धर्म परिवर्तनले थारु परिवारमा भाँडभैलो

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब दिन थाले। तर, हिन्दु धर्मबाट विचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिस्चियन भएकै कारण विवाह गर्न असहमति जनाए।

‘मलाई दाइले बर्दियाकी क्रिस्चियन धर्म मान्ने केटीसँग विवाह गर्न कर गर्नुभयो,’ रामबहादुरले भने, ‘तर मेरो मनले मान्नै सकेन।’ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे। त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए। ‘उहाँले भनेको केटीसँग मैले बिहे नगरेकाले अनि म क्रिस्चियन नबनेकाले दाजु रिसाउनुभएको थियो,’ रामबहादुर भन्छन्, ‘त्यसैकारण मलाई घर छुट्याइदिनुभयो।’

रामबहादुर प्रतिनिधि मात्र हुन्। फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन्। केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन्।

देउखुरी गढवा लक्षिणपुरकी सेतु नेपालीले अहिले यस्तै हैरानी बेहोर्नु परिरहेको छ। श्रीमान्को भन्दा फरक धर्ममा लागेपछि उनलाई अहिले धर्म परिवर्तन निल्नु न ओकेल्नु भएको छ। ‘श्रीमान्सँग दिनहुँ झगडा र कुटपिट भइरहेको छ,’ स्थानीय शिक्षक सकलराम चौधरी भन्छन्, ‘हामीले श्रीमान्लाई धेरैपटक सम्झाउँदा पनि कलह रोकिएको छैन।’ सेतु हिन्दु धर्म त्यागेर क्रिस्चियन धर्ममा प्रवेश गरिन्। उनको धर्म परिवर्तनको एउटै कारण थियो– क्रिस्चियन धर्ममा श्रीमान्लाई पनि ल्याउने र मदिरा सेवन गर्ने कुलतबाट जोगाउने।’ तर सेतुको प्रयास विफल बन्यो। उल्टो दिनहुँको कलह निम्तियो। उनका श्रीमान् क्रिस्चियन बन्न मानेनन्। बरु दिनहुँ घरमा कलह हुन थाल्यो। ‘मदिरा सेवनकै कारण उहाँहरूबीच विवाद भएको हो,’ शिक्षक सकलराम भन्छन्, ‘विवादका बेला धर्मको कुरा पनि जोडिँदो रहेछ।’ सकलराम पनि क्रिस्चियन धर्मका अनुयायी हुन्। उनी थुप्रै परिवारमा अहिले धर्मसम्बन्धी विवाद चलिरहेको बताउँछन्। ‘परिवारभित्र बेमेल भएका घटना धेरै हुन्छन्,’ उनी भन्छन् ‘श्रीमान् र श्रीमती फरकफरक धर्ममा लागेका परिवारमा यस्तो कलह व्यापक बन्दै गएको देखिन्छ।’

केही परिवारमा त दाजुभाइबीच सम्बन्ध बिग्रिएका उदाहरण पनि छन्। देउखुरी सतबरियास्थित एक चौधरी परिवारमा भित्रिएको ‘धर्म–विवाद’ ले दाजुभाइबीचको सम्बन्ध बिग्रिएको छ। उनीहरूबीच बोलचालसमेत बन्द भइसकेको छ। यो परिवारमा मृत्यु संस्कार कसरी गर्ने भन्नेबारे विवाद सुरु भएको थियो। बाबुको क्यान्सरबाट मृत्यु भएपछि फरक धार्मिक आस्था भएका दाजुभाइबीच उनको अन्तिम संस्कार कसरी गर्ने भन्ने विवाद चल्यो। परिवारका साइँला छोरा क्रिस्चियन हुन् भने बाँकी तीन दाजुभाइ हिन्दु।

साइँलाले बाबुको अन्तिम संस्कार क्रिस्चियन धर्मअनुसार गर्न चाहे। बाँकी तीन दाजुभाइले उनको प्रस्ताव स्वीकार गरेनन्। आखिर बाबुको मृत्यु संस्कारकै विषयमा चर्को विवाद भयो। गत वर्षको यो घटनापछि दाजुभाइबीच फाटो आएको छ। पहिले एकै परिवारमा मिलेर बसेका उनीहरूले यही विवादकै कारण घर फुटाए। ‘बुवाको मृत्यु संस्कार कसरी गर्ने भन्ने विवाद भएपछि सम्बन्धै सकियो,’ परिवारका कान्छा छोराले भने, ‘अहिले पनि साइँला दाजुकोमा आवतजावत, बोलीचाली छैन।’

देवेन्द्र बस्नेत/नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *