कमिलाल थारुको कुल देउता हराएपछि तीन छोरीको अन्त्येष्टि अझै हुन पाएन

ठाकुरसिंह थारु/कान्तिपुर।

साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारूका तीन छोरीको मृत्यु भयो । तर ७ दिन बितिसक्दा पनि उनले मृतक छोरीहरूको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् ।

थारू परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ । किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ । तर कुल देउता नै पुरिए । शनिबार नेपाली सेनाले राप्ती सोनारी गाउँपालिका–४ लालपुरका कविराजको भत्किएको घर उत्खनन गरी कुल देउता खोजिदिएको छ । ‘कुल देउता भेटिए अब छोरीहरूको किरिया बस्छु,’ उनले फोनमा भने, ‘सेनाले बस्ने घर पनि बनाइदियो । अब जिउने सहारा मिलेको छ ।’ सेनाले उनका लागि टेन्ट बनाइदिएको छ ।

थारू सुमदायको कुल देउता राख्न छुट्टै्र कोठा बनाइएका हुन्छन् । थारू भाषामा कुल देउता राख्ने कोठालाई मिन्झारी भनिन्छ । जहाँ कुल देउता (माटोको हात्ती, घोडा, पाल र मूर्ति) राखिएका हुन्छन् । खुसीका बेला कुल देउतालाई रक्सीको छाकी चढाइन्छ । परिवारको कुनै सदस्यको मृत्यु भए देउतालाई पनि दु:खमना गरिन्छ ।

‘छोरीहरूको मृत्युले जति पीडा थियो त्यति नै कुल देउता हराएकामा । ७ दिनपछि कुल देउता भेटिएपछि अन्तिम संस्कार गर्ने बाटो खुलेको छ,’ कविराजले भने, ‘अब थारू परम्पराअनुसार संस्कार गर्छु ।’ छोरीको मृत्युपछि बिरामी परेका कविराज अझै उपचार गराइरहेका छन् । घटनापछि घर फर्केका उनी गतसाता उपचारका लागि बैजापुरस्थित स्वास्थ्यचौकी पुगेका थिए । ‘देउता पनि भेटिए । उपचारपछि केही ठीक भएको छु,’ उनले भने, ‘विस्तारै सबै ठीक हुँदै जानेछ ।’

बाढीले घर भत्किएपछि कविराजका तीन छोरी १२ वर्षीया अञ्जु, ९ वर्षीया सरिता र ७ वर्षीया सुष्माको च्यापिएर मृत्यु भएको थियो । त्यतिबेला कविराज मजदुरीका लागि पोखरामा थिए । राति बाढीमा फसेपछि कविराजकी श्रीमती फूलकुमारी गुहार माग्दै बाहिर निस्किने क्रममा घर भत्किएको थियो । घर भत्किन सुरु भएपछि तीन छोरी भाग्दै गर्दा ढोका नजिकै च्यापिएको उनीहरूले बताए । बाढीमा फसेर सम्पर्कविहीन फूलकुमारी दुई दिनपछि भेटिएकी थिइन् । तीन छोरी गुमाएका कविराजलाई विभिन्न संघसंस्थाले सघाइरहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *