चु खेलाइदे । बस्नका लागि छिटो तयार होली क्या !’’
उसको बालापन त्यो संस्कारमा त्यसैगरी हुक्र्यो । उसले पनि आफ्नै पर्नेबाट निकैपटक यौनहिंसा भोगेकी छे । उसलाई थाहा छ, विगतका कुरा कोट्याएर बिद्रोह गर्ने हो भने वादी समुदाय कहिल्यै नउम्किने भुङ्ग्रोमा फस्नेछ । यस्ता बसिसकेका घाउका पाप्रालाई कोट्याएर रगत छिर्काउनुबाहेक अर्को उपलब्धी कदापी हुन सक्दैन, त्यसैले नचाहेर पनि सकिनसकि विगत भुल्नु नै बेस ।
कहिलेकाहीँ त बुझेर विगत पिउनुपर्छ
मसिनले खुटेका उध्रिए हातैले सिउनु पर्छ
टालटुल नै त हो सबको जिन्दगी
दुःख सुख पिएरै जीउनु पर्छ ।
उसले के हिंसा सहिन ? के के मात्रै खेप्नु परेन उनीहरुलाई ? स्कुलमा विद्या आओस् भनेर सरस्वती बन्दना घोकाइन्थ्यो । स्कुल छेउमा सरस्वती माताको मन्दिर थियो । ठूला जातका विद्यार्थी साथीहरु त्यहाँ प्रार्थना गर्न जान्थे । उनीहरुसँगै तिनीहरु पनि जान्थे तर तिनलाई कहिल्यै मन्दिर छुन दिइएन । मन्दिरको पुजारी नन्द्या बाजेको हप्काइ उनीहरुले कहिल्यै बिर्सन सक्दैनन् । उनीहरुले छोयो भने मन्दिर भत्किन्छ, मुर्ती फुट्छ रे ! कहिलेकाहिँ त मन्दिरभित्र छिरेमा काटिदिने धम्की दिन्थे, पुजारी नन्द्याले ।
माथिल्लो जातको हुँदा मान उनको
मन्दिरको पुजारी हुँदा सान उनको
पानी चलेकैले सान मान उनको ?
तर के, मान्छे बनाउने भगवान पनि उनको ?
(रेशम चौधरीद्वारा लिखित देवीसराबाट लिइएको एक अंश)
Facebook Comment