प्रकृतिको आदेश ?
दिलबहादुर चौधरी- हामी हिन्दू धर्मावलम्बीहरूले कतिपय कथा कहानी पढ्दा ज्ञात हुन्छ कि प्रकृतिको नियमलाई भगवानले पनि बदल्न सक्दैनन् भन्ने । तपस्याबाट तपस्बीहरूले भगवानलाई, देउतालाई रिझाएका बेला आफ्नो मृत्यु नहोस् भन्ने बरदान माग्दा भगवानले, देउताले प्रकृतिको नियमलाई बदल्न सकिँदैन, कुनै अरू बर माग मानव ! भनी जवाफ दिएको सुन्छौं । अर्थात् पृथ्वीमा जो जन्म लिन्छ, शरीर धारण गर्छ, उसको मृत्यु निश्चित हुन्छ, प्रकृतिभन्दा ठूलो अरू कोही हुँदैन भन्छन् ।
बि.सं. १९९० सालमा नेपालमा महाभूकम्प आएको थियो, त्यसले ठूलो धनजनको क्षति भएको थियो । हामी धेरैका लागि इतिहास थियो । बि.स.ं २०७२ सालको महाभूकम्पको पीडालाई हामीले महसुस गर्न पायौं । प्रकृतिले हामीलाई मज्जाले सम्झाएको छ, बुझाएको छ कि तिमीहरू मेरो अनुकुल चल्न सिक, मेरो चाहनाअनुरूप बाँच्न सिक । प्रकृतिको नजरमा कोही ठूला र साना छैनौं बराबर छौं भनेर । जब मानिसले प्रकृतिलाई जथाभाबी चलाउँछ, उत्खनन गर्छ, बहाब रोक्छ, बनजंगल बिनाश गर्छ, प्रकृतिले मानिसलाई यसो गर्नु तिम्रै लागि हानिकारक छ भनिसमय समयमा जानकारी गराउँदछ । आज त्यस्तै भएको छ । आज ठूल्ठूला गगनचुम्बी महलहरू आफ्नै लागि काल भएर उभिएको महसुस हुँदैछ । झुपडी तेरो हो, महल मेरो हो, तिमी दास हौ, म मालिक हुँ भन्ने अहङ्कारमाथि प्रकृतिले थप्पड मारेको छ र भनिरहेको छ कि तिमीहरू सब एक हौ । यहाँ कोही सानो र कोही ठूलो छैन । कोही धनी र कोही गरिब छैन । कोही शासक र कोही शासित छैन । यदि सानो–ठूलो, धनी–गरिब, शासक र शासित छौ भने तिम्रो कूबुद्धिले मात्र । यही कारणले प्रकृतिले गरिब र धनीलाई एक पालमुनि राखिदिएको छ । यद्यपि तुलनात्मकरूपमा मृत्यु हुनेमा, दुःख पाउनेमा गरिब होलान्, अनपढ होलान् तर बचेका कोही छैनन् । पहाडबासी हुन् वा तराईबासी, जनता होस् वा सरकार सबलाई प्रकृतिले एकै पालमुनि राखिदिएको छ । पहिलेका रैती र राजखलकलाई समेत एउटै पालमुनि राखिदिएको छ । सरकार पनि पालमुनि छ । यो प्राकृतिक बिपत्तिमा ठूलो सन्देश छ ।
प्राकृतिक महाबिपत्तिले हामीलाई धरधरी रूवाएको छ । हामी छोराछोरी, बाबु–आमा, श्रीमान–श्रीमति, नाति–नातिना, महल–घर आदि गुमाएका छौं । हामीलाई ठूलो पीडा छ । तर मानिसमा भएको दुःखपीडा आज जति छ, भोलि कम हुन्छ, भोलि भन्दा पर्सी कम हुन्छ, बिस्तारै घट्दै जान्छ, यो वैज्ञानिक सिद्धान्त हो । यही सिद्धान्त अनुरूप हामी बि.स.ं १९९० सालको महाभूकम्पलाई बिस्र्यौं, प्रकृतिले दिएको सन्देशलाई बिस्र्यौं । नेपाल भूकम्पको जोखिममा छ भन्ने कुरा धेरैले ग¥यौं, सरकारले पनि ग¥यो । तर भूकम्प प्रतिरोधक घर बनाउने योजना कडाईका साथ लागू भएन, गरिएन । देशले फेरि ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । यो दुःख पीडा फेरि बिस्तारै कम हुँदै जानेछ । हामी फेरि भूकम्प प्रतिरोधक घर बनाउन बिस्र्यौं भने भोलिका दिनमा क्षति बेहोर्नुपर्छ, सत्य यही हो ।
त्यसैले प्रकृतिले दिएको सन्देशलाई अब देशले ग्रहण गर्न सक्नुपर्छ । हामी सुनिरहेका छौं कि एसियामा सबभन्दा बढी भूकम्प जाने देश जापान हो । तर जापानिजहरू भूकम्पप्रतिरोधक घर बनाएका कारण भूकम्पले जापानमा क्षति पु¥याउन सकेको छैन । भूगर्भविदहरू पनि भनिरहेका छन् कि ‘मानिस मर्ने भूकम्पले होइन, आफूले बनाएको संरचनाबाट हो ।’ यदि त्यसो हो भने भद्दा, गर्हुङ्गो, भूकम्पको सानो धक्का पनि रोक्न नसक्ने गगनचुम्बी महल किन बनाउने ? आफ्नो लागि काल किन तयार गर्ने ? हलुका, सुन्दर, बलियो र भूकम्पको धक्कालाई सहन गर्नसक्ने घर किन नबनाउने ?
