थारु युवाहरुको करोड लगानीमा खुल्यो कविला रिसोर्ट

थारू समुदायका चाडपर्व र पूजाआजामा मात्रै सीमित खानाका विभिन्न परिकारले अब व्यावसायिक रूप पाउन थालेका छन् । थारू समुदायका युवाले यसलाई बजारमा ल्याएर व्यावसायिक रूप दिइरहेका हुन् ।

ढिक्री, घोंगी, माछा, विभिन्न तरकारीका परिकार र अचारहरू अहिले किनेर खान पाइने भएको छ । घोराही–१६ सानी अम्बापुरमा थारू युवाले कविला रिसोर्ट खोलेर बुधबारदेखि थारू परिकारको व्यावसायीकरण सुरु गरेका छन् । ‘थारू समुदायका परिकार आफ्ना संस्कारमा मात्रै सीमित थिए । यसको बजारीकरण भएको छैन,’ कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीले भने, ‘अब थारू समुदायको स्वाद सबैलाई चखाउने जमर्को गरेका छौं । घोराही आउने पाहुनालाई थारू परिकारले स्वागत गर्न सकिनेछ ।’

दाङमा थारू राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा यस क्षेत्रलाई थारूको महत्त्वपूर्ण स्थल मानिन्छ । आधुनिकतासँगै थारू समुदायका विभिन्न संस्कार र संस्कृति ओझेलमा पर्न थालेपछि व्यावसायिक रूप दिन थालेको कविला ग्रुपका सदस्य विकास चौधरीले बताए । ‘थारू समुदाय व्यवसायमा प्रवेश गर्न सकेको छैन । परम्परागत कृषि कर्ममा व्यस्त छ,’ उनले भने, ‘हामीले यसको सुरुवात गरेका छौं । यसले थारू संस्कृति र परम्पराको प्रचारप्रसारसँगै प्रवर्द्धन गर्नेछ ।’

रिसोर्टमा थारू समुदायमा हालसम्म पाक्दै आएका परिकार खान पाइने कविला ग्रुपका सदस्य भुवन चौधरीले बताए । बिस्तारै सेवाग्राहीको मागअनुसार खानाका परिकार थप्दै जाने योजना रहेको उनले बताए । ‘थारू समुदायकै मानिसहरूले घरकै भान्सामा पकाएझैं स्थानीय स्वादमा खानेकुरा पकाउनेछन्,’ उनले भने, ‘बिस्तारै खानेकुराहरू थप गर्दै जानेछौं । भान्सामा सीमित सीप अब बजारमा आएको छ ।’

थारू कला र संस्कृति लोप हुँदै गएका बेला थारू परिकार बजारमा आउनु सकारात्मक कदम रहेको लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले बताए । ‘हरेक परम्परागत सीपलाई अब व्यवसायसँग जोड्नुपर्छ । आर्थिक स्तर माथि नउठेसम्म समुदायको उन्नति हुँदैन,’ उनले भने, ‘थारू समुदाय कला र संस्कृतिमा धनी छ । धेरै नै विविधतापूर्ण नाचगान र खानपान छ । त्यसलाई अरू मानिसको बीचमा ल्याउनु खुसीको कुरा हो ।’

कविला होममा थारू संस्कृति झल्किने चित्रहरू पनि कोरिएका छन् । थारू गीत र नाचहरू पनि प्रदर्शन गरिने भएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा पनि थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय निर्माण भएको छ । त्यहाँ थारू संस्कृतिका अनेक रूप चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्री राखिएको छ । थारू जातिका विभिन्न परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ । थारू समुदायका पुराना गहना र कपडाहरू पनि संकलन गरिएको छ ।

संग्रहालय हेर्न गएका मानिसहरूले थारू परिकार पनि खान पाउँछन् । थारूहरूको इतिहास संरक्षण गर्दै कला र संस्कृतिलाई पनि बजारीकरण गर्न संग्रहालयले महत्त्वपूर्ण भूमिका खेलेको लुम्बिनी प्रदेश सांसद डिल्लीबहादुर चौधरीले बताए । ‘यहाँ पुग्ने पाहुनाले रोजेर खान पाउँछन्, थारू परिकारको मजा लिन सक्छन्,’ उनले भने, ‘थारू जातिका चलचित्र र गीतहरू पनि हेर्न एवं हेर्न पाइन्छ ।’

दाङ नै थारू जातिको आधारभूमि मानिन्छ । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि दाङबाटै थारूहरू बसाइँसराइ गरेर गएको विश्वास गरिन्छ । अहिले पनि दाङमा थारू जातिकै बाहुल्य छ । ०६८ सालको जनगणनाअनुसार जिल्लामा १ लाख ६३ हजार १ सय १६ अर्थात् २९.५२ प्रतिशत थारू जातिको जनसंख्या छ । त्यसमध्ये १ लाख ५५ हजार ४ सय १३ अर्थात् २८.१२ प्रतिशतको मातृभाषा थारू छ । थारूको बाहुल ठाउँमा कला, संस्कृति, वेशभूषा र खानाका परिकारलाई स्थानीय पहिचान गराउने गरी विभिन्न ठाउँमा काम भइरहेको चौधरीले बताए ।

दुर्गालाल केसी/कान्तिपुरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *