थारु माघी र पहिचानको सबाल

सीएन थारु।

“चौथो विश्व राष्ट्रहरुमा जनताले उनीहरुको आफ्नो पक्षबाट जे सोच्दछ, निर्णय गर्दछ र कार्य गर्दछ; त्यसले नै आउँदो पुस्ताको निमित्त बनाइने विश्वका धेरै अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित रहने छन् – डा. रुडोल्फ सी. राइजर, अध्यक्ष ः विश्व आदिवासी अध्ययन केन्द्र ।”

यो बहसको प्रारम्भ मैंले डा. रुडोल्फ सी. राइजरको उपरोक्त भनाई उल्लेख गरेर गर्न चाहें । यहाँ चौथो विश्व राष्ट्रहरुको एक सदस्यको रुपमा थारुले दावी गर्दै आएको सर्वविदितै छ । यसबाट थारु अलग राष्ट्रियता मात्र नभई अधिराज्यात्मकताको बढदो चाहना समेत प्रदर्शित हुने गरेको हुन्छ । यो परिवेशमा थारुको राष्ट्रिय पहिचानको सवाल हल गर्ने आधार के ? भन्ने विवाद छ । ऐतिहासिक भौतिकवादी ढंगले हेर्दा थारु सिवालिक रेञ्जमा पुस्तौ पुस्ता विताएको कारण शिरफुल्वार मिथकले पहिचानको आधार प्रदान गरेको देखिन्छ । त्यसैगरी यस क्षेत्रमा प्राकृतिक विषमताको साथै विषालु सर्प, विच्छि, गोही, बाघ, भालु, हाती, गैंडा लगायतका जनावरहरुसँग संघर्ष गर्दै हजारौं वर्ष विताए । यसले थारुमा मलेरिया प्रतिरोधी क्षमताको विकास हुन पुग्यो । जब बाहरियाहरुको बसोवास स्थल बन्ने क्रम शुरु भयो, थारुले आर्य हिन्दु, मुसलमान लगायत थुप्रै राजारजौटासँग युद्ध लड्दै अस्तित्व कायम राख्न सफल भएको मानिन्छ । करिब तीन हजार वर्ष देखि आर्य हिन्दुसँगको युद्धमा निरन्तर लड्दै आफ्नो सुरक्षित स्थान खोजीको क्रममा ब्रह्मपुत्र देखि गंगा उत्तरी क्षेत्रमा विचरण गरेको थारु अहिले पनि नेपालको तराई र भारतको विहार तथा उत्तर प्रदेशका केही क्षेत्रहरुमा छन् । तर थारुले आफु नजिकका ठान्ने अन्य जातिहरु उत्तराखण्ड देखि आसामसम्म अहिले बसोगर्दै भोटबर्मेली भाषा परिवार अन्तरगत अन्तरघुलित भएको कारण थारुको थातथलो यकिनका साथ किटान गर्न मुश्किल छ । हाल थारुको भाषा पनि भारोपेली परिवार अन्तरगत पर्ने देखिएकोले यो अन्तरघुलनकै परिणाम हुन भन्न सकिन्छ ।

माघी र राष्ट्रिय पहिचानको सवाल आजको वहसको केन्द्र बनाइएको छ । यहाँ ब्राह्मणहरु अस्तित्वको सवालमा रहस्यपूर्ण सुत्रहरुको सिर्जना गरे । उनीहरु अस्तित्व पूर्णतामा मात्र खोजी गर्न सकिने विषय उठान गर्दै निम्न अनुसारको श्लोक वैदिक चिन्तनका आधार मानिएका उपनिषदहरु मध्ये ईशावष्योपनिषदमा रचना गरेको देखिन्छ:

“ॐ पूर्णमदा पूर्णमिदम पूर्णात् पूर्णमुदच्यते ! पूर्णश्य पूर्णमादाय पूर्णमेवावसिष्यते !!”

अर्थात् त्यो पूर्ण छ । त्यो पूर्णबाट यो पूर्ण आयो । त्यो पूर्णबाट यो पूर्ण घटायो । शेष पूर्ण छ । यसरी सिंगो ब्रह्माण्डलाई पूर्णतामा मात्र व्याख्या गर्न सकिने भनि उनीहरुले शुरु देखि नै ज्ञानको क्षेत्रमा आफुलाई अब्बल बनाइ आए । उनीहरुको सो ज्ञानका तर्कहरुले अरुलाई वसिभूत बनाउने गर्दा नै समाज वर्गीकरणको शिर्ष स्थानमा आफुलाई उभ्याए । आफ्नो ज्ञानको तहबाट समाजको निर्माण गर्ने क्रममा उनीहरुले ब्राह्मण, क्षत्री, वैश्य र सुद्रको ढाँचामा उनीहरुको कर्तव्य समेत किटान गरेर ल्याए । यो प्रणाली तर्कयुक्त रहेको सावित गर्दै अन्तमा शासनको आधार पनि यसैलाई ठोस गर्न पुगे । शासनको वैधतालाई यहि ज्ञानमिमांसाले प्रमाणित गर्न सके । त्यसलाई आधुनिक युगमा माक्र्सवाद र उदारवादले चुनौती दिने गरेको देखिए पनि दक्षिण एसियामा अझै प्रभावी शासनको आधार मानिदै आएको बुझिन्छ र यहाँ लोकतन्त्रको अभ्यास मात्र औपचारिकतामा सिमित बन्न पुगेको तर्क गरिन्छ । अर्को अर्थमा भन्ने हो भने श्यामुल पी. हन्टिङ्टनले भने अनुसार विश्व राजनीतिमा महाशक्तिहरुको दुश्मनी सभ्यताहरु बिचको अन्तरद्वन्द्वले प्रतिस्थापित गर्ने गरेको छ । यस्तो परिवेशमा दक्षिण एसियाको चौथो विश्व राष्ट्रहरुमा थारुको पक्षबाट लिने निर्णय र कार्यले कसरी आउँदो पुस्ताको निमित्त बनाइने विश्वका अन्तर्राष्ट्रिय नीतिहरु प्रभावित हुने हो ? यतिवेला थारुले के सोच्ने हो ? अर्थात् थारुले राष्ट्रिय पहिचानको सवाललाई माघीको आधारमा खोजी गर्दा कति जायज ठहर्ला ? साच्चिकै थारुको अस्तित्व र आत्मगौरब गर्ने विषय माघी वाहेक अन्य छ त ? हामी बिचमा यी र यस्ता सवालहरु वहसमा आइसके । अब वहसलाई निरन्तर चलाउने हो भने ज्ञानमिमांशाको श्रोतहरु ठोस गर्दै जानु वाहेक हामीसँग विकल्प छैन । ज्ञान र सिद्धान्तकै विचबाट उपरोक्त सवालहरुको हल खोज्नु परेको छ । तसर्थ, अब आरोप प्रत्यारोप बन्द गरौं ।

माघी र राष्ट्रिय पहिचानको सवाल ः माघी थारु वाहेक यहाँका खसआर्य, मगर, तामाङ, किराती, नेवार, दलित आदि सबैले मनाउने गरेकोमा भारत वर्षका यी बासिन्दाहरु कहिले देखि यो पर्व अपनाए त ? यकिन साथ भन्न सकिने स्थिति छैन । तर माघी सौर्य मास बमोजिम मनाउने गरेकोले संक्रान्तिमै यसको अस्तित्व भेटिन्छ । सौर्य मासमा सूर्यलाई केन्द्रमा राखेर सूर्य पृथ्वीको मकर रेखा तिर स्थानान्तरण हुने समय माघे संक्रान्तिबाटै शूरु भएको ठहरका साथ माघी पर्व मनाइने मान्यता कायम छ । हुन त यो मान्यता पुरानो होइन र जब सूर्यको परिक्रमा पृथ्वी लगायत अन्य ग्रहहरु गर्ने गरेको ज्ञानमिमांसीय आधारमा र विशेष गरी वैज्ञानिक अनुसन्धानबाट पता लगाउन सके, तब सूर्यलाई केन्द्र मानी सौर्य मास अनुसार क्यालेण्डर तयार हुन थाले । माघी यहि क्यालेण्डर बमोजिम संक्रान्तिको दिन विविध कर्म गरेर मनाइने गरेको पाइन्छ ।

थारुले माघीलाई विशेष पर्वको रुपमा मनाइने गरेको पाइन्छ । यसलाई नयाँ वर्षको रुपमा लिने गरे पनि यो सौर्य माससँग थारुको सम्बन्ध कसरी स्थापित हुन पुग्यो ? विचारणीय सवाल हो । थारुको बाँकी पर्वहरुको गणना चन्द्रमास अनुसार हुने गरेको छ । थारुले मनाइने फागु पूर्णिमा, बैशाख पूर्णिमा, अखारही पुर्णिमा, चौथी चान, अष्टिम्की, जीतिया, दश्मी, सुकराती, छठ, कार्तिक पूर्णिमा, अगहन्नी पूर्णिमा, पुषी पूर्णिमा आदि सबैको आधार चन्द्रमास रहेको छ । त्यसैगरी कालको मुख पनि चन्द्रमाको स्थान अनुसार व्याख्या गर्ने र शुभदिन अर्थात् शुभ साइत हेर्ने गरेको हुन्छ । अन्य चौथो विश्वका राष्ट्रहरुमा समेत चन्द्रमास प्रधान रहेको पाइन्छ । तर, चन्द्रमास भन्दा सौर्यमास यस कारणले प्रभावी देखिन्छ कि सौर्य प्रणाली अन्तरगत सबै ग्रहहरु सूर्यको परिक्रमा गर्नु पर्ने रहेछ । अब सवाल उठछ कि आदिवासीहरुले कुन मासको व्यवहारिकतालाई आफ्नो भन्ने ? सबैको उत्तर फरक फरक आउने प्रष्ट छ ।

यहाँ सूर्यलाई ब्राह्मणले शक्तिको श्रोत मानेर आफ्नो ज्ञान निर्माणको क्रममा गायत्री मन्त्र रचना गरे । गायत्री मन्त्रलाई रहस्यको विषय बनाएर उनीहरुले महिला, सुद्र र गैर आर्यलाई थाहै नदिई आफु आफुमा सिमित गरे । यहि गोपनियताको आधारमा उनीहरुले व्यक्तित्व विकास गर्ने गरेको थियो । गायत्री मन्त्रलाई उनीहरुले अहिले पनि आफ्नो रचना ठान्ने गरेको छ र यो यस प्रकार उल्लेखित छ:

“ॐ भुर्भूवः स्वः तत् सवितुर्वरेण्यम् भर्गोदेवस्य धिंमही धियो योनः प्रचोदयात् ।”

अर्थात् हे ईश्वर ! जिवनदाता, संकट तथा दुःख हरणकर्ता, करुणादायी तिमी यस ब्रह्माण्डको निर्माता, प्रकाश दिएर पापहरु नास गर्ने तिमी सधैं हामीलाई सही बाटोमा लैजाने ज्ञान देऊ । उपरोक्त आधारले माघी लगायत सौर्य मास बमोजिम मनाइने विभिन्न पर्वहरु सनातन हिन्दु दर्शनसँग जोडिएको प्रष्ट हुने गरेकोले खसआर्य शासक यस दिनलाई बढो भव्य रुपले मनाउन नेपालमा राष्ट्रिय पर्व विदा स्वीकृति दिन तयार देखिएका हुन । माघीको ज्ञानमिमांसिय आधारले थारु लगायत अन्य जाति÷समुदायले अरुको संस्कृति ग्रहण गर्न पुगेको निष्कर्ष निकाल्न सकिन्छ अथवा खसआर्यले थारुको परम्परागत ज्ञानमा आधारित माघी ग्रहण गर्न पुगेको भन्न सकिन्छ । हामी यहि सन्दर्भमा राष्ट्रिय पहिचानको खोजी गर्दा खसआर्यको ज्ञानमिमांसा भन्दा पर कुन तर्क उठान गर्ने ? सौर्यमासको आधार पक्रेर तर्क गर्ने हो भने गोग्रेरियन क्यालेण्डर अनुसार डिसेम्बर २२ लाई किन वर्षको सबै भन्दा छोटो दिन मानेर सूर्यको मकर रेखातिरको स्थानान्तरण त्यसपछिका दिनहरु ठहर नगर्ने ? वास्तविकतालाई मध्यनजर गर्ने हो भने यहाँ माघे संक्रान्ति पनि ढीलो छ । चन्द्र्रमास अनुासर पुषी पूर्णिमा पछि आउने दिन माघी हुनुपर्दथ्यो किनकी पुषी पूर्णिमा त्यस वर्षको सबैभन्दा छोटो दिन हुने भयो । यसले थारुको विचमा पहिचानको अर्को जटीलता ल्याउने अनुमान गर्न सकिन्छ ।

आदिवासी पहिचानको सुत्र

आदिवासी विरुद्ध हुने विभेद र समस्याका बारेमा अध्ययन गर्न नियुक्त संयुक्त राष्ट्रसंघका विशेष समाधिक्षक होजे मार्टिनेज कोबोले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनले प्रथा परम्परालाई आदिवासीको परिभाषाको एक अवयवको रुपमा संसार भरी लिने गरेको पाइन्छ । उनका अनुसार–“ आदिवासी समुदाय, जनता र राष्ट्र भन्नाले  उनीहरुको भूभाग उपनिवेश र अतिक्रमण पर्न अगाडि देखि निरन्तर रुपमा बसोबास गरी आएका र हाल उनीहरुको भूभागमा रहेका अन्य समाज भन्दा आफूलाई पृथक ठान्दछन् । वर्तमान समाजमा उनीहरुको हावी छैन, तथापी, निरन्तर रुपमा अस्तित्वमा रहेका जनता भएको आधारमा आफ्नै साँस्कृतिक ढाँचा (प्रथा परम्परा ), सामाजिक संस्था र कानुनी प्रणाली ( प्रथाजनित न्याय प्रणाली ) अनुसार उनीहरुले आदिवासीय पहिचान र पुख्र्यौली थलो आफ्ना भावी सन्ततीहरुलाई पुस्तान्तरण गर्न अडिग छन् ।” यस परिभाषाको अन्तरवस्तुमा उल्लेखित प्रथा तथा प्रथाजनित कानुन नै त्यस्तो आधार हो जसले आदिवासीलाई पृथक ( अन्य समुदाय भन्दा भिन्न ) सामुहिक पहिचान सहित निरन्तर अस्तित्वमा रहेका जनताको मान्यता दिलाउँदछ । त्यतिमात्र होइन, आफ्ना पहिचान र पुख्र्यौली भूमीसँगको सम्बन्धलाई पुस्तौंपुस्ता कायम गर्दछ भन्ने मान्यता उपरोक्त परिभाषाले लिएको छ । नेपालको सन्दर्भमा थारुलाई यहि परिभाषा अन्तरगत यहाँका आदिवासी भनि राज्यको नीति अनुसार किटान गर्न सके ।

आदिवासी पहिचानको सुत्रले थारुलाई राष्ट्रिय पहिचानको आधार दिने तर्क एउटा होला । माघीले थारुको राष्ट्रिय पहिचान गराउने विषयमा थप वहस हुनु आवश्यक छ । यहाँ आदिवासी पहिचान र राष्ट्रिय पहिचान दुई फरक विषय हुन । राष्ट्रिय पहिचानले राज्यात्मकतासँग जोड्ने र शासन गर्ने वैधता प्रदान गर्दछ । अहिलेको राष्ट्रिय राजनीतिमा पहिचानको सवाल आदिवासी पहिचानसँग जोड्दै गर्दा त्यसले राष्ट्रिय पहिचानको आधार पनि दिन सके थारुलाई शासन गर्ने वैधता हुन्छ । वर्तमान सत्ताको आइडियोलोजीले थारुको राष्ट्रिय पहिचान “मासिने मतवाली” भनेर परिभाषित गरेको पाईन्छ । तसर्थ, थारुलाई सत्तासँग जोड्न सक्नुपर्दछ किनकी सत्ता वाहेक सबै भ्रम हुन भनी माक्र्सवादीहरुको समेत ठहर हुँदै आएको छ । थारु यहाँ ऐतिहासिक काल देखि नै शासकवर्गसँग निरन्तर संघर्षमा रहेको प्रमाणीत भइसके । तापनि, ती संघर्षहरुको सैद्धान्तिकरण नगरे सम्म अन्यौलता कायम रहने र एक अर्कालाई आरोप प्रत्यारोपको निरन्तर प्रक्रियामा अल्झाइ रहने काम हुन जान्छ । यी नै वर्तमानको प्रमुख चुनौती हुन्।

निष्कर्ष ः अनेकौं सवालहरुको विचबाट माघीलाई थारुले राष्ट्रिय पहिचानको आधार मान्ने हो भने खसआर्यको ज्ञानमिमांसीय तर्क भन्दा पर जानु पर्ने हुन्छ । यो सत्य हो कि वस्तुले चेतना जन्माउछ र चेतनाले वस्तुको विकास निर्धारण गर्ने काम गर्दछ । तसर्थ चेतना र वस्तुको विच रहेको अन्तरसम्बन्धले विकास भएको अस्तित्वलाई नजरअन्दाज गरेर पहिचान खोजी गर्न सकिंदैन । वस्तु वाहेक अरुको अस्तित्व नस्वीकार्ने यान्त्रिक भौतिकवादीहरुको धारबाट ब्रह्माण्डको व्याख्या गर्न सकिंदैन न त चेतना वाहेक अन्यको अस्तित्व ईन्कार गर्ने आदर्शवादी अथवा भाववादी धारले नै । स्वभाविक रुपमा अस्तित्व पूर्णतामै कायम रहन्छ र ब्राह्मणहरुले पता लगाएको यो सत्य आज पनि उतिकै प्रभावी मानिदै छ । त्यसैको प्रतिबिम्ब मानव समाजमा सत्ता हो जसबाट जीवनका हरेक पक्षहरुलाई प्रभावित गराइरहेको पाउँदछौं ।

सौर्यमासको प्रतिस्पर्धि विचार भनेको चन्द्रमास नै हो । चन्द्रमासले मानव जीवनसँग पुरानो नाता कायम गर्न सफल भयो र आज पनि उक्त सम्बन्ध जिवित नै छ । फेरि चन्द्रमास कुनै स्वतन्त्र आइडियोलोजीको ज्ञानमिमांसीय दर्शन भन्दा बढी व्यवहारलाई निर्देशित गर्ने हुनाले मानव जीवनलाई सधैं प्रभावित बनाउँदै आए । हो, यहि जगबाट थारु लगायत अन्यका कतिपय महत्वपूर्ण संस्कार र संस्कृति निर्देशित भई आज अलग पहिचानको आधार मान्ने क्रम शुरु भएको छ तर भाषा, धर्म, संस्कृति र संस्कार युरोपमा पुनःजागरण काल पछि मात्र विज्ञानसँग जोडिए । यसरी पुनःजागरण कालको परिणामस्वरुप उनीहरुले विकास गरेको आधुनिकताले संसारलाई नै प्रभावित बनाए जुन अपश्चिमीकरणको लहरले आज एसियामा नयाँ वहस प्रारम्भ गरेको छ र ज्ञानको क्षेत्रमा नै महाविष्फोट हुँदै आर्थिक, सामाजिक–साँस्कृतिक, राजनीतिक क्षेत्रहरुमा विकल्पहरु खोजी गर्न थालेको पाईन्छ । युरोपमै पनि पुनःजागरण कालको नकारात्मक पक्षहरु ( डार्क साइड अफ रेनासा ) वहसमा आएको देखिन्छ जसले थप ज्ञानका नयाँ धारहरुको खोजी गर्न सघाउने छ । अर्को अर्थमा सत्य निरपेक्ष हो अथवा होइन भन्ने जटील सवाल ज्ञानोदय कालको वेला पनि देखियो र अहिले सम्म कायम रहेको पाईन्छ । तसर्थ राष्ट्रिय पहिचानको आधार निरपेक्ष हो अथवा होइन, उपरोक्त कसिमा नै निक्र्यौल गर्नु पर्ला तर आज जे वहसमा आएको छ कि माघी एक ठोस आधार दिन्छ थारुको राष्ट्रिय पहिचानको अहिले यसलाई वहसमै छोडौं ।

सदस्य, संयुक्त थारु राष्ट्रिय मोर्चा

(संयुक्त थारु राष्ट्रिय मोर्चाको आयोजनामा साप–फाल्चा, काठमाण्डौमा २०७३ साल पौष २९ गते हुने थारु, माघी र राष्ट्रिय पहिचानको सवाल विषयक एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रममा प्रस्तुत अवधारणा पत्र ।)

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *