टीकापुरमा सद्‍भावका लागि पहल कसले गर्ने ?

कृष्णराज सर्वहारी।

मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर,

खै! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर,

सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु–

अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर।

©

हलो जुवाको साटो उसको हातमा जंजीर छ,

निर्दोष भएर’नि अपराधी हुनुमा ठूलो पीर छ,

हत्याको अभियोगमा थुनामा परेको दिन देखि–

उसको आँखामा मात्र दुश्मनको तस्वीर छ।

माथि उल्लेखित दुइ मुक्तक धनगढी, कैलालीका सत्य नारायण दहितको हो। २०७३ साउन २३ गते उनले आफ्नो फेसबुक वालमा सम्प्रेषण गरेका यी दुइ प्रतिनिधि मुक्तकले टीकापुरको समग्र अवस्थाको प्रतिनिधित्व गर्छ। पहिलो मुक्तकले कर्फ्यूका बीच पनि घर जलाइएका पीडित थारुहरुको पीडा ओकलेको छ भने दोस्रो मुक्तकले निर्दोष भएर नि थुनिनु पर्दा बदलाको भाव झल्किन्छ। टीकापुर घटनाको पृष्ठभूमि केही महिना, वर्षको कालखण्डको होइन। विभिन्न कोणबाट विश्लेषण गर्दा टीकापुर घटनालाई समयमा सही सम्बोधन नगरिने हो भने अवस्था झन जटिल बन्ने अवस्था छ।

यसै सन्दर्भमा मित्र गणेश चौधरीसंगको सहकार्यमा थरुहट आन्दोलनः टीकापुर कथा नामक पुस्तक लेखिएकोमा सार्वजनिक हुँदैछ। यस पुस्तकमा संग्रहित मेरो लेखन थारु कल्याणकारिणी सभाः विगतदेखि वर्तमानसम्म तथा थरुहट आन्दोलनको दशा र दिशा आलेख मधेस अध्ययन जर्नलको क्रमश तेस्रो (२०७०) र पहिलो अंक (२०६९) मा प्रकाशित छ। ती आलेखलाई यस पुस्तकमा संशोधन गरी राखिएको छ। यी दुवै आलेख प्रकाशित गर्ने नेपाल मधेस फाउण्डेशन तथा सुझावका लागि तात्कालीन मधेस अध्ययन जर्नलका सम्पादक राजेन्द्र महर्जन तथा तुलानारायण साहप्रति आभारी छु। बि.सं २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस) नेपालकै पहिलो अग्रणी सामाजिक संस्थामा दरिन्छ। पुस्तकको ३ वटै मुख्य आलेखमा यसको गतिविधिबारे चर्चा छ। स्थापना कालको लामो कालखण्डमा शासकहरुको कुममा कुममात्रै जोडेको थाकसले पहिलो थरुहट आन्दोलन (२०६५) बाट मात्र बलजफ्ती आन्दोलनमा होमिएको देखिन्छ। २०७३ सालको मध्य बिन्दुमा आइसक्दा पनि थाकसको राजनीतिक मागको चित्र प्रष्ट छैन, साथै यसका हालका अगुवा धनिराम चौधरी टीकापुर आन्दोलनका कारण भूमिगत रहने अवस्था रहेकोमा कार्यबाहकको जिम्मेवारी पनि कसैको काँधमा देखिदैन। यसले समग्र थरुहट आन्दोलनलाई पनि असर पारेको छ, किनकि थरुहट आन्दोलनको संयोजन थाकसले नै गरिरहेको छ। यसले पनि थरुहट आन्दोलनको दशा र दिशा झल्किन्छ। हालः टीकापुर घटनाको आरोपमा हिरासतमा रहेका माओवादी पृष्ठभूमिबाट आएका थरुहट/थारुवान आन्दोलनको उठानमा लक्ष्मण थारुको ठूलो हात देखिन्छ। टीकापुर घटनाका कैदीहरुलाई कसरी दुर्व्यावहार गरिएको छ भन्ने दृष्टान्त परिशिष्टमा उनी आफैँले भोगेको कथा पढ्दा थाहा हुन्छ।

२०७२ भदौ ७ र ८ को टीकापुर घटना हुँदा त्यसबीच म राजधानीको एक पुस्तक लेखनको १० दिने गोष्ठीमा थिएँ। टीकापुर घटनाले म कति बिचलित, किंकर्तव्यबिमुढ भएँ भने यस एक वर्षको अवधिमा टीकापुरबारे एकाध कविता लेख्नुबाहेक विश्लेषणयुक्त लेख लेख्न हिम्मत जुटाउन सकिनँ। यसको पृष्ठभूमि समेटिएको घटना दस्तावेजीकरण गर्ने विचार भने त्यसैबेला पलाएको थियो। टीकापुर घटनापछि राजधानी खाल्डोमा बस्ने मेरा अभिन्न, लेखक गैरथारु मित्रहरुले मलाईसमेत थारु आतंककारीको रुपमा व्यवहार गर्दा मन कटक्क खायो। के एउटा घटनाले समुदायका सबैलाई एउटै नजरियाले, एउटै चश्माले, एकै डालोमा हालेर हेर्न मिल्छ? आन्दोलनको भीडतन्त्रलाई रोक्न सकिन्न। सामान्य बन्द कार्यक्रममा आयोजकभन्दा भड्काउने समूह गाडी, घरका सीसा फुटाउन बढी उद्धत रहन्छ। भदौ ७ को नहुनुपर्ने अप्रिय घटना भयो। तर अर्को दिन भदौ ८ को आगजनीको घटना सिंगो थारु समुदायकेन्द्रित थियो। थारुहरुको लडाईँ सिंगो राज्यसँग थियो, यदि उनीहरुले नश्लवादी आन्दोलन गरेका भए टीकापुर घटनामा थारु जातिका प्रहरी मारिने थिएनन्। थारुहरुको घरमा छानी छानी आगजनीको घटनाले भने नश्लवादी आन्दोलनको छनक दिएको छ, जो निकै नै खतरनाक छ। सिसाको घरमा बस्नेले अरुको घरमा सिसा हान्नु हुँदैन। भदौ ७ को हत्याको अभियोगमा थुनिएकाहरु दोषी भए कारबाही अघि बढाए हुन्छ तर भदौ ८ को आगजनीको घटनामा खै कारबाही, खै क्षतिपूर्ति?

Tikapurko kathaटीकापुर डेटलाइनमा रही पत्रकार मित्र गणेश चौधरीले सन्तुलित ढंगले टीकापुर घटनाको बस्तुनिष्ठ व्याख्या गरेका छन्। उनको आफ्नै घर पनि टीकापुर हो। जसले टीकापुर बस्ती बसाए, जसले टीकापुरलाई मलजल गरे, आज उही थारु, मगर समुदाय टीकापुरको फाइदा लिनबाट वञ्चित भएको छ। प्रशासनमा गैरथारुकै बोलवाला भएपछि कानुनी दृष्टिले कमजोर भइ आदिवासीहरुले घरजग्गा गुमाएका छन्। देश संघीयतामा गएपछि आदिवासीहरुले अग्राधिकार पाउन छाडेर आदिवासीहरुको उठीबास गराउने एक कडीको रुपमा टीकापुर घटना देखिएको छ। यस घटनालाई नजीर मानी धमिलो पानीमा माछा मार्नेहरुबाट राज्य सचेत हुनुपर्छ, विडम्वना राज्य नै धमिलो पानीमा माछा मार्नेहरुलाई सघाउन थालेपछि स्थिति भयावह बन्दै छ। गणेशजीले यस्तै प्रसंग उठाएका छन्।

टीकापुर घटनाको प्रसंग समेटिएको यो पुस्तकको प्रारम्भ र बिसौनीमा दिइएका दुई कविताले समेत थारु साहित्यकारहरु आफ्नो समुदायको दुःख पीडा लेखनीमा दस्तावेजीकरण गर्न उद्धत छन् भन्ने देखाउँछ। यस्ता रचनाको छुट्टै गतिलो पुस्तक बन्ने देखिन्छ। पाण्डुलिपि प्रेसमा पठाउँदा समेत केही थारु अगुवा बुद्धिजीबीहरुले टीकापुरबारे लेख्नेहरुलाई अझै पनि खतरा छ, त्यसैले पुस्तक प्रकाशनबारे अझै सोँच्न आग्रह नगरेका होइनन्। तर सधैं जित्नेहरुको इतिहास पढ्ने बानी बसालेका हामी यो हरुवाहरुको इतिहासको कडी हामीले नलेखे कसले लेख्ने भन्ने विचारले पुस्तकको रुपमा ल्याइएको हो। यसमा राज्यका अगुवामात्रै होइन, आफ्नै समुदायका अगुवाहरुको पनि कमी कमजोरी केलाइएको छ।

थारुवान डटकम तथा नागरिक दैनिकका सञ्चारकर्मी मदन चौधरीले २०७३ साउन २० गते आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए- २०७३ साउन २० गते प्रचण्ड पुनः प्रधानमन्त्री बने। त्यसका लागि थारु, मधेसी नेताहरुले पनि काँध थापे। के अब थारु, मधेसीले उठाउँदै आएका माग सम्बोधन हुन्छ? टीकापुर घटनामा झुटा मुद्दा खेपेर जेल जीवन बिताइ रहेकाहरु छुट्लान्? ब्यापार फस्टाएकै कारण जलाइएका निरु ट्रेडर्स, फुलबारी रिसोर्ट, मीरा फर्निचरका पीडितहरुले क्षतिपूर्ति पाउलान्? प्रहरी भयले पलायन भएका थारुहरु फर्किएलान्? भयभित टीकापुरमा शान्ति छाउला? मनमा अनेकौं प्रश्नहरु उब्जिएका छन्। संघीय गठबन्धनको तीन बुँदे सम्झौता गच्छदारले बुझाएको ८ बुँदेजस्तै सत्ताको भर्‍याङमात्र त होइन?’ मदनले उठाएका प्रश्न सबैका आम प्रश्न हुन्। किनकि गैरथारु सम्मिलित छानबिन समितिले नै घटनाका दोषीलाई पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने र भौतिक सम्पत्तिको क्षति भएका पीडित परिवारलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सकेको खण्डमा सामाजिक वातावरण सुध्रिन गई सद्भाव फैलिने देखिन्छ भन्ने सुझाव दिएको छ। सद्भावका लागि पहल कसले गर्ने? कहिले गर्ने?

र, अन्तमा २०७३ साउन ५ को कान्तिपुर दैनिकमा थारुरुहरु देउडा नाचेको खबर आयो। तर दुई चार जना थारु देउडा नाच्दैमा टीकापुरमा थारुहरुउपर भएको धरपकड, घर जलाइएका थारुहरुको क्षतिपूर्ति असुल उपर हुँदैन। दशैँमा सख्या नाच्न नपाएको थारुहरुले भुलेका छैनन्, अटवारी अस्टिमकी चाडमा थारु दिदी बहिनीहरुले अग्रासन (कोशेली) नपाएको भुलेका छैनन्। पहिला घर जलाइएका थारुहरुको क्षतिपूर्तिको व्यवस्था होस्। टीकापुरका निर्दोष बन्दी छुटुन्। भागाभागको अवस्था अन्त्य होस्। राज्य थारुहरुको पनि हो भन्ने अनुभूति होस्, टब बल्ल सद्भावको बाटो खुल्ला  कि?

(कृष्णराज सर्वहारी तथा गणेश चौधरीबाट लेखिएको थरुहट आन्दोलनः टीकापुर कथा नामक यो पुस्तक २०७३ भदौ ७ गते युनियन हाउस, अनामनगर, काठमाडौमा दिउँसो २ बजे विमोचन हुँदैछ। पुस्तकको लेखकीयलाई मूल आधार लिइएको यो संशोधित लेख हो)




Leave a Reply

Your email address will not be published. Required fields are marked *