गंगा चौधरीले जब प्रश्न गरिन्- ‘म विधवा भएँ भने अर्को पुरुष घरमा ल्याउन नपाउने?’
व्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले हालै केही सांसद र पत्रकारहरुको भेलामा प्रश्न गरिन्- मैले फुपूको छोरासँग बिहे गर्न पाउने कि नपाउने? कानुनविद समेत रहेका माओवादी सांसद रामनारायण विडारीले हाडनाताभित्र विहे गर्ने प्रथालाई विकृतिको संज्ञा दिएपछि गंगा चौधरी प्रतिवादमा उत्रिइन्।
जंगबहादुर राणाले १६५ वर्षअघि र राजा महेन्द्रले ५४ वर्षअघि रैतीमाथि शासन गर्न ल्याएको मुलुकी ऐनलाई पहिलोपटक विस्थापित गरेर संसदले हालै पारित गरेको फौजदारी कसूरसम्बन्धी ऐनमाथि अहिले विभिन्न कोणबाट छलफल भइरहेका छन्। यही सन्दर्भमा प्रथाजनित कानुनहरुलाई के गर्ने भन्ने बारेमा छलफल हुँदा सांसदहरुको मत बाझिएको हो ।
संसदबाट पारित भएको फौजदारी संहिताको दफा १७० मा हाडनातामा बिवाह गर्न नहुने भनेर केही प्रष्ट कानुनी व्यवस्था गरिएको छ । तर, परम्परा अनुसार चली आएकोे विहेबारीमा भने सजाय हुने छैन । हाडनाता भन्नाले ११ पुस्तासम्म मानिने कानुनी व्यवस्था छ ।
तर, यो कानुनी व्यवस्थाप्रति सांसदकै चित्त बुझेको छैन । विधायन समितिकी सभापति चौधरीले भनिन्- मैले आफ्नै फुपूको छोरासँग बिहे गरेकी हुँ । हाम्रो आदिवासी जनजाति समुदायमा यस्ता धेरै प्रथाहरु छन्, ती प्रथालाई कानुनी मान्यता दिलाउन बिधायन समितिबाट मैले काम गर्छु । तर, अहिलेको फौजदारी संहिताले प्रथाजनित कानुनलाई संरक्षण दिन सक्दैन ।
संसदबाट फौजदारी कसूरसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको बिधेयक पारित भएपछि प्रथाजन्य कानुनहरुको बारेमा संसदभित्रैबाट बहस सुरु भएको छ । संशोधित फौजदारी कसूरसम्बन्धी कानुनका बारेमा जनतालाई सचेत गराउने बेलामा सांसदले नै प्रथाजन्य कानुनलाई मान्यता दिने अर्को कानुनको माग गरेका हुन्।
यसको औचित्य पुष्टि गर्दै सांसद चौधरीले भन्छिन्- थारु समुदायमा श्रीमान मरेपछि विधवाले चाहेको पुरुष ल्याएर घरमा राख्न पाउने परम्परा छ । मेरी हजुरआमाले पनि अर्को हजुरबा ल्याउनुभएको थियो । म पनि विधवा भएँ भने आफूले चाहेको पुरुष ल्याएर घरमा राख्न पाउनुपर्छ । यसका लागि पनि प्रथाजनित कानुनको बैधानिक मान्यता चाहिएको हो ।
गोरखाकी निङ्मार भुटीको प्रश्न पनि कम्ति महत्वपूर्ण छैन । उनी भन्छिन्- माथिल्लो गोरखामा हाम्रो परिवारका एकै महिलाका चार पाँचजना श्रीमान छन् । दाजु मरेपछि भाइले भाउजू स्याहार्नैपर्छ । अहिलेको कानुनले एउटासँग डिभोर्स नभई अर्कोलाई विहेको मान्यता नदिने भन्दा धेरैलाई समस्या पर्ने भयो । हाम्रोतिरको कुरा सुन्नुपर्दैन?
प्रथाजन्य कानुनका बारेमा अहिलेसम्म संसदमा औपचारिक रुपमा बहस भएको छैन । तर, विधायन समितिकी सभापतिले बहसको शुरुवात गरेकी छन् ।
यसमा माओवादी सांसद रामनारायण बिडारीको भने फरक मत आएको छ । उनी प्रथाजन्य कानुनका नाममा विकृतिहरुलाई निरन्तरता दिन नहुने बताउँछन् । बिडारी भन्छन्-हाम्रा कतिपय आदिवासी जनजाति समुदाय र ठकुरी समुदायमा समेत मामा-चेला फूपु-चेली विहे गर्ने चलन छ । तर, यो प्रथा वैज्ञानिक रुपमा पनि ठीक छैन । सन्तान उत्पादनसँग समेत यो जोडिएको छ । बहुपति प्रथाजस्ता विकृतिहरु पनि प्रथाका नाममा निरन्तरता दिन जरुरी छैन ।
अनलाइनखबरबाट साभार
Facebook Comment