तराईमा दुई प्रदेशको अडानपछि मोर्चाको सहमतिबिनै राजनीतिक संयन्त्र
राजनीतिक संयन्त्र गठन गर्न मधेसी मोर्चालाई सहमतिमा ल्याउने तीन दलीय कार्यदलको प्रयास असफल भएको छ। तीनदल–मोर्चा कार्यदलको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसी मोर्चाले तराईमा दुई प्रदेश बनाउनुपर्ने अडान नछोडेपछि कार्यदल बैठक निष्कर्षविहीन भएको हो।
बैठकमा तीन दलीय कार्यदलले राजनीतिक संयन्त्रमार्फत नै सीमाकंनलगायत समस्याको समाधान गर्नुपर्ने प्रस्ताव गरेको थियो। तर मोर्चाले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार तराईमा दुई प्रदेश हुनुपर्ने अडान राखेको मोर्चा कार्यदल सदस्य रामनरेश रायले जानकारी दिए। ‘राजनीतिक संयन्त्र गठन गर्ने कुरामा हाम्रो पनि सहमति छ,’ रायले भने,’तर सरकारले संयन्त्र बनाउने नाममा नाटकमात्र मंचन गरिरहेको छ।’ अरुलाई देखाउन सहमतिको नाटक गरेर सरकारले मोर्चालाई झुलाउने काम गरेको मोर्चाले आरोप लगाएको छ।
संविधान निर्माणकर्ता मूख्य तीन दलका तर्फबाट कार्यदलले मोर्चासमक्ष तीन विकल्प दिएको छ। कार्यदल सदस्य भीम रावलका अनुसार हिमाल, पहाड, तराई क्षेत्रमा देखिएका सीमा विवाद भन्ने शब्द्ध राख्ने वा देशका विभिन्न भूगोलमा देखिएको सीमा विवाद र मधेसी मोर्चालगायत विभिन्न दलले उठाएको सीमा विवाद के राख्ने भनेर तीन विकल्प दिइएको थियो। तर मोर्चाले भने तीनवटै विकल्प अस्विकार गर्दै तराईमा दुई प्रदेश हुनुपर्ने अडान राखेको रावलले जनाए। उनले सो विषयमा सहमति गर्न फेरि पनि मोर्चासँग बैठक बस्न सक्ने जनाए। बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र बनाएर सीमा विवाद टुंग्याउने निर्णय गरेको थियो। सो विषयमा निर्णय गर्न अहिले साँझ मन्त्रिपरिषद बैठक बस्दैछ।
Facebook Comment