जालु भाइ [कथा]

रेशम चौधरी।

म निर्वासनमा बस्दा सबैभन्दा पहिले मेरो बारेमा खोजिनिती गर्ने ब्यक्ति हुन् जालु भाइ!ऊनी त्यति चलाक त छैनन् तर मलाई अत्यन्त सचेत र थारू आन्दोलनको बारेमा चिन्ता गर्ने ब्यक्ति लाग्छ।ऊनी पटक पटक मलाई भेट्न आउँछन् र केहि न केहि नासो बोकेर ल्याउँछन्।ऊनी भेट्न आउँदा अक्सर दिउँसो बोल्दैनन् तर बेलुकी अलिकति घाँटी भिज्यो भने मलाई समेत हकार्न छोड्दैनन।उनको अक्सर गुनासो रहन्छ – दाजु अप्नि पाहाडिनके विरुद्धम काहे नै बोल्ठी? हुँक्रे त अप्निह बर्बाद कर्देनै जे? (दाइ तपाई पाहाडिको विरुद्धमा किन बोल्नुहुन्न?तिनीहरुले त तपाईलाइ बर्बाद पारेका छन्।)म उनलाई सम्झाउँछु-भाइ हाम्रो माग राज्य संग हो।समाजमा बसेका सबैसँग लडाइँ गर्‍यो भने त साम्प्रदायिक दंगा भैहाल्छ नि!त्यस्तो काम त लुटेरा,बदमाश बाट मात्रै हुन्छ मैले नै त्यस्तो गरेंभने उनिहरु र म मा के नै फरक रहन्छ र?चुरोटको लामो सर्को तान्दै ओछ्यानमा पल्टिँदै उहाँ अक्सर यहि शब्द भन्दै सुत्नुहुन्छ -दाइ तपाई महान हुनुहुन्छ!

उनै जालुभाइले दशै तिहार म संग मनाउने बाचा गरेका थिए तर कुनै काम परेर होला ऊनी आएनन्। दशैँ तिहार जस्तो चाड्पर्ब कसरी मनाइयो?कति पिडा भए ?त्यो भुक्तभोगी लाइ मात्रै थाहाहुन्छ। तिहार पछिको एकदिन ऊनी टुप्लुक्कै मेरो अगाडि देखापरे।सुंगुरको सुकुटी,सुकाएको माछा,एक बोटल भोड्का र केहि डब्बा सुर्य चुरोट मेरो ओछ्यानमा राख्दै उनले भने-दाजु, म तपाईलाइ लिन आएको!
– मलाई लिन आएकोभए यतिको समान किन बोकेर ल्याएको त?मैले ठट्टा गरें।
– होईन दाइ,यति सिध्याउने अनि मेरा गाउँ जाने।
– अत्यन्तै सोझो,धेरै बोल्न नजान्ने जालु भाइको यि शब्द सुनेर म छक्क परें।किन ऊनी यस्तो भन्दैछन् म अलमलमा परें।म संगै बस्ने विद्यार्थी भाइ अजय पनि जिल्ल पर्‍यो।उ अघिनै आफ्नो कोठामा सुंगुरको सुकुटी आएको सुनेर नाक खुम्च्याइरहेको थियोे तर मेरो अगाडि जहिलेपनि श्रद्धाका साथ उभिने भएकोले केहि भन्न सकिरहेको थिएन।बेलुकीको खाना बनाउने समय भैसकेकोले म पनि ओछ्यानबाट तल झरेँ र प्याज काट्ने मेसो गर्न थालेँ।
– दाइ यो पनि पकाउने र?अजयले सोध्यो।
– पकाउने,सबै पकाउने,जालुभाइले एक साँस मा भनिसिध्यायो।
– म त खान्न,के गर्ने ?अजयले भन्यो।
– आज दाजुसंग बसेर दशैँ मनाउने हो।यत्रो महान नेताले खानहुने,हामिले नखाने?खानुपर्छ भाइ।जालुको कुरा सुनेर म हाँसे।
– ठिकै छ,आज माछा खाने अनि भोलि सुकुटी खाने,मैले आग्रह गरेँ।
– होईन दाजु!आज सबै पकाएर खाने,भोली मेरो घर जाने।सधैं यसरी बसेर कहाँ हुन्छ दाइ?हामीले मान्छे मारेको छैन,चोरी गरेको छैन,आफ्नो अधिकार राज्यसँग माग्दा दशैँतिहार मनाउन समेत नपाई बिदेशमा बस्नुपर्ने?
– नै हुइ दाजु,मै सल्लाह कर्के आइलबाँटु,जैसिकफे घर जाइपरी।(हुन्न दाइ!मैले सल्लाह गरेर आएकोछुँ,जसरीपनि घरमा जानुपर्छ।)लसुनको पोटि छोडाउँदै जालुभाइले भने।
म जालुभाइको आजको हर्कत देखेर अचम्म परेको छुँ।सबैजना मिलिजुली हामीले भात,माछा र अन्त्यमा सुंगुरको सुकुटी बनायौँ। घरमा पनि माछामासु बनाउन अघिसर्ने बानी छ मेरो।मिठो,नमिठो बनाइसकेपछी डिनरप्लेट्मा पस्किँदै तिन भाग लगाएर खान बस्यौं,मैले अजयको भागमा सुकुटी राखिन किनकि अहिलेसम्म उसले खाएको छैन र कर पनि गरिन।मैले परिकारका प्लेट भुँइमा राख्दा गिलासमा भोड्का राखिइसकेको थियोे।ह्याप्पी दशैँतिहार!भन्दै चियर्स गर्‍यौं।मैले माछा कस्तो छ?भनेर अजयलाइ सोधेँ।दाइले बनाएको खानामा कुनै कमेन्ट नै हुन्न नि,अजयले भन्यो।
– दाइ!म एउटा कुरा भनुँ?जालुले कुरा कोट्याए।
– हुन्छ,त्यो पनि सोध्नुपर्छ र?मैले भने।
– दाइ,यसपालि दशैँतिहारमा हाम्रो गाउँघर,जिल्लामा सबैतिर कुराभो।दाइ सधैं यसरी बसे हामी टुहुरा हुन्छौं,आखिर हामीले के नै बिगारेका छौँ र?तपाई घर फर्केर फेरि आन्दोलनको घोषणा गर्नुपर्‍यो दाइ।हामी सबै साथमा छौँ।मरे सँगै मर्छौँ,बाँचे सबै बाँच्छौ दाइ।सबै साथीहरूले जसरी पनि लिएर आउनु भनेकाछन् ।
– दाइ कसरी जानुहुन्छ त?उहाँलाइ सरकारले मुद्दा लगाएको छ।अजयले चुस्की लगाउँदै भन्यो।
– झुठो मुद्दा लगाएर हुन्छ?थारूलाई सार्‍है हेपेको छ,सरकारले ।जालुले कड्किँदै भन्यो।
– के गर्ने पहाडी शासक नै यस्तो छन् त?हाम्रोतिर पनि बहुत मान्छे मार्‍यो सालेहरुले।अजयले मधेसी लवजमा आक्रोश पोख्दै भन्यो।खाली सातजना पुलिसको कुरा गर्छ,हाम्रो साठिजना देख्दैन सरकारले?हाम्रोतिर पनि स्कुल जाने बच्चा मरेको छ।जालुतिर मुख घुमाउदै अजयले भन्यो- साला!सब टिकापुरको रिस मधेसमा फेरेको छ पुलिसले।हामिलाइ त देख्यो कि गोलि चलाउँथ्यो सालाहरुले।
-रक्सीको नसा संगै अजयको आक्रोश बढ्दैथियो,म चुपचाप उनीहरुको कुरा सुनिरहेको थिएँ। संघीयताको सवालमा मधेसी,जनजाती,थारू,मुस्लिम,उत्पीडित बर्ग आफु ठगिँदै गएको महसुस सबैले गरिरहेका छन् ।बिशेशत:तल्लो बर्गकालाइ बढी पिडा दिएको छ संघीयताले।एक्काइसौं शताब्दीमा पनि हाम्रो पहिचानको अपमान भएकोछ भनेर सबै पहिचानबादिलाइ महसुस भएको छ।हो,हिजो शक्तिको आडमा जागिर खान सकिएन,आइ.जि.पि.,सेनापती,सचीव बन्न सकिएन तर इतिहास त हामीले पनि अध्यन गरेकाछौँ।हजारौं निहत्था गाउँलेको हत्या गरेर सयौं मुद्दा खेपिरहेकाहरु सरकारमा छन्।प्रचण्ड र बाबुराम दुईजना त देशको प्रधानमन्त्री भै कार्यकारी प्रमुख नै भैसकेको अबस्था छ।महाकाली सन्धि गरेर देशलाई खुम्च्याउनेहरु खाँट्टी रास्ट्रबादी भएकाछन।असफल घोषितहरु सफल भएका छन।देशका युवा शक्तिको लामो पंक्ति या त बिदेशमा छन या त यिनै राजनैनिक दलको पुच्छर भै बसेका छन्।परिवर्तनमा स्वार्थको रजाइँ छ।कोही उत्तर झुक्छन,कोहि दख्खिन् झुक्छन्।झुक्नेहरु स्वाभिमानी भएका छन् ,शिर उठाउनेहरुलाइ जबर्जस्ती झुक्न बाध्य बनाइँदैछ।आक्रोशले बस्तीमा जरा गाडिसकेको अवस्था छ,खोइ?कसरी यिनको चित्त बुझाउनेहोला? सकस त हामी जस्ता बुद्धिजीवीलाइ परेको छ,सम्झाउन जाँउ,निरबासित जिवन ब्यतित गर्न बाध्य बनाएको छ सरकारले।नसम्झाँउ,बिद्रोहको मुस्लोले कुनबेला देशै खरानी बनाउँला भन्ने पिर।
– दाजु काहाल त जैबी काँहु?जालुको अनपेक्षित प्रश्नले म झस्किँए।(दाइ,भोली त जानेहोला नि होईन?)
– हेरौं भाइ के हुन्छ ? मैले भनेँ।
– कहाँ जानुहुन्छ उहाँ ?उहाँलाइ पक्र्यो भने त हाम्रो सर्बस्व गैहाल्छ नि,अजयले भन्यो।उहाँलाइ जसरीपनि बचाउनुपर्छ।टाउकै रहेनभने शरीर के काम लाग्छ?उहाँको मुद्दा जहिले सरकारले फिर्ता गर्छ तहिले आउनुहुन्छ।अजयलाइ नशा चढिसकेको थियो।
– उहाँलाइ समात्यो भने हामी सबै जेल जान्छौं, तेत्रो हिम्मत कहाँ छ सरकारको?साला एक एक थारू केटा रोएर बसेको छ। हुन्न दाइ जानुपर्छ,नत्र सब थारूले तपाईंलाइ डरछेरुवा भन्छ।जालु भाइले चुरोटको धुवाँ उडाउँदै भन्यो।
– धेरै दिनमा पिएर होला मलाई नशाले छोइसकेको छ,अब खाना पस्कौँ है?मैले अनुरोध गरेँ।
– खाना त छदैछ तर पहिला भन्नुपर्‍यो दाइ जाने कि नजाने ?नत्र म खाना खान्न,नशाले धुत भएर जालुले भन्यो।अब हामिलाइ टुहुरो बनाउन पाइन्न दाइ।
– हद हुइ त बन्दुक उठाइपरी आउर का हुइ? (हद भए बन्दुक उठाउनु पर्ला,अरु के हुन्छ?)
-ठिक छ भाइ जाउँला नि त।जालुभाइको चित्त बुझाउँदै मैले भनेँ।
– हाँ आब खाना पस्की।बल्ल चित्त बुझल मोर।(अब खाना पस्किनुहोस,बल्ल चित्त बुझ्यो मेरो।)
खाना खाइवरी सुत्यौँ हामी।म माथी पलङ्गमा एक्लै सुतेँ तल भुइँमा जालुभाइ र अजय सुते।उनिहरु मधेस र थारू आन्दोलनको बारेमा गनगन गर्दैथिए तर म पिएपछी निदाएको पत्तै पाउँदिन।
भोलिपल्ट बिहानै म उठेर मर्निङवाकमा गएँ,उनिहरु सुतिरहेका नै थिए।बिहान उठेर सामान्य एक्सर्साइज गर्ने बानी छ मेरो,यो कार्यलाइ मैले यतापनि निरन्तरता दिएको छुँ।म फर्किँदा जालुभाइले आफ्नो पोको पोकुन्तरो कसिसकेका थिए।मेरा बाहिर रहेकोे सर-समान जुत्ता,चप्पल आदि प्लास्टिकका थैलोमा राखिसकेका थिए।मैला कपडाहरु पट्याएर बिस्तारामा ठिक्क थियोे।म आश्चर्य चकित थिएँ जालुभाइको व्यबहारले।अजयलाइ भने नशाले छोडिसकेको थिएन, उ अझैसम्म बिस्तारामै पल्टिरहेको थियोे।कहिल्यै धेरै नबोल्ने जालु,हिँजो त्यसरी बोल्दा अचम्म त परेको थिएँ तर साँच्चिकै झोलितुम्बा कसेर गाउँ जानुपर्छ,यो चाँही पत्याइएको थिएन।म कोठामा सरासर चिया बनाउन थालेँ।अजयलाइ चिया खान्छौ?भनेर सोध्दा उ अझै सुत्ने,मलाई टाउको दुखिरहेको बतायो।दुइ कप चियामा एक कप जालुभाइ लाइ दिँदै सोधेँ – हैन भाइ,साँच्चिकै घर जाने हो र भन्या?अहिले बेला भैसकेको छैन,केहिदिन पछी मुद्दा फिर्ता हुन्छ अनि जाउँला।अब यतिधेरै त बसिसकियो,दुइ चार हप्ता अझै बस्दा के फरक पर्छ र?
– यसरी बसियो भने दुइचार हप्ता त के दुइ चार बर्षमा पनि यिनले मुद्दा फिर्ता गर्दैनन् दाइ।अहिले केटाहरु पनि तात्तिएका छन।एक दुई झटका नदिए सरकारले सुन्नेवाला छैन,त्यसैले गाउँमा जाँउ,बरु बजारतिर नगए हुन्छ तर अबपनी गाउँमा नगए सब बर्बाद हुन्छ दाइ।उता कान चिरिएका कनफुट्टा जोगिहरु आएर गैसके।फिरङ्गिहरु पनि गाउँ पसेका छन्,अझै यिनले कति बिगार्ने हुन?त्यसैले तपाई गाउँ जानैपर्छ।अब सबै थारूको एउटै मात्र आशा तपाईं हो दाइ।
– जान त जाने तर अहिले बसको टिकट कहाँ पाइन्छ त?बस कि त बिहान जान्छ कि बेलुकी मात्रै जान्छ।जानैपरे बेलुकी जाउँला नि त।मैले जालुलाइ सान्त्वना दिदैँ भने।
– हुन्छ,त्यो पनि ठिकै छ,जालुभाइ चुप लागेर चिया पिउन थाल्यो।हाम्रो गन्थनले अजयको निँदहराम भैसकेको थियो।उ बिस्तारा बाट जुरुक्क उठेर- ए दाइ!हतारमा निर्णय नगर्नुस् है,तपाई जस्तो नेताले धेरै सोचेर मात्रै कदम अघि बढाउनुपर्छ।अहिले गएर मात्रै के हुन्छ ?त्यो फिरङ्गिहरुलाइ अब जतिसुकै भनेपनी जनताले पत्याउनेवाला छैन,अनि त्यो एन जि ओ चलाउनेलाइ पनि कसले नेता मान्छ ?नेता भनेको अब तपाई मात्रै हो।तपाईंले पनि धोका दिनुभयो भने,त्यसपछि सब बर्बाद हुन्छ।उसले आफ्नो मधेसी लवजमा हामिलाइ सतर्क गराउँदै भन्यो।
– ठिकै छ नि त,म दुइचार दिनलाइ यसो माहोल बुझ्नमात्रै पनि जान्छु। के रहेछ,अवस्था राम्रो भएन भने फेरि फर्केर आउँला।
– त्यो त ठिकै हो दाइ,तैपनि बिना सोच बिचार नगरी त्यसै हामफालिहाल्नु हुन्न।अहिले सबै बिरोधि मात्रै छन् ,अबको केहिदिनमा मुद्दा फिर्ता हुने कुरा छ,अलिदिन कुर्ने हो कि?अजयको सुझाव मिश्रित आवाज थियोे।
– होईन!दाइ एकपटक जसरी पनि पुग्नैपर्छ।हामी छौं नि।जालुले सहास का साथ भन्यो।
– त्यसोभए दाइ किन यहाँ आउनुपर्‍यो त?अजयले जालुलाइ हेर्दै सोध्यो।
– त्योबेला अबस्थै त्यस्तो थियोे त?अहिले अलि फेरिएको छ।फेरि दाइ निर्दोष छ भनेर धेरैलाई थाहा पनि छ।अब आन्दोलन उठाउने हो कि भनेर पनि दाइले सोच्नुपर्छ।त्यसै यता बस्नुभो भने भोली दाइलाइ घरको न घाट्को बनाउँछन।
– ठिकै छ भाइ म जान्छु,भनेर म खाना बनाउन तर्फ लागेँ।हिजोको तरकारी बाँकी छ,भात मात्रै बसालेर म आफ्नो लुगाफाटो झोलामा थन्क्याउन थालेँ।
बेलुकी आनन्दबिहार बसपार्कमा हामी तिनैजना छौँ।अजय हामिलाइ छोड्न आएको छ।उ अलि निन्याउरो मुख लगाएको छ।जालुभाइ उत्साहित छ।हामी दुबैजनाको बसको टिकट पनि जालुले नै किन्यो।केहि चिप्सका प्याकेट र एक बोतल पानी ल्याएर अजयले मलाई दियो।चिन्ता नगर्नु ,म दुइचार दिनमा फिर्ता भैहाल्छुँ भनेर सान्त्वना दिदैँ हामी बस चढ्यौँ।अजयले खुट्टै छोएर ढोग्यो,मलाई सार्‍है नराम्रो लाग्यो।जालुभाइ र अजयले हात मिलाएर बिदा भए।हात हल्लाउँदै मैले पनि केहिदिनका लागी दिल्लीलाइ बाइ बाइ गरेँ।
बिहान ५:००बजे हामी पलिया बजार पुग्यौं।पलिया बजारबाट केहि किलोमीटरमा गौरिफन्टा पर्छ,जुन धनगढीबाट ३ किलोमीटर मात्रै छ।पलियामा हामिलाइ लिन जालुभाइको भान्जा सुमित आएका छन्।हामी मोटरसाइकलमा चन्दनचौँकी बजार तर्फ लाग्छौँ।नेपाल र भारतको सिमाना भै बग्ने मोहना नदिबाट डुङ्गामा तरेर नेपाल आइयो।नेपाली भुमिमा पैताला टेक्दा लाहुरबाट लाहुरे घर फर्के जस्तो,घरबाट चेली माइत आए जस्तो,कस्तो,कस्तो!!उमंगित भैरहेँ म।जालुभाइको श्रीमती अर्थात् भाइबुहारीले बनाएको मुलाको सागको कपुवा र बोडी तरकारी खाँदा घरमै खाए जस्तो लाग्यो।जालुभाइले कुण्टिमा( कोठामै ) बिस्तारा लगाइदिए।भाइबुहारीलाइ कसैलाई नभन्नु भन्दै हामी दिउँसो सुत्ने तर्फ लाग्यौं।
बेलुकी जालुले सुंगुरको मासु किनेर ल्याए।पिउने मन त थिएन तर अलिकति डर भगाउन भएपनी एक गिलास लोकल रक्सी संगै सुंगुरको मासु खुबै मिठो मानेर खायौं।राति हामिलाइ सुत्ने बन्दोबस्त खेतको खलियानमा(धान काटेर खेतमा थन्क्याउने ठाउँलाइ खलियान भनिन्छ) मिलाइएको थियोे।दाँई गरेर धान त्यतिकै खलियानमा छोडिएको रहेछ।त्यही धान कुर्नलाइ सानो झुपडी पनि बनाइएको थियोे।दुइचार गर्‍हाको होला सायद अलिकति धान दाउँन पनि बाँकी छ।हामी सुत्नलाइ खलियानमा पुग्दा त करिब १५० जना जति थारू युवा केटाहरू कुरेर बसेका रहेछन्।म अचम्म पर्दै यो के हो?भन्दै जालुलाइ सोधेँ।उनले भेटघाटको लागि बोलाइएको र यिनै केटाहरू नै हाम्रा शक्तिहुन् दाइ भनेर भने।१५ देखि २५बर्ष सम्मका ति युवाहरूको जोश देख्दा म अचम्ममा परेँ।मैले पहिचान र जातीयताको बारेमा करिब एक घन्टा जति कुरा गरेँ।हामीले जातीय राज्य होईन पहिचान सहितको संघीय प्रदेश मागेका हौँ भनेर सम्झाँए।उनीहरु रगत बगाएर भएपनी तपाईंलाइ बचाउँछौ तर तपाईं निर्बासित जिवन बिताउनु भएन भनेर भने।मैले जातीय युद्धले निम्त्याउने खतरा र भोलिको हाम्रो भविष्यको बारेमा सम्झाइ,बुझाइ गरेँ।थारु केटाहरूको जोश देख्दा नै मैले अनुमान् लगायँ,सायद यस्तै कलिलो जोशको दुरुपयोग माओवादीले गरेको हुनुपर्छ।यस्तो जोशिला केटाकेटीलाइ मैले पनि दुरुपयोग गर्न सक्छुँ तर त्यसपछि म र, हजारौं लासमाथी रगतको होलि खेल्ने माओवादीमा के नै फरक रह्यो र? मेरो आन्दोलनको यात्रामा पहिचान मुख्य मुद्दा हो,जुन मुद्दामा भौगोलिक साँस्कृतिक पहिचान मुख्य बिषय हो। जहाँ आदिवासी,जनजाती,उत्पीडित,दलित,मधेसी,मुस्लिम,थारूआदिको खोसिएको अधिकार फिर्ता लिनु छ।बाहुन,क्षत्रीहरुले मलाई रेशम हाम्रो बिरोधि भनेर प्रचार गर्छन् तर म बाहुन,क्षत्री बिरोधि होईन,म बाहुनबादको बिरोधि हो, जहाँ गरिब बाहुनले जागीर पाउने लोभमा दसौं किलो घिउ नजराना चढाउँछ,हो!त्यही घिउ घुसखाने बाहुनबादको कट्टर बिरोधि हुँ म।क्षत्रीपनि त्यही बाहुनबादको चङ्गुलमा फँसेको छ,फरक यत्ति हो!क्षत्री अझै आडम्बरी रनभुल्लमा छ। उसलाई थाहा छैन,नेपालको पौराणिक इतिहास देखी बर्तमान सम्म बाहुनबादले क्वाप्ल्वाक्कै खाएको छ। उ बिर्सन्छ -एकीकरणका हरेक हत्कन्डामा त्यही बाद छेकबार थियोे,राणा,राजा,प्रजातन्त्र त्यही बादले खायो।गणतन्त्र,लोकतन्त्र पनि त्यही बाद्ले खाँदैछ।यो खतरनाक बाद हो,यसले आफ्नो समुल बंश बिशाल देख्दछ।यसले आफ्नो युगौँको नश्लसंग साइनो जोडेकैछ,अझै मितेरी साइनो मंगोलियन संग जोड्दै त्यही मंगोलियन बंशलाइ सखाप पार्ने तानाबाना बुन्दैछ।

मैले गरेको सम्बोधन युवाहरूको लागी सन्जिवनी जस्तै बन्यो।कोहि कोहि त अब तपाईंको पार्टीको सदस्यता हामिलाइ दिनुस,अब हामी तपाई भन्दा अर्को पार्टीमा लाग्दैनौ भनेर कसम समेत खाए।ति युवाहरू मलाई छोड्ने पक्षमा थिएनन् तर जालुभाइले हामी धनगढी जानुपर्छ भनी तिनलाई झुक्याएर घर पठाइदिए।हामी केहिबेर त्यही खलियानको परालमा बसिरह्यौँ।सबैजना गएपछि त्यँहिको सानो झुपडीमा सुत्न गयौं।
बिहानै जालुभाइ चिया लिन घरमा गए।यता खलियानमा एकजना अधबैंसे थारू दुईवटा राँगाले दाँई हालिरहेका थिए।एकछिनमा जालु चिया लिएर आइपुगे।सानो केतलिबाट चिया खन्याएर एक कप मलाई पिउन दिए।जालुभाइले चिया खन्याइरहँदा उनै दाँई हाल्ने थारु दादाले भने – मै त कौन पर्बाती सुतल बाट कहतनहुँ,तुर्‍ह रलहो काहुँ।सारे मारे आइ कलसे यिह अख्रहिनले मरम कहतनहुँ।यिह पर्बातिन्के कारणसे त हमार थारु जेलम बाट।पहाडीन् त मर्नसे काम कर्ना हो। ( म त को पहाडी सुतेको छ भनेको,तपाईहरु पो हुनुहुँदोरहेछ।म त पहाडी भए यहि लठ्ठीले कुटुम्ला भनेको त।साला यै पहाडीले गर्दा त हाम्रा थारु जेलमा छन।पहाडीलाइ त देख्यो कि कुट्नुपर्छ।)

म ति थारु दादाको आक्रोश देखेर किंकर्तब्यबिमुख भएँ।मेरो शरीर एकतमासले झमझमायो।ओहो!कति डरलाग्दो कुरा।यो थारु दादा जस्ता लाखौं थारुहरु छन जसले अझै संघीयताका बारेमा बुझेका छैनन्।यिनलाई केवल आक्रोश छ त पहाडी समुदायसंग।किनकि यिनिहरु आफु पहाडी समुदायसंग ठगिएको महसुस गरेका छन।
– का जे पिट्बी पहाडीन् दाजु?सक्कु पहाडी त बदमाश नैहुइट काहुँ?मैले सोधेँ ।( किन पिट्ने पहाडीलाइ?आखिर सबै पहाडी त बदमाश छैनन्)
– का हुइ नैपिट्बी सारन् ? मोर पाँच बरष कमाइल बिघै नै दिहल हो सारे।हमार लौन्डिह प्याट् बोकाक अन्त लगाइपरल।झन्न बिचारा दमाँद सोझ बाटैँ।( किन नपिट्ने सालेहरुलाइ!मेरो पाँच बर्ष कमाएको मेहनत नै दिएको छैन।मेरो छोरीलाई गर्भवती बनाएर अन्तै बिहे गर्नुपर्‍यो।झन्डै ज्वाँइ साब सोझो परेर मात्र।)
– हो, हो!ठिक कलि दाजु।जालुभाइले कुराको सार मिलाए।म भने बिहानिको बाथका लागी खेततर्फ लाँगे। बिहानिको बाथले मान्छे कत्ति आत्तुर हुन्छ तर मेरो सब गायब थियोे।मैले सोचेँ,थारूहरुसंग आक्रोश छ त आफु शोषिएको,आफ्ना चेलीबेटी बलात्कृत भएको,आफु पिट्टिएको।उ सोझो छ,उसले सबै पहाडी उस्तै हुन् भन्ठान्छ।उसलाई आफ्नो पहिचानको अधिकारको बारेमा केहि थाहा छैन,उसलाई त केवल बदला लिनुछ,आफ्नो हिसाब् किताब गर्नुछ।बेलैमा सचेतना सहित सम्झाइएन भने उ आफु मर्न र मार्न तयार छ,किनकि उसलाइ आफ्नो शोषणको क्षतिपूर्ति लिनुछ।खुला खेतमा मेरो बिहानिको बाथ यहि सोच्दा सोच्दै बित्यो।एकछिन पछि खलियानबाट मैले एकजना थारू वकिललाइ फोनबाट आफु कैलाली आएको जानकारी गराएँ।ऊनी डराएर हत्तपत्त फोन काटिदिए।संसारको न्यायको लागी लड्ने वकिलको यो कायरपना देखी म अचम्मित मात्रै भएन,दयापनि लागेर आयो।मलाई अर्को एकजना थारूनेता भेट्न आउन लागेको जानकारी जालुभाइले दिए।हामी घरमा गएर हातमुख धोयौँ।बुहारीले खाना तयार गरिसकेकी रहिछन्।लोकल कुखुराको मासुसंग भात खाइरहँदा उनै थारु नेता हतोत्साहित भै हामी खाइरहेको कुन्टिमा पसे।उनि डराएका जस्ता देखिन्थे।खाना खाइवरी हात धोइसकेपछी उनलेे भने – तपाई जतिसक्दो छिटो यहाँबाट गैहाल्नुस,हेर्नुस् लक्ष्मण जि जेलमा हुनुहुन्छ,अब तपाईं पनि जेलमा गए हाम्रो कोहि हुन्न।बरु उता गएर नेताहरुसंग मिल्ने वातावरण मिलाउनुस।जतिसक्दो छिटो समस्याको समाधान गर्नुपर्छ।नभन्दै एक भ्यान प्रहरी गाउँको बाटोमा स्कर्टिङ गरिरहेका थिए,मलाई पनि डर त्रासमा बस्नुभन्दा निर्बासनमा गएर नेताहरूसंग वातावरण मिलाउनु ठिक लाग्यो।

पलियाबाट दिल्लीको भोल्भो बसमा यात्रा गरिरहेकोछुँ।गाडीभित्र ए.सि. चलिरहेको छ।झ्यालको पर्दा उघारेर म भारतको उखुको फाँटहरु हेर्दैछुँ।बोट,बिरुवा,जंगल अंग्रेज़ले केहि बाँकी राखेको छैन,तरपनी हरिया उखुको फाँटले त्यहाँको किसानलाइ न्याय दिएको छ।यहाँ आरक्षण माग्नुपर्दैन,नेताले स्वयं लडेर दिन्छन्।पहिचान खोज्नु पर्दैन,सबैलाई खुशी पारिएको छ।हाम्रो देशमा अंग्रेजले शासन त गरेनन् तर उहि समुदाय,उहि बर्गले सदियौँदेखी शासन गरिरहेको छ।उनको यो एकात्मक शासनबाट कहिले मुक्ति पाउनेहोला खोइ?म पुनः दिल्ली फर्किँदा जालुभाइ छाँद हालेरै रोए,बसपार्कमा बिदाइ गर्दा उनि सुकसुकाउँदै भन्दैथिए, दाइ!तपाई हाम्रो मुक्तिको लागी बन्दुके क्रान्ति कहिले गर्ने हँ?सायद!उनले मलाई दिल्लीबाट ल्याउनुको एउटै कारण रहेछ – शसस्त्र क्रान्ति।तर म गान्धी खोज्दैथिएँ।रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेका थिए रे।पहिचानको बस्ती जलिरहँदा नेपाली निरोले बाँसुरी बजाइरहेछन।जालुभाइ चित्त नदुखाउनु,नेपाली निरोकै कारण हाम्रो देश बर्बाद भैरहेको छ। यस्तो दिनपनी नआउला भन्न सकिन्न, जुनबेला त्यो धुनको कुनै महत्त्व हुनेछैन।देशमा रगतपसिना बगाउनेलाइ मात्रै मातृभुमिको माया हुन्छ जालुभाइ!फिरन्ते भिरङ्गिहरुलाइ न देशको माया हुन्छ,न त मातृत्वको नै।उनीहरुको काम नै लुटपाट गर्नु हो,पाएसम्म लुट्छन,सिद्धियो भने गु,मुत्को ढेर छोडेर आफ्नो बाटो लाग्छन्।सबै लुटिएका असली धर्तिपुत्रहरु फेरि त्यो ठाउँलाइ सफा गर्छन् र पुन: आफ्नो जीवनयापनको सपना बुन्न थाल्छन्। बसको पाङ्ग्रा खाल्डामा परेरहोला,निकैजोर हल्लिन्छ,म छेउको डन्डी समात्छु र मुठी कस्दै प्रण गर्छु – जालुभाइ!क्रान्ति र आन्दोलनको यात्रा लामो हुनसक्छ तर मुक्तिको मार्ग यो दाइले तय गरेरै छोड्ला।।




Leave a Reply

Your email address will not be published. Required fields are marked *