थारु कला र संस्कृति जगेर्ना गर्दै चम्पन सांस्कृति समूह
थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ चम्पन सांस्कृतिक समूहको स्थापना भएको छ। यो समूहले विगत दुई वर्षदेखि थारुहरुको कला संस्कृतिलाई विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने काम गरिरहेको छ।
यो समूहले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रममा आफ्नो सहभागिता जनाइसकेको छ। दक्षिण एसिया स्तरीय भएको साहित्य सम्मेलन, सार्क सम्मेलन, प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका विभिन्न कार्यक्रम र थारुहरुले नै मनाउँदै आएको विभिन्न कार्यक्रमहरुमा यो समूहले आफ्नो सहभागिता जनाएर थारुहरुको परम्परागत कला संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ।
ती कार्यक्रमहरुमा यो समूहले थारुको परम्परागत नृत्य, थारु झाँकी र मोडर्न नृत्यहरु प्रस्तुत गर्नेगरेको समूहका अध्यक्ष नन्दु चौधरीले जानकारी दिए। उनका अनुसार दक्षिण एसिया स्तरीय भएको साहित्य सम्मेलनमा थारु नृत्य, सार्क सम्मेलनमा थारु झाँकी प्रस्तुत गरिएको थियो। त्यस्तै यही समूहले काठमाडौंबासीले मनाउँदै आएको माघी महोत्सवमा पनि आफ्नो बेजोड प्रस्तुत दिँदै आएको छ। यस वर्षको माघीको सांस्कृति फाँट नै चम्मपन सांस्कृतिक समूहको अगुवाईमा भएको अध्यक्ष चौधरीले बताए। त्यस्तै यो समूहले नेपालीहरुको महान् चाड दशैंमा पनि सांस्कृति कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको छ।
यही समूहले पहिलोपटक थारु हुनुमा गर्व छ अंकित टिसर्ट बजारमा ल्याएको थियो। जुन चर्चाको विषय पनि बनेको थियो। अहिले यही टिसर्टलाई दाङका एक ब्यापारीले उत्पादन गरिरहेको उनले बताए। ‘हामीले थारुलाई चिनाउने टिसर्टको उत्पादन गर्यौं। अहिले यो टिसर्टले ब्यापारिक रुप लिएको छ,’ उनले भने।
जिल्ला जिल्ला र रेष्टुरामा माग
यो समूहको माग पनि विभिन्न जिल्लामा ब्यापाकरुपमा भइरहेको उनले बताए। यसै वर्ष चितवनमा आयोजित खिचरा महोत्सवमा यो समूहले आफ्नो प्रस्तुती दिएको चौधरीले बताए। उपत्यकामै सञ्चालित रेस्टुराँहरुले पनि थारु नृत्यका लागि प्रस्ताव गरिरहेको उनले बताए।
‘यो समूह खोल्नुको प्रमख उद्देश्य थारुहरुको कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्नु नै हो। त्यसका अलवा थारु युवाहरुमा भएको प्रतिभालाई अरुसामु प्रस्तुत गर्नु पनि हो,’ अध्यक्ष चौधरीले भने। अहिलेसम्म ११ जिल्लाका विभिन्न विधाका कलाकारहरु यस समूहमा आबद्ध भएको उनले बताए। यस समूहमा गायन, संगीत, नृत्य, अभिनयलगायतका क्षेत्रका कलाकारहरु आबद्ध भएको उनले बताए। कलाकारहरुको विस्तार पनि अगामि दिनमा भइरहने उनले बताए। यस समूहमा आबद्ध भएर काम गर्न चाहनेहरुका लागि सधैं ढोका खुला रहने चौधरीले बताए।
‘यो समूह प्रतिभा निखार्ने प्ल्याटफर्म पनि हो। यही समूहमार्फत् आफूले चाहेको करियर विकास गर्न सकिन्छ। हाम्रो उद्देश्य पनि कला संस्कृतिसँथै युवाहरुको कला पनि निखारियोस् भन्नु हो,’ चौधरीले भने।
प्रतिभाको खोजी गर्ने
उनका अनुसार यो समूहले कार्यक्रम गर्नुबाहेक गीती एलब्म र साहित्यिक किताबहरु पनि बजारमा ल्याएको छ। यो समूहले ‘जुनेलीके आश मे’नामक गीती एल्बम बजारमा ल्याएको छ। यो समूहले छिट्टै नै प्रतिभाको खोजी र थारु फिल्म बनाउने योजना बनाएको अध्यक्ष चौधरीले बताए। उनका अनुसार दाङदेखि कञ्चनपुरसम्मका पाँच जिल्लामा प्रतिभाको खोजी गरिने उनले बताए। समूहले थारुहरुको रहनसहन र बसोबास सम्बन्धी वृत्तचित्र पनि तयार गर्ने उनले बताए।
‘पहिले पहिले थारुका कार्यक्रमहरुमा सांस्कृतिक पाटो एकदमै कमजोर देख्थे। जबकि गुरुङ मगर र नेवाहरुले आफ्नो कार्यक्रममा भब्य प्रस्तुत दिन्थे। उहीहरुले गर्न सक्छन् भने हामी किन नसक्नु भन्ने अभिप्रायले नै यो समूह बनाउने सोँच आएको हो,’ अध्यक्ष चौधरीले भने।
चन्दा संकलन गरेर कार्यक्रम
चम्पनले आर्थिक स्रोत पनि विभिन्न व्यक्ति र संस्थासँग चन्दा संकलन गरेर कार्यक्रम आयोजना गरिरहेको बताए। विभिन्न कार्यक्रममा झाँकी नृत्य प्रस्तुत गर्दा पनि आयोजकले निश्चित पारिश्रमिक पनि दिने गरेको बताए। चौधरीका अनुसार सार्क सम्मेलन, प्रज्ञा प्रतिष्ठान, साहित्यक सम्मेलन र खिचरा महोत्सवका आयोजकले निश्चित पारिश्रमिक दिएको थियो। उक्त रकम चम्पनकै व्यवस्थापनमा खर्च हुनेगरेको उनले सुनाए।
यो समूह चार मिहनाअघि कम्पनी ऐनमा दर्ता भएको उनले बताए। यस कम्पनीको प्रबन्ध निर्देशकमा नन्दु चौधरी आफैं छन्। त्यस्तै कम्पनीको बोर्ड सदस्यमा रेणु चौधरी (उपाध्यक्ष), दिपक चौधरी (महासचिव), दोषहरण चौधरी (सचिव), राज कुश्मी (कोषाध्यक्ष) र सदस्यहरुमा अन्जु चौधरी, प्रकृति चौधरी, खुसी चौधरी र रोशन रतगैया छन्।
को हुन नन्दुराज चौधरी?
दाङको देउखुरीमा सामान्य परिवारमा जन्मिएका नन्दुराज चौधरी जीवनमा धेरै संघर्ष गरेका छन्। १३ वर्षको कलिलै उमेरमा उनी वि. सं २०४९ सालमा राजधानी आए। पढ्न पाउँछु कि भनेर राजधानी आएका उनी यहीँ संघर्ष गरे। उनले आफ्नो पढ्ने सपनालाई पूरासमेत गरे। २०५६ सालमा दरवार हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले संघर्षसँगै आइए पास गरे। उनी अहिले पनि समाजशास्त्रमा स्नातक गरिरहेका छन्। पढ्नलाई उमेरले छेक्न नसक्ने भन्दै उनी समाजशास्त्रको विद्यार्थी भएर पढिरहेका छन्।
एसएलसी पास गरेपछि उनले राष्ट्रियि मृगौला केन्द्रमा जागिरसमेत पाए। पछि उनले दाङमै मागी विवाह गरे। जागिरकै सिलसिलामा उनले आफूजस्तै दुःख, पीडामा परेकालाई सहयोग गर्ने उद्देश्यले ‘सर्वहित समाज’नामक संस्थाको स्थापना गरे। राजधानीमा बस्ने दाङकै मान्छेहरुलाई समावेश गरेर उनले केही रकमसमेत जम्मा गरे। तिनै संस्थामार्फत् गाउँमा उनले स्वास्थ्य शिविर पनि सञ्चालन गरे। आज पनि सर्वहित समाजले समाजिक काम गर्दै आएको छ।
यो पनि पढ्नुस्:
Facebook Comment