Nepal Risk Reduction Consortium

सोम डेमनडौरा

बर्दिया जिल्लाको एक ऐतिहासिक स्थान हो राजापुर। पूर्बमा गेरुवा र पश्चिममा कौर्यार नदिको बिचमा ११ गाबिस आफ्नै कथा ब्यथा बोकेको छ। मिश्रित जातजाति र थारु समुदायको सघन बस्ती रहेको ठाउँ हो भौंरा टप्पा। द्धन्द्धकालमा यो ठाउँलाई सानो रोल्पाको नामले पनि चिनिन्थ्यो। स्वभाबैले थारु समुदाय सोझो, मिजासिलो र कानूनीरुपमा या प्रशासनीक रुपमा कम्जोर समुदाय हो। जमिन्दारी प्रथाको जग रहेको एक प्रमुख ठाऊ हो। यसैले पनि सशस्त्र द्धन्द्धको बेला तत्कालिन बिद्रोही माओबादीको तारो बन्यो।

तत्कालीन शाही सरकारको आँखा पनि बर्दियाको भौंरा टप्पामा लाग्यो। त्यत्तिबेला जसले जुन दृष्टिकोणले थारुलाई हेर्यो त्यही देख्यो र त्यही बनायो। एक जना थारु माओबादी हुँदा थारु समुदायलाई नै माओबादीको आरोप लाग्यो। थारु कहिले राजाबादी, कहिले कांग्रेसी त कहिले माओबादी र अहिले मधेशीको कित्तामा अभ्याइएको छ। तर थारु को हुन् त भन्ने प्रश्नको जवाफमा उत्तर बंग्याउन यहाँका शासक बर्ग निकै सिपालु छन्। र यिनै कारण यहाँको संरचना छिन्न भिन्न, अस्तब्यस्त र असुरक्षित पनि बनेको छ।

खास गरेर तत्कालीन् शाही सरकार र बिद्रोही माओबादीको ११ बर्षको युद्धको असर अहिले प्रत्यक्षरुपमा देश भित्र देख्न सकिन्छ। यसमा भौंरा टप्पा बर्दियाको सबभन्दा प्रभाबित क्षेत्र हो। ती असर सामुदायिक सुरक्षाका मुख्य सवाल बनेका छन्। यसले गर्दा सामाजिक, साँस्कृतिक, आर्थिक विकास थप्प भएका छन्। केही गति लिन खोज्दा पनि सुषुप्त अवस्थामा छन्। बाँके जिल्ला र कैलाली जिल्लाको चेपुवामा पर्नुको अर्को कारण पनि हो विकासको अबरोधक। तर यि सबै भन्दैमा पन्छिन मिल्ने या चुपचाप लाग्न सक्ने अवस्था भने होइन। राजनीतिक अस्थिरता तथा अस्वस्थ राजनीति, विकास र सुरक्षाको प्रमुख कारक तत्व हुन् भन्दा केही फरक नपर्ला। सुरक्षा कम्जोर हुनु, कानूनी राज्य स्थापना हुन नसक्नु, दण्डहीनता बढ्दै जानु यिनै कारणले पनि विकास अबरुद्ध हुन्छ।

सुरक्षा चुनौति र समाधानका उपाय

अधिकांश युवा बेरोजगार

Som Tharuयहाँका अधिकांश यूवाहरु बेरोजगार छन्। ११ बर्षे जनयुद्धकालमा हुर्के बढेका बालबालिकाहरु त्यही अनुसारको शिक्षा, संस्कार र संस्कृति सिक्नुपर्ने बाध्यता थियो। एक दशकको पुस्ता नै त्यही संस्कारबाट गुजि्रनु पर्यो। अधिकांश यूवा बिदेश पलायन हुनु पर्ने बाध्यताले शिक्षाको स्तर त्यसै नै खस्क्यो। युद्ध पोषित जनशक्ति अहिले हिंसाका प्रमुख पात्र बनेका छन्। न त उद्योग धन्दा, न ब्यापार व्यवसाय, न त बैज्ञानिक कृषि। यिनै बेरोजगारीले गर्दा गरिबी बढ्नु र माहोल हिंसात्मक, अपराधिक हुनु स्वभाविक हो।

यूवाहरुलाई स्वरोजगार बनाउन आधुनिक कृषि प्रणाली हुनु जरुरी छ। कृषि नीति कृषकमुखी हुनु पर्छ। सरकारको कृषिमा लगानी, कृषि बिमा, बजार भाऊ, बजार व्यवस्थापन र यूवाहरुलाई प्रोत्साहन गर्ने खालका सम्मानजनक कृषि नीत र यसको कार्यान्यवन गर्न सक्नुपर्छ।

लागु पदार्थ दुर्व्यसनी

यतिबेला गाऊँ गाउँमा लागु पदार्थको बिगबिगी छ। बाह्र बर्षका बालबालिका देखि यूवा र प्रोढमा समेत पनि गाँजा, चरेश, भाँग तान्ने गरेको पाइन्छ। अझ खास गरेर किशार र यूवाहरु यो समस्या बाट ग्रसित छन्। एक अर्काको देखा सिकी, साथी सँगतले गर्दा कुलतमा फस्दै गएका छन्। जाँड रक्सीको कुलत अझ अत्याधिक छ। गाँजा चरेश खाने, जाँड रक्सी खाने, चोरी लुटपाट गर्ने, झै झगडा र काटमार गर्ने घटना बढ्दै गएको अवस्था छ।  कहिले त्यो घरको कुखुरा चोरी भएको छ, सुंगुर, भेडा बाख्रा चोरी भएको छ, पैसा चोरी भएको छ, यूवा यूवा बिच लडाई भएको छ जस्ता कुराहरु यस ठाउँका लागि सामान्य बन्दै गएको छ। अझ यसले गर्दा लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार बढ्नुका साथै आत्महत्या पनि बढ्दै गएको छ। यसर्थ, लागु पदार्थ दुर्ब्यसन, मादक पदार्थको कुलत असुरक्षाका मुख्य सवाल हुन्।

लागु पदार्थ दुर्व्यसन एउटा रोग हो। यो समाज र देशकै लागि खतरा हो। यसको बिरुद्ध सचेतना अभियान, खुला र लाइसेन्स बेगर रक्सी बेचबिखन कार्य, अत्याधिक सेवन गरि समाजको शान्ति र सुरक्षामा खलल् पुर्याउनेलाई कडा कारवाही गर्न जरुरी। थारु समुदायमा दारु संस्कृतिको प्रयोग भएता पनि समुदायको शान्ति सुरक्षामा अबरोधक या हिंसात्मक गतिबिधी गरेमा कानूनी दृष्टिकोणले हेरिनुपर्छ।

कानुनी राज्य स्थापना हुन नसक्नु

देशमा कानून कार्यान्वयन नभई दण्डहिनताको अवस्था रहेका ले पीडक र अपराधीले अर्को घटना घटाउन प्रोत्साहन पाउँछ। कुनै हिंसा या शान्ति सुरक्षामा खलल् पार्ने खालको गतिबिध गर्दा उसलाई छुट छ। या कुनै चोरी, लुटपाट, कुटपीट गरेमा गाउँमै मिलाएर समान्य कारबाही समेत नगरी छाडीएको छ। पटक पटक घटना दोहर्याउँदा पनि मिलापत्र गरिनुले अपराधिक मानसिकतामा बृद्धि भएको। कुनै घटना प्रहरी सम्म नपुगी गाउँमा मिलाउने र प्रहरी सम्म पुगे पनि राजनीतिक हस्तक्षेप तथा दबाबका कारणले अपराधीलाई छोड्ने प्रबृत्तिले यस्ता घटना प्रश्रय पाएका छन्। यसर्थ कानून कार्यान्वयनको सवालमा राज्य सबल हुनुपर्छ। अपराधिक कार्यमा पक्षपाति, मेलमिलाप र हस्तक्षेप जस्ता दण्डहिनताको संस्कृति बन्द गरिनुपर्छ।

अस्वस्थ रानीतिक प्रतिस्पर्धा

अहिले हाम्रो देशको मुख्य समस्या भनेको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा हो। घटना घट्यो राजनीतिक दलको अगुवाईमा अपराधीलाई संरक्षण दिनु यो सबभन्दा विकराल समस्या हो। बेरोजगार यूवालाई सकरात्मक नेतृत्व हस्तान्तरण गर्नुका सट्टा लडाई, झगडा, ठेकेदारी तथा मारकाटको प्रतिस्पर्धामा लगाइएको छ। यूवा जनशक्तिलाई विकास भन्दा बिनाशको बाटोमा दोर्याइएको छ। यूज एण्ड थ्रो को संस्कृति ब्याप्त छ। यसले गर्दा पनि यूवा समुदाय निराश भएर गलत काममा लीन हुन बाध्य हुन्छ।

राजनीतिक दल तथा नेताहरुले यूवाहरुलाई सकरात्मक, सहकार्यात्मक कार्य तथा देश निर्माणको कार्यमा लगाउनु नै उत्तम उपाय हो। उनीहरुलाई आन्दोलन र संघर्षको फ्रन्ट लाइनमा मात्र होइन कि विकास, योजना र रणनीतिक योजनाको फ्रन्ट लाइनमा ल्याउनुपर्छ। जिम्मेवारी बहन गर्ने र गराउने दुइटै कार्य गराउनु पर्छ।

शैक्षिक स्तरः बिद्यालय र अभिभावक

विकास, सभ्यता र समृद्धिको प्रमुख आधार शिक्षा र उद्यमशीलता हो। शिक्षा छैन, अरु केही पनि हुनेवाला छैन। अहिले ११ गाबिसको शिक्षाको अवस्था हेर्ने हो भने दुःखदायी छ। शिक्षामा सरकारको लगानी जतिसुकै भए पनि अनुगमन प्रणाली कडा नहुनुले प्रतिफल निराशाजनक छ। यसो हुनुमा सरकारको प्रमुख गल्ति त छँदैछ। यो भन्दा ठुलो गलती शिक्षक, अभिभावक, बिद्यालय व्यवस्थापन समिति, अभिभावक संघको छ। बिद्यालय अहिले अहिले राजनीति गर्ने थलो भएको छ। विद्यार्थीका लागि प्रेमलाप गर्न सक्ने रमाइलो पार्क भएको छ। ती बिकृतिहरु न शिक्षकले रोक्न सकेको छ न अभिभावकले नै। शिक्षकले रोक्न खोज्दा बिद्यार्थी बाट नै असुरक्षित हुने खालको वातावरण कससे सृजना गर्यो? यसको जिम्मेवार को?

शिक्षक र डाक्टर यस्तो पेशा हो जसले सारा कुलत त्याग गरेर शिक्षा दिने र स्वस्थकर बनाउने प्रमुख माध्यम हुन्। तिनै बाट गलत संस्कृतिको शुरुवाट हुन्छ भने पछिल्लो पुस्ता तिनै कुरा त सिक्ने हुन् नी। स्कूलीङ्ग नै गलत भएकाले समाज अझै जटिल बनेको छ।

यसर्थ मासिकरुपमा बिब्यस, अभिभावक संघको बैठक, समिक्षा, रणनीतिक योजना, अतिरित्त क्रियाकलापमा बृद्धि, शैक्षिक सामाग्री ब्यवस्थापन, नियमित अनुगमन र शैक्षिक नीतिको कार्यान्वय गरिनु आवश्यक छ।

सुरक्षा निकायको मोबिलीटी नहुनु

११ गाबिसका लागि राजापुर नगरपालिकामा एउटा इलाका प्रहरी कार्यालय, गोडियानामा सिमा प्रहरी चौंकी, मनाऊमा प्रहरी चौकी, खैरी चन्दनपुरमा प्रहरी चौकी, भिम्मापुरमा प्रहरी चौकी रहेका छन्। राजापुर इप्रकामा प्रहरी नायब उपरीक्षको दरबन्दी छ। समुदाय तथा बस्तु स्थिति तथा सुरक्षा अवस्थाको आधारमा बिश्लेषण गर्दा यो न्यून अवस्था त होइन तर मोबिलिटी भने एकदमै न्यून देखिन्छ। प्रहरीहरु सबै गाबिसका र वडामा पुग्न सकेको अवस्था छैन। प्रहरी कम्तीमा गाबिस स्तरमो गस्ति, भ्रमण गएको भए असुरक्षाका घटनामा कमी आउँन सक्थ्यो। खुलायाम गाँजा चरेशको प्रयोग, होहल्ला, झैझगडा जस्ता शुरुवाटी घटना गस्तिकै कारणले बन्द हुन्थे।

प्रहरी गाउँ स्तरमा जाने, समुदायसँग समुदायीक सुरक्षाको बारेमा छलफल गर्ने कार्य अगाडी बढाएमा नागरिक र प्रहरीको सम्बन्ध बिस्तार भई यस्ता घटना कम हुन्थे। यसर्थ हिंसात्मक र अपराधिक घटनामा कमी ल्याउनका लागि प्रहरीको मोबिलिटी ग्रामिण स्तरमा बढाउन आवश्यक छ।

डुबान, कटान र जंगली जनावरको आतंक

तिनतिर नदि र चारैतिर जंगलको बिचको स्थान भएकाले यहाँ डुबान, कटान र जंगली जनावरबाट असुरक्षा हुनु अर्को बिकराल समस्या छ। बर्खा याममा बाढी डुबानले गर्दा भएको खेती बगाएर लग्ने, घरखेत, पशु चौपाया र धन सम्पत्ति नष्ट हुनुले यहाँको जनजीवन कष्टकर बनाएको छ। बचेका बालीनाली जंगली जनावर सखाप पार्ने, जंगली हात्तिको आतंकले जीवन असुरक्षित बनाएको छ। यिनै कारणले गर्दा पनि यहाँका मानिसमा शान्ति र सुरक्षाको अभावले आर्थिक, सामाजिक र साँस्कृति विकासले गति लिन सकेको छैन।

यसर्थ सुरक्षाका चुनौतिहरु न्यूनीकरण गर्ने प्रमुख दायित्व राज्यको हो। राज्य मौन बस्न मिल्दै मिल्दैन। राजनीतिक दल जनतालाई भोटबैंकको रुपमा मात्र प्रयोग गर्न मनासिब हुँदैन। राज्यका हरेक निकाय जनताका समस्या बारे जानकार हुनुका साथै संबेदनशील हुनुपर्छ। याक्सन वरियन्टेड हुनैपर्छ। तब मात्र त्यहाँका नागरिकलाई राज्य भएको अनुभूति हुन्छ। राज्यप्रति अपनत्व बढ्छ। राज्यले नागरिक र सरकारको जिम्मेवारीको तालमेल मिलाउनु पर्छ। अनिमात्र हामीले चाहेको बिकास, समृद्धि, शान्ति सुरक्षा हुन्छ र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *