साहित्यिक कार्यक्रममा युवाहरुको आकर्षण

कारी महताे/चितवन।

साहित्यिक कार्यक्रमहरुमा युवापिंढीहरु आकर्षित हँुदै गएको छ । आज पूर्वी चितवनको पर्सा बजार स्थित संगीत प्रशिक्षण केन्द्रमा भएको मासिक साहित्यिक गोष्ठीमा साहित्यिक रचना वाचन गर्नेहरु प्राय युवा जमात नै रहेको थियो । पूर्वी चितवन साहित्यिक समाजले आयोजना गरेका उक्त कार्यक्रममा करिब २१ जनाले कविता, गजल, मुक्तक, कथा बाचन गर्नुका साथै गीतसंगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवाहरुको गीत गायन प्रतिभाहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मिठास बनाएको थियो । कार्यक्रमको प्रमुख अतिथि रहनुभएका पूर्व शिक्षक तथा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद चौधरीले साहित्यिक समाजको प्रशंसा गर्दै “भर्खरै जन्मेको संस्था भए तापनि निकै प्रतिभाहरु आबद्ध भएका रहेछन् भन्नु भयो ।” उनले २०२५ सालदेखि २०५० सालसम्म रचना गर्नुभएको ४ वटा थारु भाषाका कविताहरु समेत बाचन गरे ।

पूर्वी चितवन साहित्यिक समाजका अध्यक्ष मनोज चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु अधिकारकर्मी संजय चौधरी, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, शिक्षक बुद्धि कुमार श्रेष्ठ लगायतले बडादशैं तथा दिपावलीको शुभकामना मन्तव्यका साथै रचनाहरु बाचन गरेका थिए । त्यस्तै कुमार सिंजाली मगर, राज प्रणय, अनिता ओली, सुरज कालाखेती, हितबहादुर अधिकारी, प्रमिला गुरुङ, सागर मिश्र, सुदीप विक, श्रीकृष्ण योगीनाथ, मिथुन कुँवर लगायतले आफ्ना रचना बाचन गरेका थिए । करीब ३ घण्टासम्म भएको उक्त कार्यक्रममा युवा संगीतकार कुमार सिंजाली मगर, सुदीप विक, सुरज कालाखेती, अनिता ओली, प्रमिला गुरुङको सुमधुर गीतसंगीतले सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।

युवा उमेरमा खराब संगतका कारणले कुबाटोमा लागेर थुप्रैको भविष्य बर्बाद भएको छ । तर त्यहि उमेरका युवाहरुले सिर्जनशीलतालाई अंगालेर साहित्यिक फाँटलाई सम्हाल्नका लागि कम्मर कसेर लागेका छन् । युवाहरुको जोसजाँगरलाई पाका उमेरका साहित्यकारहरुले सहि मार्गदर्शन गरेको खण्डमा भविष्यमा पूर्वी चितवन साहित्यिक समाजबाट धेरै आश गर्न सकिने देखिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *