जातको प्रश्न, जगतको प्रश्न !
मान्छे महिला वा पुरुष हुन सक्छ। तेस्रो लिंगी वा लैंगिक अल्पसंख्यक हुन सक्छ। मान्छे कोलो हुनसक्छ, गोरो हुन सक्छ, सावला हुन सक्छ, अग्लो वा होचो हुन सक्छ, मोटो वा दुब्लो पातलो हुन सक्छ, साङ्ग वा अपांगता हुन हुन सक्छ।
मानिस बस्ने गोलाद्ध फरक पर्न हुन सक्छ, महादेश, देश अनि, हिमाल, पहाड तराईजस्तो भूगोल नमिल्न सक्छ, मानिस, जुनसुकै वर्ग, धर्म वा साँस्कृतिक समुदायको भए पनि मानिसको जात मानिस वा मानव वा मान्छे हो, सबैभन्दा पहिले किनकि उसमा प्रकृतिले दिएको विशेषता हुन्छ। अरु सबै, मान्छे सभ्य, सुसंस्कृत, मानवीयता, सहज जीवन जिउने नाममा मानिसले बनाएको राजनीति, आर्थिक र सामाजिक परिवेशअनुसार दिएको पहिचान हो, वर्ग, वर्ण र जात मानिसले आफुअनुकल व्यवस्था बनाउने क्रममा सिर्जना गरेका कुरा हुन्। संरचनागत विकास हुनेक्रममा कतिपय संस्कृतिले मानवीयता समानता, सम्मान र गौरब बढाउने हुन्छन् भने कतिपय समयानुकुल हुन नसक्दा अन्यायपूर्ण हुन्छन्। कतिपय संस्कारहरु जन्मजात विभेदपूर्ण हुन्छन्। जस्तै, सतिप्रथालाई लिन सकिन्छ। पतिको मृत्युपछि पछि पत्नी पतिसँगै चितामा जल्नुपर्ने संस्कार न्यायाचित थिएन, समाप्त पनि भयो। ठूलालाई सानाले सम्मान गर्ने संस्कृति त कालजयी छ, जसको अभावमा समाज अगाडि बढ्नै सक्दैन, यो कुरा मानव सभ्यताको गहकिलो खजाना अमूर्त संस्कृति हो।
कालो हुन, गोरो हुनु, अग्लो हुन, होचो हुनु, मोटो वा पातलो हुनु, नाक लाम्चो हुनु, थेप्चो हुनु, बुच्चो उठेको वा ध्याब्रे हुनु सबै प्रकृतिको देन हो। भूगोलअनुसार मानिसमा रहेको जैविक आनुवांशिक गुणका कारण त्यस्तो हुन्छ। वैज्ञानिकहरुले नश्ल सुधारको विधि पनि उपयोग गरिसकेका छन्। पशु र बनस्पतिमा त्यसको अत्यधिक प्रयोग भइसकेको छ। यहाँसम्म कि, क्लोनिङ्ग विधिद्वारा हुबहु मानिस जन्माउन सकिने तथ्य आएको पनि धेरै वर्ष भइसक्यो। मानिस विशुद्ध मानिस हो, विवेकशील प्राणी हो। शब्द र भाषाको माध्यमबाट सञ्चार गर्नसक्ने क्षमता भएको प्राणी हो। यतिका तथ्य, प्रमाणहरु हुँदाहुदै पनि जातको प्रश्न आजको जगतमा अहं प्रश्न भएको छ, किन?
नेपाली सिनेजगतका महानायक तथा बौद्धिक व्यक्तित्व राजेश हमाले केही समययता ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम चलाइरहेका छन्। नेतृत्वदायी भूमिकामा रहेका सरकारका प्रतिनिधि, राजनीतिक दलका नेता, प्रहरी प्रशासन, भुक्तभोगी र विश्लेषक तथा अनुसन्धानकर्ताहरुलाई सिधासिधा प्रश्न गर्छन्, जातको प्रश्नमा। गत जेठ महिनामा पश्चिम रुकुमका नवराज विक लगायतका छ जना जातीय अतिवादी सोचका कारण मारिएपछि, नेपालमा ठूलो बहस भयो, जातीय विभेदको विषयमा। त्यसो त नेपाल सरकारले आरोपितहरुलाई कानुनको दायरामा ल्याएको दाबी गरेको छ। प्रस्तोता हमालले रुकुमको घटनापछि त्यस कार्यक्रमको सोच आएको बताएका छन्। त्यसै बेलामा अमेरिकाका काला मूलका व्यक्ति जर्ज फ्योयडलाई प्रहरीले घुँडाले घाँटीमा दाबेर मारेपछि, कोरोनाको कारण लकडाउन रहेको बेला पनि लाखौं अमेरिकीहरु अत्याचारको विरुद्धमा सडकमा आए, स्वतस्फुर्त रुपमा। यस लेखमा त्यही जातको प्रश्नबारे आफ्नो जीवनमा भोगेका घटना, परिवेश र नेपाली समुदायमा जातको प्रश्नबारे विमर्श गर्ने जमर्को गरिरहेको छु।
म सानो छँदा अनुभूत गरेको कुराबाट विषयप्रवेश गरौं। म कक्षा एकमा गाउँकै स्याउलाले बारेको विद्यालयमा भर्ना भएपछि, स्कुल जान थालें। कुरा चालिस वर्ष पहिलेको हो, म स्कुल जाँदा दिदी भने भाँडाकुडा माझ्ने, आमालाई सघाउने गर्नुहुन्थ्यो। गाउँ टोलका हामी सबै केटाहरु काठको कालो पाटी, पछि एफोर साइजको, सिलोट, चक (पहिले खरी (थारु भाषामा गौखर), भाङ्ग्रा विद्यालय जान्थ्यौं। बुबाको शैक्षिक चेतना उच्च रहे पनि छोरीलाई पढाउने चलनै नभएकाले साथी नभएर दिदीले विद्यालयको दैलो टेक्न पाउनु भएन, ब्राम्हण क्षेत्री समुदायका पनि न्युन संख्यामा छोरीहरु पढ्दथे। बालख उमेरमा विभेद भन्ने कुरा नबुझे पनि, किन दिदी पढ्न नगएको भन्ने प्रश्न मेरो बालसुलभ मनमा खेलिरहन्थ्यो। केही जान्ने भएपछि थाहा भयो, यो त लैङ्गिक विभेद हो भनेर।
म दस वर्ष जतिको हुँदो हुँ, हलगोरु, बाख्रा चराउन जंगल गएको थिएँ। एकदिन, ढलेको ठूलो सालको मुडामा बसेर मैले घरबाट लगेको कागती खाइरहेको थिएँ। मसँगै एकजना ब्राम्हण समुदायका र एकजना दलित समुदायका साथी थिए। मैले दुबैलाई कागती हात हातमा दिएँ। दलित समुदायका साथीले मजाले स्वाद मानेर खान थाले, ब्राम्हण समुदायका साथी अक्क न बक्क भए। उल्टै, छोइदिएको भनेर दलित साथीलाई हकारे। मैले किन हकारेको भन्ने बुझ्नै सकिन, पछि साथीले दलित, अछुत सार्कीले छोएको खान नहुने बताएपछि, म अचम्ममा परें। थारु समुदायमा छुवाछुतको चलन नभएको, बच्चालाई पनि त्यस्तो नसिकाउने गरेकाले मैले त्यसको अर्थ बुझ्न सक्ने कुरै भएन।
दशैं र माघी आउँदा नयाँ कपडा सिउनका लागि घरमा दमाई दाइको परिवार पाली र आँगनमा बसेर हप्तौं कपडा सिलाई गर्दा, कपडा नापजोख गर्दा कहिल्यै महसुस भएन कि दमाइले छोएको खान र लाउन हुँदैन भनेर। कामीको आँगनमा जाँदा, बुढो कामी दाईले खलाँती तान्न नसक्दा घण्टौं, खलाँती तानेको आजै जस्तो लाग्छ मलाई।
म हाइस्कुल पढ्दादेखि नै पञ्चायतविरोधी विद्यार्थी संगठनमा आबद्ध भएर काम गर्न थालिसकेकाले, समानता, स्वतन्त्रता, न्याय, बहुदल, निर्दलजस्ता रानीतिक शब्दसँग परिचित भइसकेको थिएँ। समानता र न्यायजस्ता शब्दले मलाई अति प्रभाव पारेका थिए। एकदिन एकजना बटुवा मेरो घरमा बास माग्न आइपुगे। बुबा वडाध्यक्ष रहेकाले सायद, छिमेकीले हाम्रो घर देखाइदिए। पाहुना सुदूर पश्चिमको पनि पहाडी बासिन्दा रहेछन्। साँझ, पाहुनालाई दिने सबै सम्मानका साथ खानपिन गराउन कोन्टीमा बोलाएँ, मैले। तर पाहुना हिचकिचाए, भइहाल्छ यही पिंढीमा बस्न तम्सिए। थारु संस्कारअनुसार, पाहुनालाई पिढीमा होइन, कोन्टीमा खानपिन गराउने परम्परा छ। मैले उनलाई प्रोत्साहित गरें, अप्ठ्यारो मानी मानी उनले कोन्टीभित्र पाइला हाले। मैले कुरा बुझिहालें, उनी दलित समुदायबाट हुन् भनेर। उनले भोगेको विभेद र तिरस्कारले गर्दा उनले साहस नगरेको, हिनताबोध गरेको कुरा मैले महसुस गरें। प्रोत्साहित गर्दै सम्झाएँ, उत्पीडत जातिहरु आफ्नो आत्मसम्मानका लागि समाजसँग लड्नुपर्ने बताएँ। कोन्टीमा त आए, तर थपेर खान मानेनन्। यस घटनाबाट मैले ठूलो पाठ सिकें। व्यक्ति शोषण, विभेद र दबाबमा सदियौं परेपछि, आत्मविश्वास गुमाउँदै जाँदोरहेछ। यो कुरा व्यक्तिगतरुपमा ममा पनि लागुभएको देख्छु, थारु समुदाय पानी चल्ने मतवाली वर्गमा शासकले वर्गिकृत गरेकाले छुवाछुतको विभेद अनुभूत गर्न त्यति नपरे पनि सम्मान र पहिचान, सुविधा र अवसरको मामलामा विभेदको सिकार भएर नै जनजातीकरण भएको कुरा बुझ्न कठिन छैन।
एकपटक मैले मानवअधिकारसम्बन्धी तालिम चलाइरहेको थिएँ, धनगढीमा। तालिमका एउटा खेल खेलाउँदा खेलको नियम भन्दै जाँदा, मेरो मुखबाट अनायस ‘डुम’ शब्द निस्कियो। बुझ्नेगरी सहभागीहरुको प्रतिक्रिया त सुन्न पाइन तर तालिम सहयोगी साथीले मलाई चिट लेखेर दिए। चिटमा लेखिएको थियो ‘यो क्षेत्रमा डुम भनेको दलितलाई बुझाउँछ’ । अनजानमै गल्ती शब्द उच्चारण गरेकामा भित्रभित्रै नरमाइलो लाग्यो, प्रसंग बदलेँ। मैले किन त्यो शब्द बोलें त भनेर पछि ठण्डा दिमागले सोच्दा मैले के निष्कर्ष निकाले भने, सानै उमेरदेखि नै विद्यालय र गाउँघरमा साथीहरुसँग ‘डुम’ र ‘छुई’ खेल खेलेकाले सहजै निस्किएको हो। नजानिदो पाराले सामाजिक संरचना, संकार र विद्यालयले ममा पनि त्यो गलत कलुसित विचार रोपिदिएको रहेछ। त्यो त समाजमा रहेको छुवाछुत प्रथाको साँस्कृतिक प्रतिविम्ब रहेछ।
मेरा नजिकका नाताका चेलीहरुले एकजना कामी र एक जना दमाई परिवारमा विवाह गरेका छन्। मलाई अन्तरजातीय विवाह गरेकोमा खुसी लागेको छ। किनकि अन्तरजातीय विवाह गर्ने कुरा सुन्दा जति सुन्दर र समतामुलक छ, त्यसलाई निभाउन अति कठिन भन्ने कुरा दस वर्षे माओवादी जनयुद्धकालमा पार्टीको झण्डामुनि भएका धेरैजसो जनवादी विवाह डिभोर्समा परिणत भएको तथ्यले पनि स्पष्ट पार्छ। ती मेरा आफन्त चेलीहरुले कतिसम्म विभेद र अपहेलान झेलेर बसेका छन्, उनीहरु नै जान्दछन्, मैले समान व्यवहार गर्दा पनि त्यति नजिक हुन सकिरहेको छैन। यसमा मेरो व्यवहारिक कमजोरी हुन सक्छ, समाजको अधिरचनाले पनि छेक्छ होला। तर सौभाग्य, उनीहरुको वैवाहिक जीवन सालाखाला राम्रै चलिरहेको छ।
एकपटक, रंगकर्मीहरुको टोलीमा कचहरी नाटक टोलीको सदस्य भएर डेनमार्कमा गएको बेला कोपेनहेगनकै एक केटी साथीसँग परिचय भयो। उनले हाम्रो टोलीलाई सहजीकरण पनि गर्दै थिइन्। राम्रै हिमचिम थियो। हामी घण्टौ कुराकानी गर्थ्यौं। मैले उनीबाट नै डेनिस शब्द सिक्दैथिएँ। मैले पनि नेपाली शब्द र गीत सिकाइरहेको थिएँ। एक दिन चिया खाँदा ‘ह्वाटस योर फ्यामेली नेम?’ भनेर सोधेँ। उनले रिसाएको मुडमा ‘इज इट नेसेसरी टु से’ भनिन्। म झस्कें, मैले सोध्नै नहुने कुरा सोधें कि भनेर। तीन पुस्ते सोधेरमात्र कुराकानी अगाडि बढाउने भद्दा संस्कार भएको समुदायमा हुर्केको मानछे, मैले के बुझ्थे, मैले त हामीबीच विस्तारै अन्तरंग कुराको सेयरिङ हुन थालिसकेकाले थप इन्टिमेट हुनका लागि मैले उक्त जिज्ञासा राखेको थिएँ। तर उल्टो भयो। उनी, मिठो नमानी नमानी चिया सक्काएर उठिन्, मलाई साह्रै नरामाइलो लाग्यो।
कति दुःख र मेहनत गरेर बनाएको साथी गुमाउँदा, उनको चित्त दुखाएकोमा म उनीसंग अन्तरहृदयदेखि नै माफी माग्न चाहन्थे। तर त्यो दिनपछि सकेसम्म मबाट तर्कन थालिन्, हाम्रो टोलीको फर्कने दिन नजिकिदै आयो, मैले उनलाई ‘सरी’ भन्ने औपचारिक परिवेश पाउन सकिन। इमेलमार्फत् आफ्नो ज्ञानको स्रोत र संस्कारको सीमाबारे लेखेर, सरी मागें, ठीकै छ, बाहेक थप शब्द पाउन सकिन, मैले। हाम्रा अग्रजहरुले नेपालीको एउटै थर नेपाली किन लेख्न चाहे, केही लेखक प्रबुद्ध वर्गले थर नलेख्ने गरेको रहस्य बुझ्न थालें। त्यसैको प्रभाव होला, शब्द संग्राम पहिलो निबन्ध संग्रहमा मैले सुशीलमात्र लेखेको छु, सधैंका लागि चौधरी हटाउन चाहन्छु म। चौधरी थर, थारु समुदायका अगुवा ठालुहरुले राणाहरुलाई अन्यायपूर्ण कर उठाउन बनाएको सरकारी पद थियो भन्ने थाहा पाएदेखि चौधरीप्रतिको मोहभंग भएको छ।
श्रीमद्भागवत् गीतामा श्रीकृष्ण भन्छन्, ‘चातुर्वण्यँ मया सृष्टं, गुणकर्मविभागशः’ अर्थात् मानवीय गुण र कर्मको क्षमताअनुसार चार वर्णः ब्राम्हण, क्षेत्री, वेश्य र शुद्रको सृष्टि गरिएको हो। यही कुरा शासनको हतियार बनाएर शासकहरुले समाजमा जातप्रथा संस्थागत गर्दा, आज समाजको सर्वांगीण विकास गर्न कठिन भइरहेको छ। चन्द्र शरमशेरले कमारा कमारी प्रथा (करियाप्रथा) अन्त्य वा अमलेख गरे। त्यसपछि कमाराकमारी हुनु परेन। बीस वर्ष अगाडि दास प्रथाको अवशेषको रुपमा रहेको कमैया प्रथाको अन्त्य गरियो। तर, प्रजातनत्र खर्लप्पै निलेर ‘निर्विकल्प’ भनिएको निर्दलीय पञ्चायती व्यवस्था लाद्ने राजा महेन्द्रले २०२१ सालमा जातीय छुवाछुत अन्यको कानुनी घोषणा गर्दासमेत, प्रजातन्तको पुनस्थापना, दसवर्षे जनयुद्ध र संविधासभाबाट बनेको संविधानमा छुवाछुत र विभेदविरुद्धको हक र दलितको हक मौलिक हकमा लेख्दा पनि व्यवहारमा नवराजहरु मरिने क्रम चलिरहेको छ। आज पनि दलित समुदायका व्यक्तिले चिया पसल राख्न सकिरहेका छैनन्, किन?
जातको आधारमा सौन्दर्यका विम्ब बनिरहदासम्म जात प्रथा हट्न सक्दैन भन्छन्, विश्लेषक आहुति। मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले रंग र जातीय विभेद पूर्णरुपमा अन्त्य हुनुपर्ने भन्छ। सबै प्रकारका जातीय विभेदविरुद्धको महासन्धिले पनि जातीय विभेदको अन्त्यको घोणषणा गर्दछ। भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरले जात प्रथाले सामाजिक र सार्वजनिक भावनाको अन्त्य गर्छ भनेका छन्। त्यसैले जातीय विभेद अन्त्य हुनुपर्छ।
रंगभेदविरोधी अभियन्ता मार्टिन लुथरकिंग भन्छन् ‘हामी फरक-फरक जहाजबाट आए पनि देशनामको एउटै डुंगामा छौं। डुंगा डुब्दा संगै मारिन्छौं।’ यसबाट हामी बुझ्न सक्छौं, हाम्रो गलत करनामाका कारण सबैजना नै डुब्न सक्छौं। हरेक नयाँ विचार र पहलकदमी गलतविरुद्धको वकालतबाट जन्मन्छ। त्यसैले समाजमा रहेको गलत चिन्तन, प्रवृति र व्यवहारलाई सच्याउन साहस गर्नुपर्ने कुरा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव, कोफी अन्नान ससुझाउँछन्। राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनी औजारहरुको सदुपयोग, साझा पहलबाट जात प्रथालाई अन्त्य गर्न सकिन्छ। हामी जातीय, धार्मिक फण्डामेन्टलिस्ट बन्दै जाने कि राजनीति, समाज र संस्कृतिमा रहेका जातप्रथाप्रतिको जडताको हल खोज्न सहकार्य गर्ने सोच्नुपर्ने बेला आएको छ। समतामूलक समाजको निर्माण गर्दै समाजवादी संस्कृतिको विकास गर्दै मानव गरिमायुक्त समाजको सिर्जना गर्न धेरै लडाए, लड्न बाँकी छ।
आफूभित्र रहेको तथाकथित ठूलो जातलाई अन्तरमनको संघर्षबाट हल गर्दै अधिरचनामा रहेको गलत चिन्तन र प्रवृतिलाई हातेमालो गरेर काम गर्न ढिलो भइसकेको छ। व्यक्ति वा जातीय समुदायलाई आफ्ना भाषा, संस्कृति, सभ्यता, मूल्य मान्यतामाथि गर्व गर्ने हक छ, तर त्यही आधारमा अरुहरु निच, तुच्छ, अछुत भनेर दोहलो काढ्न किमार्थ पाइँदैन। जात प्रथा र रंगभेद मानवताविरुद्धको अक्षेम्य अपराध हो। २१ सौं शताब्दीसम्म आइपुग्दा ‘मानवमात्रको हित’ सिद्धान्त पनि अपूर्ण भइसकेको छ। विकासमात्र भनेर पुगेन, दीगो विकासको अवधारणा आइसक्यो। दीगो विकास वातावरणीय अनुकूलतालाई ध्यान दिएरमात्र विकास संरचना निर्माण गर्नुपर्ने ठानिन्छ। यसले अब मानवमात्रको हित हुन्छ भन्दैमा प्रकृति र प्राणीको विनाश जथाभावी गर्ने कसैलाई अधिकार छैन। पर्यावरणीय संरक्षण अति आवश्यक भइसकेको छ। बनस्पति र चराचरको नष्ट गर्ने हक त हामीलाई छैन भने मानिसले मानिसलाई पशुवत व्यवहार गरी अमानवीय व्यवहार गर्न कसरी मिल्छ र? दलित समुदायका व्यक्तिले पनि लघुताभास पालेर आफूलाई सक्षम हुने कुरामा कुनै कसर पनि बाँकी राख्नु हुँदैन।
राजाको छोरा राजा हुनुलाई हामीले सामन्तवाद मान्यौं, आज पनि कुनै अमुक जातका आधारमा सक्षतावान र असक्षम मानिने मान्य पनि सामन्ती चरित्र नै हो। हर्वर्ट स्पेन्सरले डार्विनको अन दी ओरिजिन अफ स्पाइसिसमा प्रकृतिको छनौट वाक्यांसलाई सर्वाइवल अफ दी फिटेस्ट प्रयोग गरे। यसको अर्थ जसले यो पृथ्वीतलमा आफूलाई जोगाउन सक्छ ऊ नै बाँच्ने कुराका रुपमा अर्थ्याए। तर मानवतावादले मानिस सबै समान छन्, कुनै पनि आधारमा विभेद गर्नु अन्याय हो। ‘जिसका लाठी उसका भैंस’को व्यवहार बर्बता हो भन्ने मान्दछ। मानवअधिकारका सिद्धान्तहरु पनि मानवतावादको मान्यतामा आधारित छन्। व्यक्तिमा भएको योग्यता र क्षमताका आधारमा सम्मान, पहिचान, अवसर र प्रतिनिधित्वको समानताको सिद्धान्तलाई मूर्त रुप दिन खुल्ला विचार र सहज व्यवहार देखाउन आवश्यक छ। संवैधानिक र कानुनी प्रावधान बनाएरमात्र जातीय विभेद मेटिंदैन। त्यसका लागि सदियौंदेखि अभ्यासमा रहेका कू-प्रथा र चलनहरुको अन्त्यका लागि सचेत पहल हुन आवश्यक हुन्छ। यसका लागि साँस्कृतिक क्रान्ति आवश्यक छ। हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ। त्यसले आफ्नोबारेमा आफैँ निर्णय गर्न सक्नेछ, उत्पीडित पुग्दछन्। जातको प्रश्न जगतको प्रश्न बन्न जरुरी छ। तबमात्र, जातको प्रश्न न्युन हुँदै जानेछ र जातीय मुक्ति हुनेछ।
लेखक अधिकारकर्मी हुन्।
Facebook Comment