आज प्रकृतिले केही समयको लागि भए पनि सबैको तँछाड र मछाडलाई बन्द गरेको छ । होडबाजीलाई बन्द गरेको छ । फाल्तु गफ र आपसी गालीगलौजलाई बन्द गरिदिएको छ । को सानो को ठूलो, को धनी र को गरिब, को शासक र को शासित भन्ने दुषित भावनालाई हटाएको छ । जुन राम्रो कुरा हो र निरन्तरता पाउनुपर्छ । पहाडमा बिपत्ती पर्दा तराई रूने, तराईमा बिपत्ती पर्दा पहाड रूने वातावरण जनस्तरबाट बनेको छ । तराईमा बाढीले बगाउँदा पहाडले सहयोग गर्दैछ भने पहाडमा भूकम्प र पहिरोले दुःख दिँदा तराईले सघाउँदैछ । यही हो नेपालीयपन । यसलाई कायम राखिराख्न राज्य अझ जिम्मेवार भइ प्रस्तुत हुनैपर्छ ।
भूकम्पको हिसाब किताब गर्ने हो भने अहिले ८० वर्षपछि महाभूकम्प आएको छ । पहाडलाई तहसनहस पारेको छ । परार साल कोशीले धेरै धनजनको नोक्सान ग¥यो, गत वर्ष बाँके, सुर्खेतलगायतका जिल्लामा बाढीले तहल्का मच्चायो । मान्छे दास्रो तल्लामा चढ्दा पनि जोगिएनन् । आज भूकम्प आयो, भोलि बाढी आउला, संसारका हरेक चिज चलायमान छन्, परिवर्तनशील छन् । यो स्वाभाविक प्रक्रिया हो । बिपत्ति पर्ने बित्तिकै गाउँठाउँ छोडेर जान बुद्धिमानी हुन्छ वा हुँदैन ? हामी प्रकृतिअनुकुल बस्न सिक्ने वा गाउँठाउँ छोडेर भाग्ने ? अहिलेको अहं सबाल यही हो । कतिपय मित्रहरूको तर्क छ– बिपत्ति आइप¥यो भने भाग्नुपर्छ । यो वाहियात तर्क हो । हामी प्रकृतिअनुकूल जीवन जिउने कला खोज्नुपर्छ । देश भूकम्पको जोखिममा छ भने अब भूकम्प प्रतिरोधक घर बनाउँ । बाढीले डुबान गरिरहेको छ भने पानीको बहाबलाई रोक्ने, खोला बन्द गर्ने, सडकका नालीहरू पुर्ने, खेतीयोग्य खल्ला–होचाजमीनमा घर ठड्याउने दुस्साहस नगरौं । पहिरो र नदी कटानलाई रोक्न रूखबिरूवा रोपी भूमिलाई हरियाली बनाऔं । हाम्रो लागि खतरा उत्पन्न हुने हाम्रा गतिविधिलाई हामी लगाम लगाऔं ।
तर हामीअहिले पनि बेवास्ता गरिरहेका छौं । राज्य उदासीन छ, सरकार उदासीन छ । हामी गैरजिम्मेवार छौं । यो पाराले नयाँ र समृद्ध नेपाल सम्भव छैन । न त आपसी माया–प्रेम, सद्भाव र सहयोगमा उल्लेखनीय वृद्धि सम्भव छ । नयाँ र समृद्ध नेपालको निर्माणको लागि राज्य र सरकार पहिलो पक्ष हो जो पहिलो चरणमा गम्भिर हुनैपर्छ । त्यसपछि सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ । मनन गर्न आवश्यक छ कि प्रकृतिले सबैलाई पालमुनि ल्याउनुको मूल सन्देश के हो ? आदेश के हो ? भनेर । प्रकृतिको आदेश स्पष्ट छ– ‘यहाँ सबै समान छन्, तेरो र मेरो घर, तेरो र मेरो धन, तेरो र मेरो शासन भनी झगडा नगर । सबै समान रूपले अधिकार सम्पन्न होऔ, मिलेर जाऊ, यसैमा देशको भलो छ । अब प्रकृतिको आदेश मानेर सुखी जीवन जिउने वा बेवास्ता गरी जोखिम मोल्ने ? अधिकार हाम्रो हातमा सुरक्षित छ ।
Facebook Comment