शेषचन्द्र चौधरीलाई गोली हानी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

डेढ बर्षअघि चितवन निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जनही ३४ वर्ष कैद फैसला गरेको छ । उनीहरु पुर्पक्षका लागी कारागारमा थिए । नियमित काम शिलशिलामा माडी हुँदै ठोरी गइरहेका बेला ती व्यक्तिले चौधरीको निकुञ्ज भित्र गोली हानी हत्या गरेका थिए ।

न्यायाधीश बासुदेव पौडेलको इजलासले माडी अयोध्यापुरी स्थित बाँदरझुला ९ का जीवन प्रजा, गिराज प्रजा र मानबहादुर प्रजालाई बुधवार उक्त सजाय सुनाएको जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । ‘चौधरीको हत्याको अभियोग लागेका तीनैजना माथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डांका र अवैध हतियार ओसारपसार अन्तर्गत मुद्दा चलेको थियो,’ उनले भने । रत्ननगर १ सौराहाचोक घर भएका चौधरी निकुञ्जका सिनियर गेम स्काउट थिए । निकुञ्ज भित्र हुने चोरी शिकारीको सूचना र नियन्त्रणमा उनी अब्बल थिए ।

‘हामीले होनाहार कर्मचरी गुमायौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, ‘तस्करको आक्रमणमा परी उनको ज्यान गयो ।’०७१ असोज ९ गते ठोरीस्थित दीपानगर पोष्ट जाने क्रममा गौंडा कुरेर बसेको समुहले देउराली भन्ने स्थानमा उनिमाथि भरुवा बन्दुकले प्रहार गरेका थिए । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो । उनीसंगै मोटरसाईकलमा सबार माडीका त्रिलोक चौधरी गम्भिर घाईते भएका थिए ।

गोली प्रहार पछि दुबै माथि धारिलो हतियार प्रयोग भएको थियो । घट्नापछि फरार उनीहरुलाई ०७१ कार्तिक १ गते बाँदरझुलाबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) को टोली खटेको थियो । टोलीले पक्राउ गरेकालाई लामो अनुसन्धानपछि अदालत पेश गरिएको थियो । त्यस बेला उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाईएको थियो । घट्नापछि प्रहरीले संलग्न आरोपमा त्यस बेला ६ जना पक्राउ गरेको थियो । ३ जनालाई आरोप प्रमाणित नभएको भन्दै अदालतले सफाई दिएको बरालले जनाए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योग अन्तर्गत जनही ५ वर्ष कैद, डांका मुद्दामा ६ वर्ष कैद र अवैध हतियार अन्तर्गत ३ वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको बरालले जनाए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *